मार्सी सभ्यता

  ।   २६ पुष २०७७, आईतवार ०४:०५

डा. यादव उप्रेती

यस वर्षको धानखेती भित्र्याउने चटारो देशभर अन्तिम–अन्तिम अवस्थामा छ । देशका धेरैजसो भागमा जस्तै जुम्लामा पनि दशैँ अगाडि नै यो फसल भित्र्याइएको छ । जुम्लाको धान भन्नेबित्तिकै मार्सी सम्झिइन्छ । तर जुम्लामा स्थानीय मार्सी धानको खेती भने कम हुँदै गइरहेको छ । उत्पादन बढाउने नाममा मार्सी संरक्षणको सट्टा नयाँ जातका धान सिफारिस गर्नतिर सरकारी निकाय उद्यत भएको देखिन्छ । कृषिमा आधुनिकीकरणको बहस चल्दै गर्दा जलवायु परिवर्तनको सन्दर्भमा स्थानीय रूपमा अनुकूलित बालीको सान्दर्भिकता ओझेलमा परेको छ । यो बढी चिन्ताजनक किन पनि छ भने, गएको शताब्दीमा मात्रै बढी उब्जाउ हुने जातका बीउवीजनको सिफारिस र प्रयोगले विश्वभर करिब ७५ प्रतिशत स्थानीय जात विस्थापित भएका छन् ।

विशेष खालको रंग र स्वाद अनि पौष्टिक तत्वले भरिपूर्ण मार्सी चामलमा स्थानीयहरू विभिन्न औषधीय गुण समेत हुने विश्वास गर्छन् । जिल्लाका सामाजिक तथा राजनीतिक अगुवा टेकराज पछाईका अनुसार, २०६० सालतिर जुम्लामा सरकारी निकायबाट सिफारिस भएका नयाँ जातका धानखेती भए । केही वर्षयता भने बढी मात्रामा पुरानै खालको मार्सी लगाउन थालिएको छ । स्थानीयका अनुसार, नयाँ धानको चामलले दम लगायत स्वास्थ्य समस्या निम्त्याएकाले पुरानै जातको मार्सीमा आकर्षण बढेको हो । यसबाट पनि स्थानीय उत्पादनको महत्व झल्कन्छ । सहरी क्षेत्रमा मधुमेहका बिरामीबीच यो चामल थप लोकप्रिय छँदै छ ।

एउटा व्यवसायीले आफ्नो व्यवसाय विस्तारका लागि मार्सीलाई ब्रान्डिङ गर्दै छन्, तर त्यही मार्सी हराउला कि भन्ने चिन्ता गर्नुपर्ने बेला भएको छ । जेहोस्, मार्सीलाई नेपालीमाझ अझ व्यापक रूपमा चिनाउने भने उनै हुन्, जसको नाम लिन जरुरत नपर्ला । उनी अझ पेयपदार्थ समेत मार्सीको नाममा ब्रान्डिङ गरी मार्सीलाई संसारभर चिनाउने बताएका छन् । उनलाई सफलताको कामना किन नगर्ने ?

सिञ्जा उपत्यकालाई विश्व सम्पदा क्षेत्रमा, सिञ्जा उपत्यका र आसपासको रमणीय कृषि भूपरिधिलाई विश्वव्यापी महत्वका कृषिसम्पदा प्रणालीमा र यहाँको विशिष्ट उत्पादन मार्सीलाई भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) अन्तर्गत दर्ता गरी व्यावसायीकरण गर्न सके यसले समग्र कर्णालीको विकासमा योगदान पुग्न सक्ने देखिन्छ ।

मार्सी चामलको व्यावसायिक र औद्योगिक प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । तर, यसरी मार्सीलाई ब्रान्डिङ गर्दा र यसका आनुवंशिक गुणलाई व्यावसायीकरण र औद्योगीकरण गर्दा बौद्धिक सम्पत्तिमा अधिकार र लाभको बाँडफाँडसम्मको कुरा आकर्षित हुन्छन् । र, ती कुरा व्यावसायीकरण गर्ने सन्दर्भमा समेटिनुपर्छ । बौद्धिक सम्पत्तिका विभिन्न स्वरूपमध्ये भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) चिह्नले मार्सीजस्तो विशिष्ट उत्पादनको संरक्षण गर्न सक्छ । जुम्लाको पहिचान मार्सी धानदेखि विभिन्न खालका गेडागुडी, ओखर, स्याउ र विभिन्न जडिबुटीसँगै खलंगा हुँदै बग्ने तिला नदी र सिञ्जा हँुदै बग्ने हिमानदीका आसपासका सुन्दर भूपरिधि (ल्यान्डस्केप) पनि हुन् । जुम्लाको सदरमुकाम खलंगा अवस्थितिका हिसाबले मलाई भने भुटानको थिम्पुजस्तो लाग्छ । कञ्चन तिलानदीको काखमा सानो बजार ।

