‘आत्मबल दह्रो बनाउन सकेमा कोरोना जितिनेछ’

  ।   १८ जेष्ठ २०७८, मंगलवार २२:०२

 

 

 

 

नैनबहादुर हमाल,

विश्वभर कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा त्यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । सारभुत रुपमा नेपालीहरुले यो कस्तो रोग हो भन्ने कुरा नजिकबाट नियाल्ने अवसर पनि पाए । यसको उदग्म स्थल चिनको वुहान शहरबाट जंगली जनावर चमेरो प्रजातीबाट मानिसमा सरेको भनेर विभिन्न मिडियामा सुनिन्थ्यो । अलिकति समाचार बुझ्ने र नेट इन्टरनेट हेर्ने मानिसहरुले यसलाई नजिकवाट बुझ्ने प्रयास गरिरहेका थिए ।
कोरोना संक्रमण सम्बन्धि गाँउ घरमा विभिन्न तर्क गर्ने मानिसहरु भने कम थिएनन् । २०५४ सालमा मलाई मेरो बाजेले भनेका कुरा अहिले पनि दिमागमा ताजै छ । उहाँले भन्नुहुन्थ्यो ‘रुकुम रोल्पा तिर गुरील्ला माओबादीहरु उठेको छ । उसले सेना पुलिस सबैलाई जितिदिन्छ रे । यो कस्तो खालको गुरील्ला होला ? ’ समयको विकासक्रम सगै आफ्नै गाँउघरका छोरा नातीहरु धमाधम छापामारमा भर्ना भए । युद्ध लडेको देख्न थाले । मारेको र मरेको देख्न थाले । अनि भन्न थाले वास्तवमा गुरील्ला भनेका आफ्नै घरका पो रहेछन ।’
हो त्यस्तै पहिला पहिला विदेशमा यति मरे उति सक्रमित भए भनेर सञ्चार माध्यममा सुनिन्थ्योे तर आजभोली आफै संक्रमित भएको अवस्था छ । छुन पनि नपाइने र घरकै परिवार थला परेपछि घरकैले छुन पनि नपाईने बल्ल चाख्न पाईयो कोरोनाको स्वाद । कोभिड १९ को महामारीको प्रत्यक्ष बिरामी भएर थला परँे । त्यसपछिको अनुभूती पस्कदैछु ।
म कर्मथलो कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको श्री सत्यदेवी मावि जुविथाको बालीचौर भन्ने स्थानमा कार्यरत शिक्षक हो । कार्यक्षेत्र उतै परेकोले बसाई पनि स्कुल तिरै हुन्छ । २०७८ वैशाख १५ गते देशभरीका विद्यालयमा प्रत्यक्ष भौतिक रुपमा विद्यार्थीको उपस्थिति गराएर पठन पाठन गर्न नपाइने परिपत्र आयो । अनि टाढा टाढाका शिक्षकहरु कसरी घर पुग्ने भनेर मन्थन गर्न थाले । बार्षिक परिक्षा नजिकै आएको छ परिक्षा लिन सकिएन । मूल्यांंंंंङ्कन कसरी गर्ने भन्ने विषयमा बहस गर्न थाल्यौँ । अर्धबार्षिक परिक्षाको नतिजालाई रिजल्ट सिटमा तयार पारेर जाने निष्कर्ष निकाल्यौँ । परिस्थितीको आधारमा नतिजा प्रकासन गर्नु पर्ने हुन सक्छ भनेर हेडसरवाट निर्देशन भएपछि उपलब्ध साथीहरु अर्धबार्षिक नतिजा तयार पार्न थाल्यौँ ।
