जुम्लामा अक्सिजन सहितका कोभिड अस्पताल

  ।   १३ जेष्ठ २०७८, बिहीबार १५:४४

जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन । एक कोभिड अस्पतालमा न्युनतम ३ देखि ३० वटा अक्सिजन सिलिण्डर सम्म व्यवस्थापन गरिएको पाइएको हो । चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले कोभिड अस्पताल सञ्चालनमा छैन ।
यहाँको गुठिचौर गाउँपालिकामा पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ । २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने,‘कोरोना संक्रमितको प्राण भनेको नै अक्सिजन हो । कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर नहँुदा खासै अर्थ हुदैन् ।’ चिकित्सक र अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्क संग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उनले बताए ।
अहिले सम्म अक्सिजन दिनु पर्ने बिरामी भर्ना भएका छैनन । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन दिदैनौँ । उनले भने,‘लक्षण सहितका कोरोना संक्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।’
उनको गाउँपालिकामा १० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । हरेक बेडमा एक एक अक्सिजन सिलिण्डर राखिएको छ । उनले भने,‘अहिले सम्म बिरामी भर्ना भएको अवस्था छैन । यदि बिरामी भर्ना हुनु पर्ने अवस्था आएको खण्डमा कोभिड अस्पतालमै अक्सिजनको साहरामा चिकित्सकको निगरानीमा उपचार गर्न सकिने अवस्था छ । ’
गुठिचौर बाहेक जुम्लाको अन्य स्थानीयतहमा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा छन । हिमा गाउँपालिकामा तीन वटा, तिलामा तीन वटा, सिँजामा दुइ वटा र कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डर सहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । जिल्लाको पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढेको अध्यक्ष लछिमान बोहोरा बताउँछन ।
उनले भने,‘गाउँमा लक्षण सहितका संक्रमित छैन । लक्षण नदेखिएका संक्रमित भएकोले होम आइसोलेसनमा बसेका छन । लक्षण देखिएको र गम्भीर प्रकृतिको बिरामी देखिएमा कोभिड अस्पतालमा उपचार शुरु हुन्छ ।’ भेण्टिलेटरमा राख्नु परेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनको लागि कोभिड एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका हरेक स्थानीयतहमा एक एक जना चिकित्सक खटाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा तयारी राम्रै देखिएको बताउँछन । उनले भने,‘गाउँका सिंहदरवारमा खोलिएका कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर देखि चिकित्सक र बेड व्यवस्थापन राम्रो देखिएको छ । तर संक्रमितको उच्च निगरानी राख्नु पर्ने देखिन्छ । ’
उनले स्थानीयतहलाई एन्टिजेन र आरडिटी खरिद गरेर मास टेस्टिङ र ट्रेसिङमा जोड दिन आग्रह गरे । कोरोना संक्रमितका लागि अहिले अक्सिजनको आवश्यकता हो । अक्सिजन नपाउँदा कैयो संक्रमितको ज्यान जाने गरेको छ, कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने,‘कोभिड अस्पताल भित्रको तयारी सन्तोषजनक छ । तर संक्रमितलाई आइसोलेसनमा राखेर उच्च निगरानी राख्नु पर्ने आवश्यकता छ । ’
उनले जिल्लाबाहिरबाट आउनेको तथ्यांक राखेर आरडिटी वा पिसिआर गर्नु पर्ने बताए । पुर्वमन्त्री भण्डारी कोभिड अस्पताल र आइसोलेसन सेन्टर अनुगमन गर्न जुम्ला पुगेका थिए ।
जुम्लाको सिँजा गाउँपालिका बाहेक सबै स्थानीयतहमा न्युनतम २५ देखि अधिकतम ५० बेड सम्मका आइसोलेसन सेन्टर बनेका छन । तर संक्रमित घरमा बसेका छन । आइसोलेसन सेन्टर खाली नै छन । कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले भने,‘अब नयाँ भेरियन्ट आउँदैछ । स्थानीयतहमा अक्सिजन देखि चिकित्सक र अन्य पुर्वतयारी गर्न जरुरी छ । ’
उनले कोरोना भाइरसको संक्रमणलाई खेलाँची नठान्न सुझाव दिए । हरेक स्थानीयतहमा कोभिड एम्बुलेन्स तयारी अवस्थामा राखेका छन । हिमा गाउँपालिकाका कार्यबहाक अध्यक्ष हिमाली रोकाया कोरोना संक्रमितको उपचार र निगरानीमा संवेदनशिल बनेको बताउँछिन ।
जुम्लाको सिँजा गाउँपालिका आइसोलेसन सेन्टर छैनन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई मध्येनजर गर्र्दै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यन्नको बैंक बनाएर केन्द्रको निर्णय बमोजिम वितरण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।

Next Post

चन्दननाथका चेत्य कुलाल १२ बर्षदेखि ओढारमा

१३ जेष्ठ २०७८, बिहीबार १५:४४
गणेश रावत, जुम्लाको चन्दननाथ नगरपालिका १ का चेत्य कुलाल १२ बर्ष देखि ओढारमा छन । उनी ४० बर्षको उमेरदेखि ओढारमा बस्दै आएका हुन । सानो छँदा माटोको एकतले घर थियो । घरमाथिबाट खसेको पहिरोले घर भत्काइदियो । उनी विस्थापित भएर ओढारमा बस्न थाले । अहिले सम्म ओढारको बास छ । […]

सम्बन्धित