सरकारी भवनले चन्दननाथ मन्दिर ओझेलमा

  ।   ३० चैत्र २०७७, सोमबार ०८:१५

कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो । अहिले तीन तला बन्दा मन्दिर पुर्ण रुपमा छेकिएको छ । पाँच तला बनिसकेपछि मन्दिर नै डुब्ने खतरा छ । जसका कारण सदरमुकाम खलंगा नै अशोभनीय देखिन्छ ।

भवन निर्माण गर्नु अघि कार्यालयले गुठि समितिसंग कुनै समन्वय नगरेको गुठि समिति बताउँछ । एक्कासी पाँच तला बन्ने भन्दै तीन तलाको काम शुरु भएपछि मात्र थाहा भयो, गुठि समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने,‘यो भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो, सुन्दरता हरायो, यो राम्रो भएन ।’

मन्दिर वरिपरिको घर एकतले मात्रै लगाउने परम्परागत चलन थियो । समयक्रम संगै दुई तलासम्म लगाउने कार्यको थालनी भयो, उनले भने,‘अहिले त व्यक्तिगत र सरकारी भवनले मन्दिर नै ढाक्न थालिसके । मन्दिरमा खडा हुने ५२ हाते लिङ्गा भन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था संकटमा पर्न थालेको अनुभूति भइरहेको छ । ’

भवन निर्माणको काम भइरहेको छ । स्टमेट अनुसार भवन बहुद्धेशिय पाँच तलाको बन्नेछ । पाँच तलाको भवन मन्दिर अगाडी हुँदा न मन्दिरको सुन्दरता रहन्छ, नत कुनै शोभा नै, उनले भने,‘यो मन्दिर ओझेलमा पर्ने देखिएको छ ।’ अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् ।

पुरातत्व विभाग, गुठि समितिले पनि धार्मिक तथा साँस्कृतिक महत्वका बारेमा बोध गर्न नसकेको स्थानीय बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौट बाहेक कालो पत्रे नगर्ने भनियो । अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्रे भइसकेको छ । चन्दननाथ भैरवनाथ गुठि समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने,‘अहिले परम्परा देखि चलिआएको पहिचान भेटिदैन । ’

मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे । पूर्वअध्यक्ष आचार्यले थपे,‘यहाँ प्रमाण बोलिरहेका छन । तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासी तला बढेको मात्र थाहा हुन्छ,अध्यक्ष कृष्णबहादुर रोकायाले भने,’मन्दिरको शोभा मेटिने गरि भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था धुमिल बनिरहेको छ । यो हाम्रो धार्मिक आस्था विपरित कार्य हो । ’

उनले भवन निर्माण हुनु पूर्व गुठि समिति संग कुनै जानकारी नदिइएको बताए । भवन टेण्डर हुनु पुर्व गुठि समितिसंग बुझेको भए समस्या हुन्थेन, उनले भने,‘मनपरी रुपमा भवन निर्माण भएकोले समस्या हुन पुग्यो ।’ चन्दननाथ गुठि समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको जुम्लावासी बताउँछन् ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले तत्काल मन्दिरको गुरुयोजना निर्माण गर्नु पर्ने बताए । चाँडो भन्दा चाँडो गुरुयोजना बनाऔँ, उनले भने,‘गुरुयोजनाले मात्र मन्दिरको भलाइ हुन्छ ।’

संस्कृति सम्बन्धि जानकार पुर्णसिंह कठायत भवन बनाउँदा एक पटक मन्दिरसंग समन्वय हुनु पर्ने बताउँछन् । उनले भने,‘मन्दिर सबैको आस्थाको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ । यो पहिचान मेटिन हुँदैन ।’ यो विषयमा पुरातत्व विभाग र गुठि समिति केन्द्रीय कार्यालय नै जिम्मेवार हुनु पर्ने जुम्लावासी बताउँछन् ।

नेपालको भाषा संस्कृतिको उद्गम स्थल जुम्ला हो । धार्मिक धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिर हो । प्राचिनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरि भवन बनाइएको छ । भूकम्प, दैवी प्रकोप भएको खण्डमा भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति हुन जान्छ । यो भवन तीन तलाभन्दा माथि बनाउन मिल्दैन । गुठि समितिका अध्यक्ष रोकायाले भने,‘सबै सरोकारवाला मिलेर भवन तीन तलामै रोकिदिन आग्रह गरेका छौँ ।’

धार्मिक नियम उल्लंघन गरी पाँच तलाको भवन बन्न लागेकोले सो भवनलाई अब उप्रान्त सम्पुर्ण निर्माण कार्य स्थगित गरि तीन तलामा सिमित गराउन आवश्यक पहल गर्न सरोकारवालालाई आग्रह गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा मन्दिरलाई नै छेक्ने गरि निर्माण गर्न लागिएको भवन तिन तलामै सिमित राख्न पहल गर्नु पर्ने बताउँछन् । उनले भने,‘ मन्दिर हाम्रो आस्थाको पुञ्ज हो । आस्था मेटिने खाले कार्य कसैले गर्नु हुदैन ।’ चन्दननाथ भैरवनाथ मन्दिरको जग्गा अतिक्रमण गर्ने देखि लिजमा लिएको जग्गा भाडा नतिर्ने सम्मको बदमासी कायमै छ ।

Next Post

रारातालमा आन्तरिक पर्यटक भरिभराउ

३० चैत्र २०७७, सोमबार ०८:१५
लामो समय कोरोना कहरले सुनसान कर्णालीको रारातालमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकको आवागमन बढेपछि यहाँको शोभा नै बढेको हो । दैनिक झण्डै डेढ सयदेखि दुई सय पर्यटक भित्रिने गरेका हुन । चैत सुरु भएसँगै हवाइ र सडक मार्गबाट रारा आउने पर्यटकको संख्या […]