निषेधको राजनीति बदर गरौँ,चुनौतिलाई अवसरका रुपमा लिउँ : सांसद भण्डारी

  ।   २८ जेष्ठ २०७८, शुक्रबार ०९:४२

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले निषेधको राजनीतिलाई बदर गर्न आग्रह गरेका छन । उनले कठिनपुर्ण घडिमा एकले अर्कोलाई सहयोग गर्नु पर्ने बेला आइपुगेको बताए । कर्णालीको प्रदेश सभालाई संवोधन गर्दै सांसद भण्डारीले दुधले नुहाएको कोही नभएको भन्दै कमजोरीलाई सच्याउँदै चुनौतिलाई अवसरमा परिणत गर्न अपिल गरे ।
प्रतिपक्षले सत्तापक्षको विरोध गर्नैपर्ने र सत्तापक्षले प्रतिपक्षलाई किनारामा धकेल्नैपर्ने नेपाली राजनीतिको परम्परागत संस्कार भन्दा माथि उठ्न आव्हान गरे ।
कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले कर्णालीका साझा समस्याविरुद्ध सत्ता पक्ष र प्रतिपक्ष मिलेर लड्नुपर्ने बताए । कोरोना महामारी, गरिबी, अशिक्षा र बेरोजगारी कर्णालीको समस्या भएको भन्दै उनले त्यसविरुद्ध सामूहिक लडाइँ लड्नुपर्ने आवश्यकता औंल्याए ।

यस्तो छ कर्णाली प्रदेशसभा सदस्य भण्डारीले गरेको सम्बोधनको पूर्णपाठ –

सभामुख महोदय,

प्रथमतः विषम परिस्थितिमा आयोजित कर्णाली प्रदेशको यस सम्मानित सदनको प्रतिक्षित आठौँ अर्थात बजेट अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
कोभिड-१९ को महामारीका कारण दिवंगत हुनु हुनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु । 

प्राणघातक कोभिड-१९ सँग जुधिरहनु भएका समस्त संक्रमित दाजुभाइ तथा दिदीबहिनीहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

एकल प्रयासबाट मात्र महामारीका रूपमा विश्वव्यापी फैलिएको कोभिड-ज्ञढ विरूद्धको लडाइमा सफलता हाँसिल गर्न नसकिने भएकाले सामुहिक प्रतिरोधको लागि हार्दिक अपिल गर्दछु ।

सदन सुचारू गर्न सहयोग गरेकोमा प्रमुख प्रतिपक्षलाई धन्यवाद दिन चाहन्छु ।

माननीय सभामुख महोदय,
सिङ्गो विश्व कोभिड-१९ रूपी महामारीका विरूद्ध र हाम्रो मुलुक महामारी तथा बाटो बिराउँदै गरेको राजनीतिका विरूद्ध जुधिरहेको छ । महामारी र उल्टो यात्रा उन्मुख राजनीतिले लपेटिरहँदा कर्णालीबासीको आस्था र विश्वासको प्रतिक कर्णाली प्रदेशसभाको यो बजेट अधिवेशनमा सहभागी भइरहेका छौँ ।

प्रचुर सम्भावनायुक्त हुँदाहुँदै सुख र समृद्धिको खोजीमा भौतारिरहेका कर्णालीबासीहरूले बलिदानको मूल्यमा स्थापित कर्णाली प्रदेशसभाको यस अधिवेशनलाई आशा र विश्वासको नजरले हेरिरहेका छन्, उनीहरूले प्रश्न गरिरहेका छन् । विश्वासको मत दिएर पठाएका तिमी जनप्रतिनिधिहरूले कलेटी परेका हाम्रा ओठहरूमा मुस्कान भर्न सक्छौं ? गरिबीको रसातलमा भासिएका कर्णालीलाई समृद्धिको काञ्जिरोवा आरोहण गराउन सक्छौं ? खोसिएको हाँसो र च्यापिएका रङ्गनि सपनाहरूको उद्धार गर्न सक्छौं ?

