लक्ष्मी न्यौपाने,
महिनावारी (छुइ) हुनु न पाप हो, नत अभिसाभ हो । यो त नियमित प्रक्रिया हो । यो फल लाग्नका लागि फुलेको फुल हो । यो न कसैले बनाइदिएको हो । न त कसैले रोकिदिन नै सक्छ । महिला भएर जन्मेपछि नभै नहुने प्रक्रिया हो, छुई(महिनावारी) । यसलाई सुदुरपश्चिम क्षेत्रमा छाउपडी प्रथा भनिन्छ । कर्णालीमा छुई प्रथा ।
तर यहाँ महिनावारी हुनुलाई विभेदको नजरले हेरिन्छ । त्यो समयमा अलग्गै राखिन्छ । न उनीहरुलाई सुरक्षित बस्न दिइन्छ । नत राम्रो र मिठो खाना दिइन्छ । गोठमा गाइबस्तु संगै सुताइन्छ । सुख्खा रोटी दिएर गुजारा चलाइन्छ । यो भन्दा विभेदको उदाहरण अरु के हुन सक्छ ?
पहिलो चोटी छुई भएको समयमा त छोरीको मुल लुकाउने चलन छ । यो समयमा छोरीको मुख हेरे अनर्थ हुने परम्परागत मान्यताले जरागाडेर बसेको छ । पहिले गोठमै लुकाउने चलन थियो । अहिले अलग्गै कोठामा राख्ने गरिन्छ । पहिलो पटकको छुईलाई फुल फुलेको भनिन्छ । पहिलो पटक छुई हुँदा आमाबुवा आफन्तको हेर्न पाइदैन । पहिलो पटक छुई हुँदा छोरीलाई गाह्रो हुने र लाज मानेका कारण लुकेर बसाल्ने गरिएको पाकापुस्ता बताउँछन ।
छुई भएको बेला घरमा बस्दा देवता रिसाउँछन । घरमा अशुभ हुन्छ भन्ने विश्वास अहिले पनि कायमै छ । जब सम्म यो भ्रम हट्दैन तब सम्म कुरीतिको रुपमा रहेको छुई प्रथा निर्मुल गर्न सक्दैन । अहिलेको प्राथमिकता भनेको सबैको मगजमा बसेको छुई हुँदा घरमा बसे अनर्थ हुन्छ भन्ने भ्रमको चिरफार गर्नु नै हो । महिनावारी (छुई) संसारभरि निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । यसो भएपनि यसप्रति बनाइने दृष्टिकोण, मूल्य, मान्यता, बुझाइ र गरिने व्यवहार विभिन्न देश, समाज संस्कृति अनुसार फरक फरक भएको पाइन्छ । छुई हुँदा महिलाको यौनाङ्गबाट करिब ४ दिनसम्म रक्तस्राव हुन्छ । यो प्रक्रिया किशोरावस्था (करिब ११–१५ वर्ष) बाट सुरु भई करिब ४२ वर्षसम्म रोकिन्छ । यसरी रक्तश्राव हुनुलाई रजस्वला हुनु भनिन्छ ।
महिनावारी १ महिनामा १ पटक गरेर १ बर्षमा करिब १३ पटक हुन्छ । एकजना महिला आफ्नो जीवनकालको करिव ३० वर्ष अवधिसम्म छाउ हुन्छिन् । यो समय महिलाको सबैभन्दा सक्रिय जीवन अवधि पनि हो । महिलाले मासिक धर्म करिब ७ दिनसम्म बेहार्नुपर्छ । तीस वर्षको अवधिमा एक जना महिला करिब ३ सय ९० पटक महिनावारी हुन्छिन् । यसरी महिनावारी हुँदा एक महिलाले २ हजार ७ सय ३० दिन वा झण्डै आठ वर्ष आफ्नो जीवनकालमा छुई हुन्छिन । प्राचीनकालदेखि नै चलिआएको छुई अझै पनि ज्वलन्त छ ।
प्रायः हिन्दु धर्मका धेरै समुदायहरूमा छुई प्रथा मान्ने गरिन्छ । तर तिनका सीमाहरूमा भने ब्यापक विभिन्नता पाइन्छ । रजस्वला तथा सुत्केरी भएका बेला छुइछाइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहदै आएको छ । धार्मिक भाषामा छुईलाई मासिक धर्म भनिन्छ । कर्णाली अञ्चल लगायत मुलुकका दुई दर्जन भन्दा बढि ग्रामीण जिल्लाहरुमा यो छुई प्रथाले जरा गाडेर बसेको छ ।
मध्यपश्चिम तथा सुदुरपश्चिममा छाउपडी प्रथा झनै कडा रुपमा देखिन्छ । महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । यो समयमा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहिपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । त्यसलाई छाउगोठ भनिन्छ । कतैकतै त ’छई कुडी’ भनिन्छ । छुई र महिला सुत्केरी भएको बेला उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्गीएर बस्नुपर्ने परम्परा हो ।
सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने हुन्छ । छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ । सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी समेत रजस्वला हुँदा घरका गाई, भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई, भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ ।
जुम्लामा हरेक स्थानीय तहमा छुईगोठ मुक्त अभियान चलाइएको छ । त्यो अभियान न प्रभावकारी बनेको छ । नत यो अभियानले गोठ देखि घर सम्म ल्याउन सकेको छ । छुइ प्रथाको नाममा करोडौँ रकम खर्च हुन्छ । यहाँ सरकारी तथा गैरसरकारी निकायले छुईप्रथा विरुद्धको अभियानमा बजेट खर्च गर्छन । उपलब्धि शुन्य देखिन्छ ।
पछिल्लो समयमा सुत्केरीलाई घरभित्र राख्ने गरिएको त छ । आवश्यक पर्ने पोषिलो खाना खुवाउने चलन छैन । छुई भएको समयमा रगत बगेर स्वास्थ्य निकै कमजोर भइसक्छ । यो बेला पोषिलो खाना खानु पर्ने हो । बढि भन्दा बढि आराम गर्नु पर्ने हो । सरसफाईलाई बढि जोड दिनु पर्ने हो । घरायसी काम कम गर्नु पर्ने हो । यो समयमा यहाँका महिलाले झन ठुलो भारी बोक्छ । जसले गर्दा यहाँका महिलाले पाठ्यघरको क्यान्सरको सामानमा गरिराख्नु परिरहेको छ । कतिले त छाउगोठमै बलात्कृत हुनु परेको छ । किरा, फटयांग्रा र सर्पको टोकाइबाट मृत्युबरण गर्नु परेको छ ।
यो कठिन परिस्थितीमा सबै मिलेर बर्षौ देखि जरा गाडेर बसेको छुई प्रथा प्रथा निर्मुल गर्न जुटौँ । हरेक बस्ती छुईगोठ मुक्त बनाउने अभियानमा अग्रसर हौ । अनि मात्र छुइप्रथाका नाममा महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य भएको ठहरीनेछ ।