कर्णाली प्रदेशसभा: कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

  ।   २४ असार २०७८, बिहीबार १८:४७

कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन।

एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन। बैठक सुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए। सभामुखले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताए। “कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो”, उनले भने,“जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन, तब बजेटमाथि छलफल गर्न सकिँदैन।”

रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे। एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ। हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री छन्। फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराएका छन्।

फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उनीहरुसहित प्रकाश ज्वाला पुनर्वहाली भएका थिए। प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आएका छन्। एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ। संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ।

Next Post

पातारासीमा रैथानेबालीका ७ पकेट क्षेत्र

२४ असार २०७८, बिहीबार १८:४७
गोल्डेन बुढा, जुम्लाको पातारासी गाउँपालिकाले रैथानेबालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ,एक उत्पादनलाई प्रोत्साहन दिन,चक्लाबन्दी खेतिलाई जोड दिन, सामुहिक खेतिलाई बढवा दिन र कृषिलाई व्यवसायिक बनाउनको लागि गाउँपालिका भित्र ७ वटा पकेट क्षेत्र निर्धारण गरिएको हो । स्थानीय उत्पादनलाई जोड दिदै बाँझो जग्गामा पुर्ण खेती […]