सम्मानित सदनले पारित गर्ने नीति, कार्यक्रम र बजेटले समृद्ध कर्णाली र सुखारी कर्णालीबासीको संकल्पलाई सार्थक तुल्याउन सक्छ वा सक्दैन ? अधिवेशनले साधन स्रोतहरूको न्यायोचित वितरण गर्छ वा गर्दैन ? अधिवेशनले कर्णालीबासीको मुहार बदल्न योगदान गर्न सक्छ वा सक्दैन ? तिमी जनप्रतिनिधिहरूले कोभिडरूपी जिवाणुको आतंकबाट नागरिकहरूको जीवन रक्षा गर्न सक्छौ वा सक्दैनौ ?

लाग्छ, प्रश्नहरू हलभित्र गुञ्जिरहेका छन् । त्यसको ध्वनि छेउछाउमा बहिरहेको हावामा पनि महसुस गर्न सकिन्छ । यी यक्ष प्रश्नहरूको जवाफ दिन हामी कठघरामा उभिएका छौं । समुचित जवाफ दिन नसक्दा जनताका प्रश्नहरूले हामी च्यापिने छौं । जसरी पुरानो व्यवस्था च्यापिएर नामेट भएको थियो । प्रश्नको एकल होइन, सामूहिक जवाफ दिनु पर्दछ, न सत्तापक्ष न त प्रतिपक्ष, फरक यति, सत्तापक्षले प्रतिपक्ष भन्दा बढी जवाफ दिनुपर्ला । प्रश्नमा पिठ्यूँ फर्काउन किमार्थ मिल्दैन । तसर्थ, जनताले सोधेका प्रश्नहरूको सामूहिक सम्वोधन गरौं । किनकी हामी जनप्रतिनिधि हौं । हामी आन्दोलनका सहयात्री हौं । अभ्यासरत व्यवस्था कसैले जबरजस्त थोपरेको होइन, हामीले रोजेको र खोजेको हो ।

माननीय सभामुख महोदय,
हामीले अनवरत प्रश्न गरिरहृयौँ, दुःखको सागरमा कर्णाली किन पौडिरहेको छ ? कर्णालीमा किन सुखका फल फल्न सकेनन् ? सुख र समृद्धिको खोजीमा दुःख, अभाव र गरिबीको स्रोत मानिने पुरानो व्यवस्थालाई बिदाई गर्यौं । विकल्पमा रगत, आँसु र पसिनाको मूल्यमा हामीले नयाँ व्यवस्था अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं ।

कर्णाली अभावको पर्याय होइन समृद्धिको स्रोत भएको वास्तविकतालाई स्थापित गरौं । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकोसघन सहकार्यको नमूना अभ्यासमार्फत समृद्ध, विकसित, सम्पन्न, आधुनिक र सुसंस्कृत कर्णाली निर्माण गर्ने सामूहिक संकल्प गरौँ

स्थापित व्यवस्था संकटमा पर्दै गइरहेको छ, प्रतिगमनको खतरा बढेको छ । जनप्रतिनिधिको सर्वोच्च संस्था प्रतिनिधिसभा माथि पटक पटक प्रहार भएको छ । विधिको शासनको स्थान बाहुबल र अराजकताले ओगट्दैछ । संघीयता कार्यान्वयनमा संघीय सरकार अपेक्षित सक्रिय देखिएको छैन । संघीय सरकारले संविधान प्रदत्त अधिकार कार्यान्वयनको मार्ग फराकिलो पार्ने प्रमुख संघीय ऐनहरू र मापदण्ड पारित गर्न विलम्ब गरिदिँदा अझै पनि न प्रदेश प्रहरी गठन हुन सकेको छ, न त प्रदेश निजामती सेवा ऐन व्यवस्था अनुरूप कर्मचारी भर्ना प्रक्रिया प्रारम्भ हुन सकेको छ । जसको नकारात्मक प्रभाव प्रत्यक्षतः प्रदेश सरकारको कार्यसम्पादनमा परेको छ ।