उपलब्ध सबै शिक्षक मिलेर अर्धबार्षिक परिक्षाको रिजल्ट सेट तयार पार्ने काम भयो । १६ गते तालुक कार्यलय तिलागुफा नगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखामा गएर विद्यालय सञ्चालन सम्वन्धमा जानकारी हाँसिल गरेपछि विद्यालय संञ्चालन नहुने नै भएपछि स्थानिय शिक्षकहरुलाई विद्यालयको भैपरी आउने कामको जिम्मा दिदै आफ्नो घर तिर लाग्ने निधो गर्यौँ । २०७८ साल बैशाख १९ गते मास्क सेनिटाईजरको प्रयोग गर्दै घर जाने निर्णय भयो । गाडी पनि चलिरहेका थिएनन । जुम्ला तिर आउने गाडीहरु प्राय प्याक नै भएर आउँथे भने सुर्खेततिर जाने गाडीहरु खाली नै थिए ।
लकडाउनका कारण देशभरिवाट मान्छे आफ्नो घर तिर प्रस्थान गरीरहेका थिए । घर फर्कनको लागि गाडी नभेटाएपछि ४ घण्टाको अन्तराल पछि मेरा आफ्नै सालाज्यू प्रेम हमाललाई फोन गरेको थिए । करीव ५ घण्टा पछि बाईक लिएर म भएको स्थानमा पुगे । हामी दुई भिनासाला बाईक मार्फत घरमा पुग्यौँ । घरमा पुगेपछि जेठो छोरा कृष्ण जुम्ला बजारवाट माहिलो छोरा राजेन्द्र हमाल नेपालगंजबाट १२ गते नै घरमा आई सकेका थिए ।
सबै परिवारको घरमा भेटघाट पछि रमाईलो त भयो नै ,तर मेडम भने बिरामी थिईन । एक त उनी पाखा सरेकी (महिनावारी) थिईन् । त्यसैमा उनलाई ज्वरो र जिउ दुख्ने समस्या थियो । स्वास्थ्य अवस्था कस्तो छ ? भनेर सोधँ। ज्वरो बढी छ भने पछि जचाँउनु पछ भनेर जवाफ दिइन । सहजै रुपमा उनले भनिन्,‘ गाँउभरि भाईरस फैलिएको छ सबैलाई यस्तै छ ।’
अनि मैले सिटामोल खान दिए । २ दिनपछि आफै सन्चो भएको महसुस भयो । सधैँ झै काममा जाने गर्न थालीन । यसै क्रममा २४ गते जेठो छोरोमा पनि ज्वरो आउने जिउ दुख्ने समस्या देखा पर्न थाल्यो । २९ गतेको दिनवाट मलाई सामान्य लक्षणहरु देखा पर्न थाले ।
जिउ पुरै दुख्ने, सुख्खा खोकी लाग्ने ,ज्वरो १०० डि.से. सम्म आउने, नाख बन्द हुने,मुख पुरै सुख्खा हुने,सास फेर्न गाह्रो भएको जस्तो हुने जस्ता लक्षण देखा परे । कोरोना वास्तवमा यही रहेछ भन्ने अनुभुति हुन थाल्यो । घरपरिवार बुढा आमा बुवाको अवस्था सम्झेर मनोबैज्ञानिक बिचलनता पैदा भयो । ८ औँ दिनपछि दोस्रोचरणका लक्षणहरु देखा परे । खाने कुराको स्वाद नष्ट भयो । वाकवाकी लागेर बान्ता सुरु भयो । यो अवस्था हेर्दा लाग्थ्यो,‘ साच्चीकै मृत्युको मुखमा पुगिन्छ की क्या हो । यो प्रक्रिया ७ दिन पुरै रह्यो । ज्यान सुकेर हिड्न नसक्ने उठ्दा थरथर शरीर काँप्ने,रिंगटा लाग्ने जस्ता लक्षणहरु देखा परे ।’
लक्षण देखिएको १५ औँ दिनपछि भने वान्ता रोकियो । खानामा स्वाद फर्कला जस्तो भयो । ज्वरो आउन बन्द भयो । केही मिठो बस्तु पाएको भए खानु हुन्थ्यो जस्तो लाग्ने गरि जिव्रोमा निखार आएजस्तो महसुस भएको छ ।
यो बीचमा अदुवा, वेसार, तितो र कागती पानी निरन्तर खाईरहेँ । वाकवाकी लागेको वेला सकि नसकि एक जग मनतातो पानी पुरै पिउने र वान्ता भइरहने भएकोले निरन्तरता दिए । जसले केही शरीरमा सहज भएको जस्तो हुन्थ्यो ।
