जुम्लामा लापरबाहीले कोरोना नियन्त्रणबाहिर

  ।   ९ श्रावण २०७८, शनिबार १०:३७

जुम्लामा लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको छ । कोरोना नियन्त्रण बाहिर रहेको देखिएको हो । स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन ।
शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पिसिआर परीक्षण गरिएकोमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ । वैशाख पहिलो साता देखि हाल सम्म जुम्लामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या १ हजार १७६ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार साउन ८ गते सम्म संक्रमण मुक्त हुनेको संख्या ९५१ छ ।
अहिले पनि जुम्लामा २२५ जना सक्रिय संक्रमित छन । संक्रमणका कारण जिल्लाका ५ ज्येष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाहिरका कर्णाली अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचाररत छन् । कोभिड–१९ संक्रमण कम भएको भन्दै सरकारले देशभर निषेधाज्ञा खुकुलो गर्दै लगेको छ । देशभरसहित जुम्लामा पनि निषेधाज्ञा खुकुलो पार्दै लगिएको छ ।
वैशाख पहिलो सातादेखि जुम्लामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा असार तेस्रो सातादेखि केही खुकुलो पारिएको हो । निषेधाज्ञा खुकुलो बनाएसंगै संक्रमण दर ह्वात्तै बढेको छ । अहिले न गाउँमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएको छ । नत लकडाउन नै कडा पारीएको छ ।
लोकसेवा आयोगलगायत अन्य निकायले परीक्षाको कार्यक्रम सार्वजनिक गरेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गरिने भएको छ । त्यसैगरी दैनिक उपभोग्य वस्तु तथा खाद्य पसलसहित अन्य व्यापार, व्यवसायका पसल दैनिक दिउँसो ४ बजेसम्म खुल्दै आएका छन् ।
जुम्लामा कोभिसिल्डको पहिलो डोज लगाएका ८ हजार ९५८ जना ज्येष्ठ नागरिक दोस्रो डोज लगाउन वञ्चित भएका छन् । पहिलो खोप लगाउने भारतले दोस्रो डोज उपलब्ध नगराएपछि वञ्चित भएका हुन् । कोभिसिल्डको दोस्रो डोजको खोप स्वास्थ्यकर्मी, चालक, कर्मचारीसहित २ हजार ९४८ जनाले मात्रै लगाएको जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए । यस्तै, १ हजार ९९१ जनाले भेरोसिल लगाएका छन् भने दोस्रो भेरोसिल खोप १ हजार ६१६ जनाले लगाएका छन् । अहिले पनि खोप कार्यक्रम चलिरहेकाले पहिलो डोज भेरोसिल लगाउने सबै नागरिकले दोस्रो डोजको खोप पाउने निश्चित भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

अमृत समान आमाको दूधः शिशुको पहिलो खाना

९ श्रावण २०७८, शनिबार १०:३७
गोल्डेन बुढा, शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ । नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ ।पहेँलो दूधले खोप […]

सम्बन्धित