होमआइसोलेसनले संक्रमण फैलिएकोले संस्थागत आइसोलेसन बनाउन सुझाव

  ।   ४ जेष्ठ २०७८, मंगलवार १८:२७

जुम्लाका कोरोना संक्रमित होमआइसोलसनमा बस्न थालेपछि गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिइएको छ । अहिले यहाँका अधिकांस संक्रमित होमआइसोलेसनमा नाममा घरमै बसेका छन । कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकमा होमआइसोलेसनका कारण जुम्ला कोरोनाको उच्च जोखिममा रहेको बिषयमा छलफल भएको थियो ।
संविधान सभा सदस्य ललितजङ शाहीले होम आइसोलेसनका कारण संक्रमण फैलिएको बताए । उनले भने,‘ हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको निती बैज्ञानिक छैन । तत्काल जुम्लाका सबै स्थानीयतहले संस्थागत आइसोलेसन बनाउनु पर्छ । जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ ।नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन । ’
संविधानसभा सदस्य शाहीले चन्दननाथ नगरपालिकाको संक्रमणदर उच्च रहेको र संस्थागत आइसोलेसन बनाउन आनकानी गरेको देखिएकोले यथासिघ्र संक्रमण रोक्न संस्थागत आइसोलेसन बनाउन सुझाव दिए । उनले नागरिकको ज्यानमा खेलवाड नगर्न आग्रह गरेका थिए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसजन निर्माणका लागि अन्य स्थानीय तह भन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताए । जनघनत्व बढि भएको र भिडभाड बढि हुने क्षेत्र भएकोले सक्रमण दर पनि उच्च नै छ । प्रमुख सार्कीले भने,‘ बरु संस्थागत आइसोलेसन निर्माणका लागि संघीय तथा प्रदेश सरकालाई बजेट व्यवस्थाको लागि आग्रह गरौँला । तर नगरपालिका भित्र मापदण्ड सहितको आइसोलेसन अनिवार्य बनाउनुपर्छ ।यो अहिलेको आवश्यकता पनि हो । ’
बैठकमा सहभागि सबैले होम आइसोलेसनले संक्रमण तीब्र रुपमा फैलदो क्रममा रहेकोले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिएका थिए । जिल्लामा बनेका आइसोलेसन प्रयोगमा ल्याउनुपर्ने र नबनेको स्थानीयतहमा संस्थागत आइसोलेसन बनाउनु पर्ने बताएका थिए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि संस्थागत आइसोलेसनमा जोड दिएका थिए । उनले भने,‘कोरोना संक्रमण रोक्न सबै तह र तप्काको सहयोगको खाँचो छ । होम आइसोलेसनमा जोड दिएर नागरिकको स्वास्थ्य अधिकारमाथि खेलबाड नगरौँ । संस्थागत आइसोलेसन बनाऔँ । संक्रमित राखेर कोरोनामुक्त भएपछि घर पठाउने व्यवस्था गर्नु उपयुक्त हुनेछ । ’
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरको आवश्यकता अनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया शुरु गर्ने बताइन् । उनले भनिन्,‘अब संस्थागत आइसोलेसन बनाउन जुट्छौँ । सबैले साथ र सहयोग गर्नुहोला । ’

चन्दननाथको दानसाँघु र उमगाडमा शवघाट बनाउने निर्णय

कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकले जुम्लाको चन्दननाथ नगरपालिकाको उमगाड र दानसाँघु क्षेत्रमा शवघाट बनाउने निणय भएको छ । जसका लागि चन्दननाथ १ र चन्दननाथ ९ वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको हो । यसअघि जुम्लामा शवघाटको अन्यौलताले संक्रमितको मृत्यु भएको खण्डमा कहाँ लैजाने भन्ने समस्या थियो । अब त्यो समस्या यो निर्णय भइसकेपछि समाधान भएको छ ।
बैठकले चन्दननाथ नगरपालिकाले तत्काल उद्योग वाण्ज्यि संघको हलमा आवश्यकता अनुसार संस्थागत आइसोलेसन तयार गर्ने निर्णय गरेको छ । उद्योग बाणिज्य संघ जुम्लाले संस्थागत आइसोलेसन निर्माणको लागि हल खाली रहेको यसअघि बसेको डिसीसीएमसीको बैठकमा जानकारी गराएको थियो । अब त्यो हलमा चन्दननाथ नगरपालिको संस्थागत आइसोलेसन बनाउने भएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्ला स्थित गैरसरकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गर्न सक्ने आवश्यक सहयोगको अनुमानित लागतको विवरण तीन दिन भित्र डिसीसीएमसीलाई पेस गर्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘कोरोना कहरको बेला सबै एक भएर एकद्धार प्रर्णाली बमोजिम काम गर्नु पर्ने अवस्था छ । यो समयमा सबै हातेमालो गरेर अघि बढेको खण्डमा कोरोना जीत्न सकिन्छ । ’ कोभिडका कारण रोजगारी गुमेका अतिविपन्नलाई दिने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताएका छन ।

बैठकले अक्सिजन सिलिण्डर,पिसिआर किड,एन्टीजीन किट,अक्सिमिटर,पिपिई,फेस सिल्ड,खाद्यन्न र रेमडिसिभा खरिदका लागि गैरसरकारी संस्थाहरुले तीन दिन भित्र सहयोगको प्रतिबद्धता सहित अनुमानित लागत डिसीसीएमसीको बैठकमा पेश गरिने भएको हो ।

Next Post

अत्यधिक रक्तश्रावले कालिकोटमा सुत्केरीको मृत्यु

४ जेष्ठ २०७८, मंगलवार १८:२७
कालीकोट — सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्राव हुँदा मंगलबार एक महिलाको ज्यान गएको छ । घरमै सुत्केरी व्यथा लागेर सोमबार राति साढे १० बजे स्वास्थ्यचौकी स्युना लगिएकी रास्कोट नगरपालिका–६ बड्डालाकी १९ वर्षीया निशा फर्साल महताराको ज्यान गएको हो । अहेब धनबहादुर फडेराका अनुसार सुत्केरी व्यथा लाग्नुअघि सोमबार बिहान १० बजे रक्तश्राव भएपछि […]