संसारकै अग्लो ठाउँमध्ये बाह्रै महिना सिँचाइयोग्य जमिनमा हुने धानखेतीले पनि केही हदसम्म जुम्लालाई चिनाएको छ । जुम्लामा २४०० मिटरदेखि ३०५० मिटरमा अवस्थित छुम्चौरसम्म धानखेती हुन्छ । चिसो सहन सक्ने आनुवंशिक गुण भएको जुम्ली मार्सी धान करिब एक हजार तीन सय वर्ष अघिदेखि जुम्लामा खेती भएको अनुमान छ । त्यसो त संसारकै अग्लो ठाउँमा धानखेती हुने भनेर जुम्ला चिनाउने हाम्रो दाबी भने आधिकारिक रूपमा अपुष्ट रहेछ ।

हिमा नदीको आसपास विकसित सिञ्जा सभ्यताले जुम्लालाई अझ बढी परिचित बनाएको छ । १४औँ शताब्दीमा बाइसे राज्यहरूमा विभाजित हुनुअघि १२औँ शताब्दीदेखि खस राज्यको राजधानी रहेको जुम्ला जिल्लाको सिञ्जा आफैँमा एउटा सभ्यता र सम्पदा हो । विश्वसम्पदामा सूचीकृत हुने सम्भावित मनोनयन सूचीमा समावेश सिञ्जा उपत्यकाले गर्विलो इतिहास बोकेको छ । नेपाली भाषाको उत्पत्ति सिञ्जा उपत्यकामा भएको विश्वास गरिन्छ, जहाँ १३औँ शताब्दीको भन्ठानिएका देवनागरी लिपिका अवशेष भेटिएका छन् ।

जुटका थैलोमा बाँधेर २० गते बिहानसम्म यसरी राखिएको बीउमा बिहान र बेलुका प्रत्येक दिन पानी छर्किनुपर्छ, जसले गर्दा बीउ टुसाउँछन् र ब्याडमा छर्न तयार हुन्छन् । यो दिनको विशेष सांस्कृतिक महत्व रहेको छ, जसमा दिदीबहिनी र छोरीहरूलाई टीका लगाइदिने चलन छ ।

खलंगाबाट सिञ्जा उपत्यका छिचोल्दै रारा पैदल पुग्दा बल्ल जुम्लाको सेरोफेरो बुझ्न सकिएला । तर, नेपालगन्ज वा सुर्खेतबाट गाडीको यात्रा प्रारम्भ गर्दै रारा पुग्ने धेरैले बाटोमै पर्ने सिञ्जा उपत्यकाको महत्व र महिमा छुट्ट्याएको पाएको छु । हवाई मार्गबाट सीधै ताल्चा विमानस्थल पुगेर रारा मात्रै अवलोकन गर्ने उद्देश्य राख्नु त मेरा लागि बेकारको यात्रा हो ।

सन् २०१७ को रोपाइँ गर्ने सिजनमा सिञ्जा उपत्यकाको अध्ययन भ्रमणले भने यो ठाउँको पहिचान अझ फराकिलोे रहेको आभास भएको थियो । स्थानीय बूढापाकासँगको भलाकुसारीले यो ठाउँको बारेमा थप जान्ने मौका मिल्यो । विशेषतः धानखेती गर्दा अपनाइने परम्परागत विधि सिञ्जा उपत्यकाको एक अर्को उल्लेखनीय सम्पदा हो जस्तो लाग्यो, जसले कृषि र सांस्कृतिक दुवै महत्व बोकेको छ । यसको बेलीविस्तार भने केही अनुसन्धान कृतिमा सीमित रहेछ । अघिल्लो वर्ष जापानको एक कार्यक्रममा फिलिपिन्सका सहभागीले आफ्नो देशको उत्तरी भेगको परम्परागत कृषि प्रणाली र यसले पाएको अन्तर्राष्ट्रिय पहिचानको प्रस्तुतीकरण सुन्दा र हेर्दा सिञ्जा उपत्यका फेरि मानसपटलमा आयो । फिलिपिन्सको उत्तरी भेगमा अवस्थित इफुगाओ धानखेती हुने क्षेत्र संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संस्थामार्पmत सूचीकृत हुने विश्वव्यापी महत्वका कृषिसम्पदा प्रणाली (ग्लोबल्ली इम्पोर्टेन्ट एग्रिकल्चरल हेरिटेज सिस्टम) मा सूचीकृत रहेछ । विशिष्ट महत्वका कृषि प्रणाली, जसको विशेष लालित्यले त्यस ठाउँको कृषि जैविक विविधता, भरपर्दा र अनुकूलित पारिस्थितिकीय प्रणाली र सांस्कृतिक पहिचान झल्काएको हुन्छ, त्यस्ता ठाउँ संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संस्थामार्फत पहिचान भई विश्वव्यापी महत्वका कृषिसम्पदा प्रणालीमा सूचीकृत हुने रहेछन् । चीन, भारत, कोरिया, जापान, फिलिपिन्स, बंगलादेश लगायत एसियाका विभिन्न देशका ४० वटा यस्ता क्षेत्रको पहिचान भई संसारभर परिचित रहेछन् ।

