कोरोना मैदानको एप्रोनधारी कमाण्डर डा. सुनिल

  ।   २४ भाद्र २०७८, बिहीबार १०:२८

२०७७ बैशाख ४ गते मुगु जिल्लाको खत्याड गाउँपालिकाको खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो । यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केश थियो । पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो । स्थिती भयाभह बन्यो । पहिलो पटक आरडिटी परिक्षणमै कोरोना पोजेटिभ देखिँदा कर्णालीमा कोरोना संक्रमणले प्रवेश पायो । कर्णाली कोरोनाको हटस्पट बन्न सक्ने देखियो । उतिबेला कामका शिलशिलामा कालापहाड जाने कर्णालबासी फर्कने क्रम जारी थियो । भारत हुदैँ आएका नागरिकमा कोरोना संक्रमण फैलन सक्ने तीब्र खतरा बढ्यो ।
खत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकको टोली खटायो । त्यो टोलीको नेतृत्वमा थिए,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विभाग प्रमुख सुनिल बुढाथोकी । उनी यसअघि कोरोनाबारे जानकारी दिने कर्णाली प्रतिष्ठानका सुचना अधिकारीका रुपमा तोकिएका थिए ।
डा. बुढाथोकीका लागि आफ्नो टोलीलाई सुरक्षित बनाउदै सिंगो नागरिक सुरक्षित बनाउने चुनौति थियो । नयाँ रोग, नयाँ भुगोल र नयाँ अनुभुति सहित डा. बुढाथोकीले टोली खत्याड पुर्याए । पहिलो पटक पोजेटिभ देखिएकोले मनमा त्रास थियो । तर स्वास्थ्य सुरक्षाका हरेक क्रियाकलापका बारेमा जानकार भएकोले खासै समस्या थिएन । उनले भने,‘कोरोना पनि एक प्रकारको लडाइँ बन्यो । मानवको अस्तित्व संकट पार्ने गरि सिर्जना भएको कोरोनाको रोकथाम तथा नियन्त्रण कम चुनौति थिएन । तर स्वास्थ्यकर्मीको सक्रियता,नागरिकको जागरुकता र सरकारको जिम्मेवारीताका कारण खत्याडमा संक्रमणदर बढेन । ’
डा. बुढाथोकीको टोली बैशाख ५५ गते नै खत्याड तिर प्रस्थान गर्यो । जतिसक्दो आरडिटी परिक्षण गर्ने, कोरोना सचेतना फैलाउने र बिरामीको रेखदेख र उपचार गर्ने त्यो टोलीको जिम्मेवारी थियो । टोलीले रातापानी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन बनाएर संक्रमितलाई राख्यो । लक्षण अनुसारको औषधि प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भन्यो । १४ दिनको आइसोलेन बसाइपछि संक्रमितको रिर्पोट कोरोना नेगेटिभ आयो । बिस्तारै गाउँबस्तीमा खुसीयाली छाउन थाल्यो ।
खत्याड गाउँपालिकाका सबै वडामा टोली पुग्यो । आरडिटी परिक्षण गर्न थाल्यो । त्यो समयमा स्थानीयमा निकै त्रास थियो । कोरोना पोजेटिभलाई गर्ने व्यवहार निकै फरक थियो । कोरोना के होँ ? कोरोनाको पहिलो चरण के हो भन्ने बिषयमा अन्यौल थियो । जुम्ला देखि हिडेको चिकित्सकको टोली देखेर बाटोमा स्थानीय आत्तिन्थे ।
डा. बुढाथोकीले भने,‘कोरोनाको पहिलो संक्रमित भएको क्षेत्रमा खटिएर काम गर्न पाउँदा निकै उत्साहित थियौँ । जनता आत्तिएका थिए । हरेक बस्तीमा त्रास फैलिएको थियो । ’टोलीले संक्रमितको पिसिआर गर्यो । रिर्पोट नेगेटिभ आयो । गाउँमा पोजेटिभ देखिदा फैलिएको त्रास कम भयो ।’ झण्डै ७ सय जनाको आरडिटी तथा पिसिआर गरिएको थियो ।
जनतालाई स्वास्थ्य शिक्षा, बिरामीको जाँच तथा उपचार र स्वास्थ्य परामर्शमा टोली केन्द्रीत भयो । आफु पनि सुरक्षित हुने र नागरिकलाई पनि सुरक्षित बनाउने कार्यमा जुट्यो । चिकित्सकको टोली १३ दिन खत्याडमै बसेर फर्कियो । आरडिटी नगर्दा त्रास थियो । कोरोनाले गर्दा ज्यान खतरामा रहेको अनुभुति हुन्थ्यो । तर चिकित्सको टोली पुगेपछि स्थानीयले शान्तिको सास फेरे । औषधि बोकेर टोली गएकोले खासै समस्या थिएन ।