एका बिहानै उठ्ने । सकि नसकि खुल्ला ठाँउमा गई सामान्य ब्यायम गर्ने र हावा नाक मुख वाट भित्र र बाहिर फाल्ने जसवाट स्वासप्रश्वास मा सजिलो होस् । यो संगै स्वास्थ्यकर्मीको परामर्शका आधारमा एलोपेथिक औषधिको प्रयोग पनि भयो । प्रवचनहरु सुन्ने,सके पुस्तक रु पढ्ने र दिमागलाई नियन्त्रण गर्ने सकारात्मक सोचहरु तिर अघि बढाउने गरे । विभिन्न साथीहरु सँग फोन म्यसेज मार्फत भएका कुराहरुलाई शेयर गरे । यसले पनि यो कठिनपुर्ण समयमा निकै राहतको अनुभुति दिलायो ।
प्रत्येक ब्यक्ति ब्यक्ति विच २ मिटर भौतीक दुरी कायम गर्नु पर्ने र मास्क सेनीटाईजरको अनिवार्य प्रयोग गर्नु पर्ने र कोरोनालाई हेलचक्रयाईको रुपमा नबुझेर घरमा पनि दुरी कायम गरी बस्ने बानीको विकास गर्न जरुरी छ । कोरोनाबाट बच्न अरुको घरमा जथाभावी प्रवेश गर्न हुदैन । सामूहिक कार्यहरु भोजभतेर, पार्टी, सभा सामूहिक भेला जस्ता कार्यक्रमहरु कसैले आयोजना गर्न हुदैन । र कसैले नवुझेर गरीहालेमा पनि बहिष्कार गर्नु पर्छ भन्ने सुझाव दिन चाहन्छु ।
म त भन्छु कोरोना लागिसकेपछि आत्मवललाई दह्रो वनाउने, यसको अवधि न्युनतम १४ दिनको हुन्छ यी दिनहरुमा जसरी पनि सुरक्षित हुनु पर्छ भनेर आफ्नो दिमागलाई तयारी अवस्थामा राख्ने गर्नुपर्छ । . आफ्नो वार्ड अध्यक्ष , गाउपालिका प्रमुख, उपप्रमूख, स्वास्थ्यकर्मी र अन्य समाजसेवीहरुको कन्ट्याक्ट नम्वर अनिवार्य राख्ने र वेला वेला आफुलाई भएका समस्या जिम्मेवार ब्यक्तिहरुलाई जानकारी गराई आवश्यक सल्लाह सुझाव लिने गर्नुपर्छ । स्वास्थयकर्मीको परामर्शको आधारमा आवश्यक औषधी सेवन गर्ने,सकभर होम आाइसुलेसनमा बसेर उपचार पद्धति संञ्चालन गर्ने र यदी समस्या कडा ( स्वास फेर्न गाह्रो , अक्सिजनको कमी, छातीमा कडा इन्फेक्सन ) भएमा कोरोना हस्पिटलमा भर्ना हुनुपर्छ ।
मानव सचेत प्राणी हो । यो आफ्नो विवेक प्रयोग गर्दै अघि बढ्ने भएकाले विश्व महामारी कोभीड –१९ सँग लड्नको लागी प्रत्येक ब्यक्ति आफु सुरक्षित हुनु पर्दछ । अनिमात्र उसले आफ्नो घरपरीवार, समाज ,राष्ट्र र बिश्वलाई सुरक्षित राख्न सक्छ भन्ने मान्यता आम नागरिकमा विकास गराउन सकेमामात्र योे साझा दुष्मन कोरा नालाई जित्न सकिन्छ । मास्क लगाँउ कोरना भगाँउ ।

Next Post

कर्णाली अस्पताललाई युगान्डामा बस्ने नेपालीको अक्सिजन सिलिण्डर सहयोग

१८ जेष्ठ २०७८, मंगलवार २२:०२
युगान्डामा बस्ने नेपालीले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन सिलिण्डर पठाएका छन । उनीहरुले तीन लाख रुपैयाँ बरावरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन । कोरोना महामारीका कारण नेपालका ठुला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुने गरेपछि युगान्डामा रहेका नेपालीले पनि कर्णाली अस्पताललाई […]

सम्बन्धित