नेपालमा संक्रमणको तेस्रो लहर सुरु

  ।   २१ श्रावण २०७८, बिहीबार १२:५४

जनस्वास्थ्य विज्ञहरूले नेपालमा संक्रमणको तेस्रो लहर सुरु भएको बताएका छन्। दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘संक्रमण बढ्ने क्रममा देखिनु भनेको तेस्रो लहरको सुरुवात हो’, उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार नेपालमा कोरोना संक्रमण तेस्रो लहरको बाटोमा रहेको बताए। ‘तेस्रो लहरउन्मुख तरिकाले संक्रमण भइरहेको छ’, उनले भने। निषेधाज्ञा खुकुलो भएसँगै जनस्तरबाट व्यापक रुपमा जनस्वास्थ्य मापदण्ड उल्लंघन भएकाले संक्रमण पुनः फैलिएको डा. बास्तोलाले बताए।

संंक्रमण रोक्ने एकमात्र उपाय जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै रहेकाले हरेक नागरिकले यसलाई पालना गर्नुपर्ने डा. बास्तोलाको सुझाव छ। ‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने र निस्कनुपरेमा मास्कको प्रयोग, भौतिक दूरी कायम गर्नु रोकथामको मुख्य उपाय हो’, उनले भने।

शंका लागेका व्यक्तिहरूलाई पिसिआर परीक्षण गराउन मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अनुरोध गरेका छन्। अहिले शंका लागेका सबै परीक्षण गराउन नजानुले पनि संक्रमण फैलिरहेको उनले बताए। ‘संक्रमण फैलिन नदिनु हरेक नागरिकको दायित्व हो, सरकारले मात्र संक्रमण रोक्न सक्दैन’, उनले भने।

यस्तै, मुलुकमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जना संक्रमित भएका छन्। १६ हजार २ सय ९८ वटा नमुना परीक्षण गर्दा बुधबार ४ हजार १ सय ७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो संक्रमणदर २६ प्रतिशत हो । मंगलबार ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो। तीन सातादेखि मुलुकमा दैनिक संक्रमित हुनेको संख्या बढ्दो क्रममा छ। जुलाई पहिलो साताको अन्तिम दिन नेपालमा १६ सय ३ जना संक्रमित भएका थिए।

नेपालमा कुल संक्रमित संख्या ७ लाख ६९ हजार ९ सय २२ पुगेको छ। जसमध्ये दोस्रो लहरमा ४ लाख ६९ हजार ३ सय ४९ जना संक्रमित भएका थिए। परीक्षण तथ्यांकअनुसार जुलाई पहिलो साता दैनिक संंक्रमणदर घटेर १८ देखि २० प्रतिशत हाराहारीमा पुगेको थियो। यो संक्रमणदर बढेर बुधबार २६ प्रतिशत पुगेको छ। यो हिसाबले एक महिनाको अवधिमा संक्रमणदर ८ प्रतिशतले बढेको देखिन्छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन उपत्यकामा ९ सय ४ जना संक्रमित भएका थिए। तीन साताअघिको तुलनामा उपत्यकामा दैनिक संक्रमित संख्या तेब्बरले बढेको देखिन्छ। तीन साताअघि उपत्यकामा दैनिक संक्रमित संख्या ४ सय ६१ थियो। एक सातामा नेपालमा कोरोना संक्रमण औसत ३ हजार १ सय ६० जनामा भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

हाल नेपालमा ३५ हजार हाराहारीमा सक्रिय संक्रमित छन्। तीमध्ये ३० हजार २ सय ७० जना होम आइसोलेसनमा, ३ हजार १ सय ९४ जना संस्थागत आइसोलेसन, ७ सय १४ जना आइसियु र १ सय ५७ जना भेन्टिलेटरमा छन्।  एक सातामा ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने थप जिल्लामा बाग्लुङ, नवलपरासी पूर्व, काभ्रे, मकवानपुर र रुपन्देही रहेको मन्त्रालयले जनाएको छ। थपसहित नेपालमा १६ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

मृत्यु हुने संख्या पनि बढ्यो  

कोरोना संक्रमणदर वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ३५ संक्रमितको मृत्यु भएको छ। मंगलबार २४ जनाको मृत्यु भएको थियो । एक साताअघिसम्म मृतक संख्या दैनिक १६ देखि २० जनाभित्र सीमित थियो । थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ। यसमध्ये ६ हजार ६ सय १५ जनाको दोस्रो लहर सुरु भएयता मृत्यु भएको छ।

Next Post

बढ्दो बेइमानी,छैन सावधानी

२१ श्रावण २०७८, बिहीबार १२:५४
गोल्डेन बुढा, अहिले विश्व कोरोना भाइरसबाट आतंकित छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस विश्वभर फैलियो । यो भाइरसका कारण लाखौँले ज्यान गुमाए । नेपालमा हजारौँको ज्यान गयो । इटाली चरम चपेटामा परेको थियो । त्यस्तै युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलियो । नेपालमा पनि […]