‘अ’ बाट सिकेको खुट्किलाको ढुंगाको सिलोट

  ।   १० असार २०७८, बिहीबार ००:११

 

 

 

 

टोपबहादुर बुढा
बिक्रम सम्बत २०३९ साल मार्ग १० गते बुधबारको दिन मेरो जन्म हुँदा प्राकृतिक रुपमा नै नाई छेदन भएर भएको थियो रे । तत्कालिन अबस्थामा स्वास्थ्यका कुनै सुविधा नभएको त्यो समाजमा यसलाई गम्भीर रुपमा लिने कुरै भएन । मेरो बजै आफैमा तत्कालिन समयमा सोडेनी जस्तै काम गर्ने भएकोले बाख्राको रौँ बाट निर्मित बगरालको डोरीले बाँधि दिनुभएको थियो रे ।
तत्कालिन अबस्थामा दोश्रो वंशको रूपमा मेरो जन्म भएकोले सामाजिक परम्परा अनुसार हर्ष बडाई पनि गरेछ्न । जुन बेला मेरो बाबा सरकारी सेवामा स्थायी राष्ट्रसेवकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यो बेला साँवा अक्षर चिनेकाले घर घरमा गएर आफन्तले पठाएका चिट्ठी पढिदिनु पर्ने अवस्था थियो ।
म जन्मिनु भन्दा अगाडि निर्दल र बहुदलको बिचमा जनमत नामको कपटपूर्ण चुनाब भएको थियो रे । अलिकति गाउँका पढेलेखेका मानिस बहुदलको पक्षमा लागेका थिए । जसमा मेरो बाबाको पनि नाममा ४–६ बर्षपछि केरकार गर्दै निजामती सेवाबाट हटाईयो ।
समस्या थिएन किनकी उतिबेला पढेलेखेका मानिसका लागि रोजि रोजि जागिर खान पाइन्थ्यो । मेरा मामा लालु शाहीको पहलमा स्थापना भएको विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी दिदै विद्यालय सन्चालक समितिले नियुक्ति दियो । म गाउँको स्कुलको प्रधानाध्यापकको छोरा थिए । अरु सबै घर परिबार काममा व्यस्त हुने भएकोले मेरो हेरचाह गर्ने जिम्मेवारी बाबाले पाउनुभयो ।
बाबा संग स्कुल जाने बाबा संग घर फर्किने दिनचर्या बन्यो । स्वतन्त्र थिए ।  बढि तौलको किताब कापीको झोला बोक्नु पर्ने, होमवर्क गर्नुपर्ने थिएन मलाई । आजको प्रारम्भिक शिशु कक्षाको वास्तविक मर्म संग मिल्थ्यो । अहिलेको परिमार्जित भन्ने शिक्षाले बालबालिकालाई किताबको झोला सहित होमवर्कको तनाबले गर्दा स्कुल देखि भाग्ने बनाएको छ । सम्बत २०२५–०२६ सालतिर नै मेरो आमाले जातिय युद्धको चरम सामना गर्नु परेको थियो ।
कल्याल ठकुरीको कोखमा जन्म लिएकी मेरि आमा आफू भन्दा तल्लो जात क्षेत्री बुढा जातिको मेरो बाबा संग बिवाह गर्नुभयो । जसको बदलामा करिव एक बर्ष दाङ जिल्लामा गुप्त बाँस बस्नु पर्यो । घरमा बस्ने बाजेबजैले कल्याल ठकुरीको चरम दुव्र्र्यवहार भोग्नु परेको थियो । अहिले हाम्रो प्रमुख शुभचिन्तक उहाँहरु नै हुनुहुन्छ । हामी पनि । बाबा संग स्कुल संधै आउँदा जाँदा पनि मलाई मेरो बाबाले ‘अ’ अक्षर सिकाउनु भएन छ । सायद त्यो बेला मेरो सिक्ने उमेर थिएन । जानी नजानी मेरो मनोविज्ञानमा ठेस लागेन ।
एक दिन मैले बाबा कुनै कामले कतै जाँदा स्कुलबाट एक्लै घर आउनु परेको थियो । घरमा फलामको साङ्लोले घरको ढोका बन्द गरिएको थियोे । निकाल्न सकिन । मेरो घरमा झ्याल थियो एउटा । बाबा अरु भन्दा अलि आधुनिक थिए । तर हामीले मान्ने कुल देवता मष्टोले देवताको थानको नजर पर्ने गरि झ्याल राख्न मिल्दैन थियो ।
धाँमीले बाबालाई बोलाइ झ्याल राखेको बदलामा सात वटा खसी देबतालाई दिनु पर्ने फैसला सुनाए । बाबाले हस भन्दै फर्किनुभयो । त्यही झ्यालबाट भित्र पसि बासी रोटी खाँए । अनि बाहिर निस्कदा ढोकाबाट ठिक अगाडि मन मिल्ने साथी चन्द्रको घरको छत थियो ।
घरको छतमा जानको लागि बनाएको ढुंगाको सिँढीमा बसेर साथीलाई उसको बाबाले ( म जया बोब (बाजे) भन्थे) के सिकाउदै गरेको देखे । मैले ढुंगाको सिलोटमा आगोको अँगारले खै के के लेखिरहेको देखेँ । जबकी ती जया बोब बिल्कुल अक्षर नजान्ने थिए ।
सहि हो या गलत अ, आ लेख्दै थियो साथी । मलाई पनि लेख्ने मन लाग्यो । लेख्ने अनुमती मागे । मिल्ने साथी भएकोले कोइला मेरो हातमा दियो । साथीले दिएको कोइलाले उसले लेखेको जस्तै अ,आ लेखेँ । सही या गलत थाहा भएन । हो यहि ढुंगाको प्राकृतिक सिलोट र आगोको कोइलाको अँगार बाट मैले अक्षर सिके । मेरो विद्यालय शिक्षाको सुरुवात भयो ।
                     लेखक बुढा हाल सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख हुन ।

Next Post

‘बाबा अंग्रेजी शिक्षक बनाउन चाहन्थे तर म निजामती बनेँ’

१० असार २०७८, बिहीबार ००:११
प्राचीन समयमा ऐतिहासिक तथा निकै शक्तिशाली मानिएको राज्य सिन्जा राज्य हो । सिँजामा पर्ने साबिक नराकोट गाबिस वडा न. ७ माथी लेखमा पर्ने दुर्गम बस्तीमा मेरो जन्मभयो । तत्कालिन प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा ४ बर्षमा पुरा गरे । जहाँ मेरो बुवा प्रधानाध्यापक हुनुहुन्थ्यो । अब निम्न माध्यमिक शिक्षाको अध्ययन गर्न […]

सम्बन्धित