जुम्लाबासीको आम्दानीको स्रोत जडिबुटी

  ।   २४ भाद्र २०७८, बिहीबार १०:२३

पाटनमा क्षेत्रमा पाइने जडिबुटी जुम्लाबासीको राम्रो आम्दानीको स्रोत बनेको छ । कोभिड संक्रमणको त्रास फैलिइरहेको बेला यहाँका नागरिकले पाटनमै बसेर जडिबुटी संकलन गरेका हुन । कोभिडका कारण जताततै निषेधाज्ञा भएपछि आयस्रोत गर्न उपाय भएन,‘स्थानीय पदमबहादुर बुढाले भने एक मात्र विकल्प जडिबुटी बन्यो । संकलन गरेर जडिबुटी बेचेर घरखर्च जुट्यो । ’
गाउँ,सहरमा निषेधाज्ञा भएपनि अधिकांस जुम्लाबासीको बास नै पाटन क्षेत्र बन्यो । जटिबुटी संकलन प्रशोधन र बजारीकरणमै बित्यो । फलस्वरुप कोरोना संन्त्रासका कारण हुन सक्ने भोकमरी टार्न यो कार्यले निकै ठुलो राहत दियो । पदमले भने,‘पहिले जलजंगल र जमिनको धनि भनेर गफमा भन्थ्यौँ, जडिबुटीको वास्तविक महत्व यो बेला बुझियो । कोरोनाले रोजीरोटी खोसेको बेला जटिबुढीले हातमुख जोड्न साथ दियो । यहाँको जडिबुटी प्रति गर्व गर्ने मन लाग्छ । ’
यहाँका स्थानीय पछिल्लो समयमा जटिबुटी संकलन संगसंगै संरक्षणमा पनि जोड दिन थालेका छन । डिभिजन बन कार्यालय जुम्ला कोरोना महामारी बीचमा २० टन जडिबुटी निर्यात भएको बताउँछ ।
जडिबुटीको प्रचुर सम्भावना रहेको जुम्लाबाट २० टन जडिबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा जुम्लाका ८ स्थानीय तहमा संकलन भएको २० टन भन्दा बढी जडिबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो । डिभिजन वन कार्यालका सूचना अधिकारी खड्कबहादुर महत यहाँ पाइने जडिबुटी संकटमा गुजारा बन्ने गरेको बताउँछन । उनले भने,‘जब जब संकट आइपर्छ, तब यहाँको जटिबुटीले महत्व पाउँछ । यहाँ नागरिकको पीडाको घाउमा मलहम लगाउँछ । ’
एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडिबुटी पाइन्छ । विशेषगरी गुठिचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडिबुडी संकलन हो । यहाँका पाटनमा जिल्ला भरीका नागरिक नै जाने गर्छन । कोरोना कहरका बीचपनि जटिबुटी संकलनबाट राम्रो कमाई गरेको स्थानीय बताउँछन ।
डिभिजन वन कार्यालय जुम्लाको तथ्यांकअनुसार कोरोना महामारीकै बीचमा विभिन्न २० प्ररकारका २० टन २ सय क्विन्टल जडिबुटी संकलन तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी धुपी साढे २ टन निर्यात भएको हो । त्यसैगरी सेतक चिनी साढे २ टन, चिराइतो ९ क्विन्टल, तितेपाती साढे २ टन, सुनपाती ३ टन, पाखनबेद साढे २ टन, सुगन्धवाला (सुमायो) १ टन ५ क्विन्टल निर्यात भएको सुचना अधिकारी महत बताउँछन ।
जुम्लाका ७३ जना व्यापारीले यो पटक जडिबुटी निर्यात गरेका हुन । डिभिजन वन कार्यालयका अनुसार ४० लाख राजस्व संकलन भएकोे छ । जसमा जडिबुटी संकलन बापत २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरण बापत १० लाख ७६ हजार राजस्व संकलन भएको छ ।
यार्सागुम्बाबाट १२ लाख ३० हजार रुपैयाँ, सेतकचिनीबाट ४ लाख २० हजार रुपैयाँ, विषजराबाट १ लाख ४१ हजार रुपैयाँ, धुपीबाट ७० हजार रुपैयाँ राजस्व संकलन भएको सुचना अधिकारी महतले जानकारी दिए ।
कालादानाबाट ५५ हजार ३ सय रुपैयाँ, रातो च्याउबाट ५५ हजार रुपैयाँ, पाखनबेदबाट १ लाख ८६ हजार रुपैयाँ, वन लसुनबाट २० हजार ५ सय रुपैयाँ पदमचालबाट १७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो । जुम्ला जडिबुढीको राम्रो संभावना भएको जिल्ला भएको जडिबुटीको संरक्षण र प्रर्बद्धनमा जोड दिन आग्रह गरिएको थियो । नपाक्दै जडिबुटी नकोर्न र कानुनी व्यवस्थाप अनुसार जटिबुटी संकलन तथा बजारीकरण गर्न स्थानीयलाई पटकपटक जानकारी दिएको हो । यहाँका केही किसानले आफ्नै खेतबारीमा व्यवसायीक रुपमा जडिबुटी खेतिगर्न थालेका छन ।

Next Post

कोरोना मैदानको एप्रोनधारी कमाण्डर डा. सुनिल

२४ भाद्र २०७८, बिहीबार १०:२३
२०७७ बैशाख ४ गते मुगु जिल्लाको खत्याड गाउँपालिकाको खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो । यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केश थियो । पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो । स्थिती भयाभह बन्यो । पहिलो पटक आरडिटी परिक्षणमै कोरोना पोजेटिभ देखिँदा कर्णालीमा कोरोना संक्रमणले प्रवेश पायो […]