जातीय विभेद गरेको भन्दै वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

  ।   २६ असार २०७८, शनिबार ०७:४९

जुम्ला- जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले जातीय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । सिंजा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष ५५ वर्षीय कालीबहादुर बुढा र उनका छोरा ३० वर्षीय नवीन बुढाले जातीय विभेद गरी गालीगलौज गरेको भन्दै पीडित पक्षले २५ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गराएको हो ।

आरोपित दुवै जनाले स्थानीय सोही वडाका ३५ वर्षीय विवेन्द्र नेपालीलाई गालीगलौज गरेर जातीय विभेद गरेको भन्दै दलित अधिकारकर्मीले कानुनी कारबाही माग गरेका छन् । उनीहरूले प्रहरीले जाहेरीसमेत लिन ढिलाइ गरेको बताएका छन् ।  वडाध्यक्षले ६ असारमा विवेन्द्रलाई फोन गरी ‘तँ साले कुकुर, तेरो बाउले हालेको हो योजना ? भनी मेरो विषयमा टिप्पणी गर्ने तँ को होस्’ भनेर तथानाम धम्की दिई ममाथि विभेदपूर्ण व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

८ असारमा वडाध्यक्षले कार्यकक्षमा बोलाएर थर्काइ रहेको समय आरोपित उनका छोरा नवीन बुढाले एक्कासि ‘तँ सार्की हलुँडा बेची खाने डुम । तँ को होस् ? जहाँ जान्छस् जा । जे गर्छस् गर । तँलाई डुम नभनी के राजा भनूँ’ भनी बसिरहेको ठाउँमा आएर गालामा हानेको र गर्धन निमोठेको पीडित नेपालीले बताए । ९ असारमा सिंजा गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिई १० असारमा छलफलमा जाँदासमेत छोरा नआएको भन्दै बाबु वडाध्यक्ष छलफलमै नबसी हिँडेको पीडित पक्षको आरोप छ ।

तर, पछि छलफल चलिरहेका बेला वडाध्यक्षका छोरा नवीन एक्कासि कार्यालयभित्र छिरेर विवेन्द्रलाई ‘तँ सार्की, हलुँडा बेची खाने डुम । तँ डुमले के गर्न सक्छ ? डुमलाई डुम नभनी के भन्ने ?’ लगायत तथानाम गाली गर्दै धकेलाधकेल गरेको, पछार्दा पनि वडाध्यक्षले साथ दिएको पीडित पक्षको दाबी छ । यी सबै घटनाको रेकर्ड गरेका विवेन्द्रले यसलाई प्रहरीसमक्ष प्रमाणको रूपमा राखेका छन् । नेपाल पत्रकार महासंघ सहसचिव सागर परियारले यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरीले जाहेरी अगाडि बढाउन ढिलाइ गर्नु दुर्भाग्य भएको बताए । जुम्लाका दलित सवालका अधिकारकर्मीले प्रहरीमा जाहेरी दर्ता गराउन दबाब अभियान सुरु गरेको उनको भनाइ छ ।

दलित अधिकारकर्मीले सामाजिक सञ्जालमार्फत प्रहरीले जाहेरी लिन ढिलाइ गरेको आरोप लगाएका छन् । वडाध्यक्ष बुढाले भने आफूले कुनै प्रकारको शब्द नभने पनि छोरासँग सामान्य झगडा भएको बताए । सानो कुरालाई पनि मिडियाले एकतर्फी प्रचार गरेको उनको दाबी छ ।

सामान्य झगडाको विषय १० असारमै गाउँपालिकामा मिलाप भइसकेको उनले ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरीले पीडित युवाको जाहेरी दर्ता भएको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको र यो विषयमा प्रहरी संवेदनशील भएको उनको भनाइ छ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ उपदफा (१) र (२) को (ख) मा कसुर गरेकाले ऐनको दफा ७ (क) बमोजिम हदैसम्मको सजाय र जरिमाना हुने कानुनी व्यवस्था छ ।

Next Post

नेपाली सेनाको २४ नम्वर बाहिनी अड्डा परिसरमा वृक्षारोपण

२६ असार २०७८, शनिबार ०७:४९
जुम्ला स्थित नेपाली सेनाको २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका विरुवाको वृक्षारोपण गरिएको छ । । स्याउ,मेपल,किम्बु,पिपल,ओखर सल्लो,उत्तिस र धुपीको विरुवा रोपिएको हो । २४ नम्वर बाहिनी अड्डाका बाहिनीपति सहायकरथी याम बहादुर सापकोटाको नेतृत्वमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. […]