व्यवस्थाको घाँटी निमोठ्न चाहने पुनरूत्थानवादी पात्र एवं प्रवृत्तिहरू व्यवस्थालाई औचित्यहीन सिद्ध गर्न उदाइरहेका सूर्य, बहिरेको हावा, बगिरहेको पानी र घुमिरहेको पृथ्वीलाई पनि प्रश्न गर्ने धृष्टता गर्दैछन् । हाम्रा कमजोरीहरूप्रति निर्मम बन्दै इतिहासको यो जटिल र संवेदनशील चक्रमा हजारौ सर्वोत्तम छोराछोरीहरूको बलिदानको मूल्यमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्नु परिवर्तनकामी शक्तिहरूको प्रमुख अभिभारा हो । अन्यथा नेपाल असफल प्रयोगशाला भइरहने छ, विकास र समृद्धि एकादेशको कथा सावित हुनेछ, हामी दन्त्य कथाका पात्रमा सीमित हुनेछौं ।

प्रतिपक्षले सत्तापक्षको विरोध गर्नै पर्ने र सत्तापक्षले प्रतिपक्षलाई किनारामा धकेल्नै पर्ने नेपाली राजनीतिको परम्परागत संस्कार भन्दा माथि उठेर चौडा छातीका साथ बेहिच्किचाहट, बेकन्जुस्याईं समृद्ध नेपाल र समृद्ध कर्णाली निर्माणको ऐतिहासिक कार्यभार सम्पादनार्थ दृढ संकल्पित बनौं । हाम्रो दुश्मन कोभिड हो, अभाव हो, गरिबी हो, बेरोजगारी हो, अशिक्षा हो, त्यसका विरूद्ध जित सुनिश्चित गरौं ।

मानवीय कमजोरीबाट कोही अछुतो हुँदैन, दूधले नुहाएका हामी कोही छैनौं, कमजोरी सच्याउँ, चुनौतीलाई अवसरमा परिणत गरौं, एकले अर्कालाई Åदयदेखि सहयोग गरौं, निषेधको राजनीतिलाई बदर गरौं, सहकार्यको राजनीतिलाई सदर गरौं, जिम्मेवार सत्तापक्ष र रचनात्मक प्रतिपक्ष बनौं, कर्णालीका समस्या राष्ट्रिय समस्याकै अंश भएको सत्यलाई मनन गरौं । समस्या समाधानको सामूहिक सहकार्य गरौं । कर्णालीलाई नकारात्मक राजनीतिक सन्देश प्रवाहक नभएर सकारात्मक सन्देश प्रवाहक बनाऔं । राउटे समुदायकी युवतीहरूको जीवन रक्षा गर्न र अपराधमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न संघीय र प्रदेश सरकारलाई ने.क.पा. (माओवादी केन्द्र) दलको तर्फबाट विनम्र अनुरोध गरिन्छ ।

माननीय सभामुख महोदय,
हिउँमा कठ्याङ्ग्रिएका, राराहरूमा डुबिरहेका र परिश्रममा/पसिनामा पनि ओइलाइरहेका कर्णालीका सपनालाई न्याय गर्ने सामूहिक उदघोष गरौं । कर्णाली अभावको पर्याय होइन समृद्धिको स्रोत भएको वास्तविकतालाई स्थापित गरौं । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकोसघन सहकार्यको नमूना अभ्यासमार्फत समृद्ध, विकसित, सम्पन्न, आधुनिक र सुसंस्कृत कर्णाली निर्माण गर्ने सामूहिक संकल्प गरौँ । सम्भव छ ।

कर्णालीबासीका समुज्ज्वल भविष्यको रेखा कोर्ने अपेक्षा गरिएको यो अधिवेशनको पुनः सफलताको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

Next Post

जुम्लामा अस्पताल भर्ना भएको ६ घण्टामा संक्रमित महिलाको मृत्यु

२८ जेष्ठ २०७८, शुक्रबार ०९:४२
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका १ राँकागाउँकी ३४बषिया एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले संक्रमित महिला दिर्घ रोगी भएको जानकारी […]