यसरी फेरि सन् २०२० मा आइपुग्दा त्यो बेला सिञ्जा उपत्यका लगायत कर्णालीका विभिन्न स्थानको भ्रमणका डायरी पल्टाउने अभिलाषा जाग्यो । भ्रमण डायरी र अडियो रेकर्ड दुवैमा सिञ्जामा धानखेती गर्ने तौरतरिका मजाले अभिलेखीकरण गरिएको रहेछ । सिञ्जामा हरेक वर्ष चैतको १२ गतेका दिन बीउ सफा गरिन्छ, बेलुका भाँडोमा भिजाइन्छ । त्यसरी भिजाइएको बीउलाई चैत १६ गतेको बिहान निकालेर बाहिर न्यानो पार्न घाममा राखिन्छ । जुम्लाका अन्य ठाउँमा भने यो प्रक्रिया १–२ दिन फरक पर्ने रहेछ । सोही दिन साँझदेखि बीउलाई छोपेर राखिन्छ । यसरी छोप्न भोजपत्रको बोक्रा राम्रो मानिन्छ, तर भोजपत्रको बोक्रा उपलब्ध नहुने भएकाले यो चलन पनि बिस्तारै हराउँदै छ । जुटका थैलोमा बाँधेर २० गते बिहानसम्म यसरी राखिएको बीउमा बिहान र बेलुका प्रत्येक दिन पानी छर्किनुपर्छ, जसले गर्दा बीउ टुसाउँछन् र ब्याडमा छर्न तयार हुन्छन् । यो दिनको विशेष सांस्कृतिक महत्व रहेको छ, जसमा दिदीबहिनी र छोरीहरूलाई टीका लगाइदिने चलन छ । धान पाकेपछि उपभोग गर्नु भन्दापहिले चन्दननाथलाई चढाइन्छ । स्थानीयका अनुसार यो चलन पुस्तौँदेखि चलिआएको छ ।

पहिलेपहिले परदेसिएका घरका सदस्य वा आफन्त बीउ भिजाउने दिन चैत १२ गतेसम्म पनि घर नर्फकिए त्यस्ता सदस्य वा आफन्त भवितव्यमा प-यो भन्ने विश्वास गरिन्थ्यो भनी डा. तीर्थबहादुर श्रेष्ठले आफ्नो पुस्तक ‘नेपाल नखुलेका पाटाहरू’मा उल्लेख गरेका छन् । ‘एग्रोनोमी जर्नल नेपाल’मा सन् २०११ मा प्रकाशित नार्कका अध्येता मीननाथ पौडेलको एक अनुसन्धानमा यसको अभिलेखीकरण गरिएको छ । यसबाट पनि जुम्लामा धान र धानखेतीको सामाजिक–सांस्कृतिक महत्व बुझ्न सकिन्छ ।

यस्तो मौलिक कृषि विधि बोकेको सिञ्जा उपत्यकाको रमणीय कृषि भूपरिधि (एग्रिकल्चरल ल्यान्डस्केप) र कृषिसँग सम्बन्धित स्थानीय रूपमा अनुकूलित अभ्यासले यो उपत्यका पनि विश्वव्यापी महत्वका कृषिसम्पदा प्रणालीमा सूचीकृत गर्न लायक क्षेत्र हो । त्यसो त नेपालमा यस्ता विशिष्ट विशेषता र प्रतिष्ठा बोकेका स्थान अरू पनि हुन सक्छन् । तिनीहरूको खोज अनुसन्धान आवश्यक छ । यसरी एकातिर सिञ्जा उपत्यकालाई विश्व सम्पदा क्षेत्रमा, सिञ्जा उपत्यका र आसपासको रमणीय कृषि भूपरिधिलाई विश्वव्यापी महत्वका कृषिसम्पदा प्रणालीमा र यहाँको विशिष्ट उत्पादन मार्सीलाई भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) अन्तर्गत दर्ता गरी व्यावसायीकरण गर्न सके यसले समग्र कर्णालीको विकासमा योगदान पुग्न सक्ने देखिन्छ । सिञ्जा र मार्सी सभ्यता (हेरिटेज)को संरक्षण र प्रवद्र्धन कर्णालीको दायित्व हो । यसका लागि स्थानीय र प्रादेशिक सरकारको पहल र संघीय सरकारको सहजीकरण आवश्यक छ । काठमाडौं र सुर्खेतबाट सरकारी कार्यक्रम बनाएर यही काम लिएर जुम्ला जाने, तर लुकेको उद्देश्य रारा भ्रमण हुने हो भने यो कसरी सम्भव होला र ? यसका लागि त सम्बन्धित निकायबाट संयोजनकारी तवरले निचोडमा पु-याउने हिसाबले पहल हुनुपर्ने हो ।

Next Post

जाकार्ताबाट उडेको विमानको दुर्घटनास्थल पत्ता लाग्यो

२६ पुष २०७७, आईतवार ०४:०५
काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए । जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक […]