जुम्ली राष्ट्रसेवक टोपबहादुर बुढाका प्रधानमन्त्री देउवालाई १७ सुझाव

  ।   ३० असार २०७८, बुधबार २१:११

प्रधानमन्त्री ज्यू ।
इतिहास कै कठिन अवस्थामा तपाई देशको ४४ औ प्रधानमन्त्री हुनु भएको छ । सर्बप्रथम हार्दिक बधाई सहित कार्य सफलताको शुभकामना । इतिहासकै छोटो समय तपाई कार्यकारी प्रधानमन्त्री हुने देखिन्छ । किनकी ३० दिन भित्र तपाईंले संसदबाट विश्वासको मत पाउने सम्भावना म देख्दिन । हुन त राजनीति अनेकौं सम्भावनाको खेल हो । यो व्यक्तिगत धारणा भएकोले गल्ती भनेछु भनेपनि म दुखि हुनेछैन ।
कम बोल्ने,हक्की ,कुटनैतिक चातुर्यतामा सम्पन्न तपाइलाई ३० दिने कार्यकालमा कसैको दवाब र प्रभावमा नपरी काम गर्नुभयो भने तपाई माथी लागेका आरोप गलत सावित मात्र हुने छैनन्,आसन्न हुन लागेको तपाईंको आफ्नै पार्टीको महाधिवेशन र आवधिक वा मध्यवधि चुनावमा देश देउबामय हुनेछ । नेपालको इतिहासमा छैटौं पटक देशको कार्यकारी पदमा पुगि इतिहास रच्ने र राष्ट्र निर्माता बन्ने सु –अवसर प्राप्त हुनेछ ।
सम्माननीय प्रधानमन्त्री ज्यु,
मेरो सुझावलाई बुदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।
१ ) सानो छरितो स्वच्छ छवि भएका व्यक्तिलाई ३० दिने मन्त्री बनाउनुहोस । पछि कार्यकाल थपघट हुन सक्छ ।
२ ) मन्त्री परिषदमा तपाईले पाएको एकल निर्णय गर्ने अधिकारलाई सामुहिक निर्णय गर्ने परिपाटी बसाल्नुहोस ।
३)  हरेक दिन १ घण्टा मन्त्री परिषदको बैठक बस्ने व्यवस्था गर्नुहोस र प्रत्येक दिनको समिक्षा गर्नुस र सुधार गर्नुहोस् ।
४ ) तपाईंको सचिवालयमा राजनैतिक आस्थाका आधारमा होइन स्वतन्त्र हरेक बिषय क्षेत्रमा विज्ञता हासिल गरेका व्यतिहरुको समूह बनाई दैनिक सुझाव सल्लाह लिनुस । छिमेकी दुई ठुला उदियमान अर्थतन्त्र बोकेका मुलुकहरु चीन र भारत सँग समान र सुमधुर सम्बन्ध राखी नेपालको हित हुने गरि कुटनैतिक सम्बन्ध कायम गर्नुहोस् ।
५) भारत तथा चीन सँग तत्काल समन्वय गरि सिमा विबाद समाधानको लागि एक उच्च स्तरीय सिमा विबाद सयन्त्र गठन गरि नेपाली भुमी कालापानीमा रहेको भारतीय सेना बहिर्गमनमा आम नेपाली समक्ष तत्काल प्रतिबद्धता गर्नुहोस् ।
५) अमेरिकी सहयोगको रूपमा रहेको एमसीसी नेपाली हित अनुकुल भएपनि अब नेपालले स्वीकार नगर्ने प्रतिबद्धता गर्नुहोस् । जसले तपाईं माथी लागेको अमेरिकी चार्ज गलत सावित हुनेछ र अबुझ फेसबुके नेपाली माझ तपाईंको हाई हाई हुनेछ ।
६) संघीयतामा कार्यन्वयन गर्न बाँकी कामको फेहरिस्त बनाई पुर्ण कार्यान्वनको लागि ३० दिने स्वयत्त पत्र जारी गर्नुहोस् । जसमा प्रदेश तहको खारेजी गरि संघ र स्थानीय तहको दुई तहको सरकार हुने निर्णय गर्नुस । जसले देशको ठुलो फजुल खर्च रोक्नुका साथै बलियो स्थानीय सरकारको बिकास हुनेछ । यसबाट पनि तपाईंले ठुलो जनमत प्राप्त गर्नु हुनेछ ।
७) जनताको आधारभुत आवश्यकता र सरकारको अहम जिम्मेवारी रहेको शिक्षा,स्वास्थ पुर्ण निशुल्क गर्ने घोषणा गर्नुहोस् । सम्पुर्ण नीजि तथा ब्यापारिक शिक्षण र स्वास्थ संस्था सरकार मातहत लिनुस । भलै जुन कुरा तपाईंको पार्टीको नीजिकरण र उदारीकरणको नीति विपरित छ ।
८) सम्पुर्ण देशको सेवा प्रबाह प्रविधि मैत्री बनाउनुहोस । डिजिटल नेपाल घोषणा गर्नुहोस् ।
९) १२ महिनामा ८ महिना घाम तापेर,गफ गरेर,सामाजिक संजाल चलाएर,शेयर कारोबार गरेर दिन बिताउने यति ठुलो भद्दा निजामती कर्मचारीको सगठन संरचना सानो,छरितो,वैज्ञानिक,प्रविधिमैत्री, राजनैतिक रूपमा पुर्ण तटस्थ अधिकृत मुखी निजामती सेवा समूह गठन गर्नुहोस् । जसले तपाईंको सेवा प्रवाह पारदर्शी हुनेछ । राज्यको अथाह स्रोत जोगिने छ । अन्य आवश्यक जनशक्ति करारमा कामको आधारमा व्यवस्थापन गर्नुहोस् ।
१०) ३० दिन भित्र सम्पुर्ण नेपालीलाई कोरोना खोपको लागि २४ घण्टा काम गर्ने उच्चस्तरीय टास्क फोर्स गठन गरि खोप लगाउनुस ।
११) महाभुकम्प,महामारीले शिथिल बनाएको अर्थतन्त्रलाई चलायमान बनाउन वैदेशिक रोजगारीबाट फर्केका,नेपाल मै बेरोजगार भै बसेका सम्पुर्ण नेपालीलाई एउटा प्याकेज मार्फत निजहरुको सीप र क्षमता बमोजिमको सामुदायिक काममा लगाउने कार्ययोजना तयार गर्नुहोस् । जसले युवामाँझ तपाई लोकप्रिय मात्र होइन देशको समग्र बिकासले गति लिनेछ । देशको उत्पादन वृद्धि भै आयात घटेर निर्यात बढनेछ ।
१२) सम्पुर्ण प्रकारका गैरकानुनी क्रियाकलाप (चोरी,हत्या,हिंसा,सुन तस्करी,हुन्डि,भ्रष्टाचार,राजश्व छलि)मा कडा रूपमा प्रस्तुत हुनुहोस् । शुन्य सहनशीलता अपनाउनु होस । त्यसले तपाईं माथी लाग्ने गरेका राजनैतिक तथा अपराधिक आरोप गलत सावित होउन ।
१३) राष्ट्रिय गौरव तथा रुपान्तरणमुखी योजना आयोजनाको सञ्चालन तथा व्यवस्थापनका लागि एउटा अधिकार सम्पन्न आयोग गठन गर्नुहोस् । जसले ती आयोजना तोकिएको समय ,लागत र गुणस्तरमा सम्पन्न गर्न अहोरात्र लागोस । जसबाट देशले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा व्यवहारमा रुपान्तरण हुनेछ ।
१४) देशभरका सानो वा ठुलो कार्यालयको कार्यालय प्रमुख,संवैधानिक निकाय प्रमुख , छनोटका लागि देशभरका निश्चित योग्यता पुगेका राष्ट्रसेवकबाट १ बर्षे सुधार कार्ययोजना खुल्ला रुपमा माग गर्नुहोस् । निश्चित मापदण्डका आधारमा छनोट गर्नोस् । सुधारको प्रतिबद्धता कबुलियतनामा सहित नियुक्ति गर्नुहोस । नाम मात्रको अनुगमन सयन्त्र होइन सहयोगी,सञ्चालित काममा सहजीकरण गर्ने,काममा आईपर्ने बाधा फुकाउने र माथिल्लो निकायमा प्रतिबेदन गर्ने वास्तविक अधिकार सम्पन्न अनुगमन सयन्त्र स्थापना गर्नुहोस ।
१५) तपाईका आदर्श वाक्य र साहित्यका रचना जस्ता देखिने वा,तर,र,माथी,तोकिए बमोजिम,प्रतिबन्धात्मक वाक्यांश जस्ता जुनसुकै अर्थ लाग्न सक्ने महाभारत जस्ता कानुन,नीति,नियमलाई छोटो,सरल सबै नेपालीले बुज्ने भाषामा तयार गर्नुहोस् । सिधा सिधा बोल्ने कानुन निर्माण गरि कानुनका नौ सिङ हुन्छ्न भन्ने भनाईलाई गलत सावित गर्नुहोस् ।
१६) तपाईंको बोली नबुझिएपनि व्यवहारमा उदाहरण लायक काम गर्नुहोस् । यसबाट तपाईंको बोली बुझिएन भन्नेहरु चुप लाग्ने छ्न । तपाईंलाई प्रजातान्त्र प्राप्तिको लागि निरङ्कुश शासकले जिब्रोमा करेन्ट लागाएकोले बोली नबुझिएको रहेछ भन्ने बुझनेछ्न ।
१७) फुलमाला,अबिर,दोशल्ला र सम्मानमा समय नबिताउनुस ।

