नेकपा विवादको ‘साइड इफेक्ट’ : कर्णाली प्रदेशको हिउँदे अधिवेशन अन्योलमा

  ।   २७ माघ २०७७, मंगलवार ०८:२४

सुर्खेत । कर्णाली प्रदेशमा हिउँदे अधिवेशनको कुनै सुरसार छैन । प्रदेशमा कानुन निर्माणलाई तिव्रता दिनुपर्ने भएपनि प्रदेश सरकारले भने यसतर्फ कुनै चासो देखाएको छैन । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपाभित्र विभाजन आएपछि  कर्णालीको प्रदेशको हिउँदे अधिवेशन पनि अनिश्चित बनेको हो ।

सरकारले हिउँदे अधिवेशन कहिले बोलाउने भन्नेबारे तयारीसमेत गरेको छैन । प्रदेशसभाको बजेट अधिवेशन गएको कार्तिक ८ गते अन्त्य भएको थियो । सुरूमा कोरोना महामारी र पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाका बैठक नै प्रभावित पारेको हो । सत्तासिन दलभित्रको फुटको प्रभाव प्रदेशसभामा समेत परेको देखिन्छ  । राताेपाटी

कर्णालीका मन्त्रीहरु पार्टी भित्रकै विभिन्न कार्यक्रमहरुमा सरिक हुने गरेका छन् भने  सांसदहरु कोही फुर्सदिला बनेका छन् । कोही आ–आफ्नो गृहजिल्लामा व्यस्त छन् । दिनहुँ पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेका उनीहरूले प्रदेशसभाको बैठक बोलाउनेबारे कुनै सुरसार गरेका छैनन् । प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेशसभाको बैठक बस्ने विषयमा छलफल नै नभएको बताइन्  । प्रदेशसभाको बैठक बोलाउने समय अझै बाँकी रहेकाले सरकारले आवश्यक ठानेमा फागुनको पहिलो सातासम्म बैठक बस्न सक्ने उनको तर्क छ । प्रदेश सरकारका मन्त्रीहरू पद जोगाउन खेमा परिवर्तन गर्नेदेखि आफ्नो समूहको भेला र छलफलमा केन्द्रित छन् भने सांसदहरू दुई समूहमा विभाजन भएर सत्ता समीकरणको खेलमा लागिरहेका छन्  ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी भन्छन् – ‘अधिवेशन बस्ने कुरामा अहिलेसम्म कुनै जानकारी आएको छैन् । ‘हामी उहाँहरु जहिले भन्नुहुन्छ बस्न तयार छौँ । तर, उहाँहरुबाट कुनै जानकारी छैन ।’

प्रदेशसभाको बैठक सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ । पहिलो अधिवेशन र दोस्रो अधिवेशनको अन्तर ६ महिनाभन्दा बढी गर्न नमिल्ने कानुनी प्रावधान छ,’ उनल भने । उनले प्रदेशसभा सदस्यहरूले चाहेको खण्डमा पनि विशेष अधिवेशन बोलाउन सकिने बताए । हालसम्म प्रदेशसभामा ५१ वटा विधेयक दर्ता भएका छन् । त्यसमध्ये दुई वटा विधेयक फिर्ता भएका छन् भने ३६ वटा विधेयकसभाले पारित गरेको छ । यी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । प्रदेशसभामा दर्ता भइ टेबुल हुन बाँकी ७ वटा विधेयक रहेको बुढाथोकीले बताए ।

असोज यता मात्रै पाँच वटा विधेयक प्रदेशसभामा दर्ता भएका हुन् । सचिवालयको अभिलेखअनुसार कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक र कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन् ।

यस्तै प्रदेशसभामा पर्वतीय ज्ञान, विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक र शान्ति तथा पुनस्र्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक दर्ता गरिएको छ । लामो समय सभा नचल्दा यी विधेयकहरू सचिवालयमै थन्किएका हुन् । त्यस्तै, उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिमा छलफलको क्रममा छन् । कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुु–व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि विषयगत समितिमा अड्किएका छन् ।

पछिल्लो समय मिनी संसद्का रूपमा हेरिने प्रदेशसभाका विषयगत समितिहरूका बैठक समेत बस्न सकेका छैनन् । सत्तापक्ष दलका सचेतकसमेत रहेका सांसद सीता नेपालीले अधिवेशनको बारेमा कुनै छलफल नभएको बताइन् । ‘सभामुखले केही दिन पछि बोलाउनुहुन्छ होला सायद,’ उनले भनिन्, ‘प्रायः मन्त्रीज्यूहरुत यतै हुनुहुन्छ एकजना मात्र प्रदेश बाहिर हुनुहुन्छ ।’

यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि आफ्नो गृहजिल्ला गएको बुझिएको छ । कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारका मान्छेहरू सरकार र पार्टी बचाउन मात्र लागेको आरोप लगाए ।

Next Post

श्री एयरलायन्सको काठमाडौँ–सुर्खेत परीक्षण उडान शुरु?

२७ माघ २०७७, मंगलवार ०८:२४
सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए “चालक भरतसिंह थापाको नेतृत्वमा जहाज […]