प्रधानमन्त्री ज्यु तपाईं सँग एकदमै छोटो समय छ । ३० दिनभित्र तपाईंले के गर्न सक्नुहुन्छ गर्नुहोस् । भारतीय नायक फिल्म हेर्नू भएको होला नि । एक दिन नायक मुख्यमन्त्री हुन्छ । २४ घन्टामा उसले गरेको कामले उ त्यहाँको नेतुत्वमा स्थापित हुन्छ । तपाईंलाई यही फिल्म जस्तो रुपान्तरण गर्ने समय मात्र छ । सम्भव छ वा असम्भव तपाईं जान्नु होला । कुरा यत्तिमात्र के हो भने ४–४ पटक प्रधानमन्त्री हुँदा समेत आफ्नो उच्च छवि बनाउन नसक्नु भएका ७५ बर्षिय तपाईं एक पटक देश र जनताको वास्तविक नायक बन्ने यो अबसरबाट पछि हटनु हुने छैन म विश्वासमा छु । हुन त यो मेरो मामुली सुझाव हेर्ने र बुझ्ने तपाईंलाई समय नहुनेमा म ढुक्क छु । तपाईंको नजरम नपुग्नेमा पनि ढुक्क छु । बाँकी तपाईलाई ३१औ दिनमा सझुाव लेख्ने छु ।

  टोपबहादुर वुढा
सामाजिक बिकास अधिकृत
सामाजिक बिकास कार्यलय,जुम्ला

Next Post

चन्दननाथ नगरपालिकाका विपन्न बालबालिकालाई राहत

३० असार २०७८, बुधबार २१:११
जुम्लाको चन्दननाथ नगरपालिका भित्रका १ सय ६९ विपन्न बालबालिकालाई राहत उपलब्ध गरिएको छ । अनाथ,असाहय र विपन्न बालबालिकालाई राहत दिएको चन्दननाथ नगरापालिकाले जनाएको छ । बालबालिकालाई राहत वितरण कार्य यही असार २४ गते देखि प्रारम्भ भएको थियो । नगर उपप्रमुख तथा राहत समितिका संयोजक अप्सरादेवी न्यौपानेले विपन्न बालबालिकालाई राहत प्रदान […]