यो रोग नयाँ भएकोले मृत्युदर बढ्ने र संक्रमण भयाभह हुने निश्चित थियो । औषधि उपचार र उच्च सतकर्ता अपनाउन थालिएको थियो । खत्याडमा पुगेर टोली जुन हिसावले प्रस्तुत भयो । त्यही हिसावको हार्दिकता स्थानीयले देखाए । संकट भित्रको खत्याड बसाइ निकै आनन्ददायी र उपलब्धिपुर्ण बन्यो । डा. बुढाथोकीले भने,‘कोरोना मैदानको सेता एप्रोनधारी लडाकु भएर प्रस्तुत भएर जनताको स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु । सजिलोमा सबैले साथ दिन्छन तर संकटमा साथ दिनुको मज्जा अर्केरहेछ । ’
डा. बुढाथोकी संगै डा. विशाल पोखरेल,डा. कपिल गुरागाइँ,निशान्त लामा,विष्णुदत्त आचार्य र नवराज खड्का खटिएका थिए । मुगुको खत्याडबाट फकिएको टोली १० दिन क्वारेन्टिनमा बस्यो । खत्याडबाट फर्कन लागेको बेला डा. बुढाथोकीको टीमलाई चौतर्फी स्वागत तथा सम्मान गरिएको थियो ।
त्यो लगत्तै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जिल्लाका हरेक पालिकामा चिकित्सक खटाउने निर्णय गर्यो । डा. बुढाथोकी तातोपानी गाउँपालिकामा खटिए । क्वारेन्टिन व्यवस्थापन, पिसिआर तथा आरडिटी परिक्षण र आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने जिम्मेवारी थियो । उनी संगै फार्मेसिस्ट सुक्ष्मा काफ्ले थिइन । तीन हप्ता तातोपानीमा खटिएका उनले हरेक बस्तीमा पुगे । गाउँबस्तीमा कोरोना संक्रमण विरुद्धको कार्यक्रम गर्न थाले । सचेतना फैलाउन थाले । उनले भने,‘जब सम्म नागरिक सचेत हुदैनन । तब सम्म कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासले मुर्त रुप पाउदैनन । त्यही भएर पहिलो जोड नै सचेतना बन्यो । ’
संक्रमित बसेको क्वारेन्टिनमा प्रवेश गर्न निकै कठिन थियो । बाहिरैबाट खाना पोका पारेर फाल्ने गरिन्थ्यो । जब चिकित्सकको टोली भित्र जान थाल्यो अनि क्वारेन्टिनमा प्रवेश गर्न थालियो । पछिल्लो समयमा नजिकै गएर खाना पानी छोड्न थालियो । जसले संक्रमितको मनोबल बढ्यो । उनले भने,‘चिकित्सकको टोली एप्रोन लगाएर आइसोलेसनमा प्रवेश गर्ने वित्तिकै संक्रमित निकै उत्साहित हुन्थे । कोरोना संक्रमणको अवस्था र उपचार प्रक्रियाका बारेमा चासो राख्थे । ’
दोस्रो लहरमा जुम्लामा संक्रमितको संख्या बढ्न थाल्यो । सबैलाई अस्पतालमा ल्याएर राख्न नसकिने अवस्था रह्यो । बिरामीको प्रकृति अनुुसार निगरानी गर्नुपर्ने भयो । हरेक पालिकामा कोभिड अस्पताल बने । सामान्य लक्षण देखिएका, लक्षण नदेखिएर संक्रमित भएकालाई पालिकामै निगरानी गर्ने भन्ने परिपत्र भयो ।
डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए । उनी एक महिना बसे । गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले । उनी कोरोनाकालमा निकै जोखिमपुर्ण ठाउँमा खटिए । उनले त्यही ठाउँबाट नै औधि माया पाए । अहिले उनी पुगेको हरेक बस्तीमा उनकै चर्चा हुन्छ । स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन । स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएको समस्या राख्छन ।
डा. बुढाथोकीले भने,‘कोरोनाले मानिसमानिस बीचको भौतिक दुरी मात्र बढाएन । एक मानवले अर्को मानवलाई गर्ने सहयोगका बारेमा समेत राम्रो पाठ सिकायो । स्वास्थ्य शिक्षा दिलायो । मानवीय स्वास्थ्य प्रति संवेदनशिल हुन प्रेरित गर्यो । ’पछिल्लो समयमा कोरोना भाइरसको रुपमा परिवर्तन भइरहेकोले सचेत रहन आग्रह गरिएको छ । सामाजिक दुरी कायम नगर्नु, मास्कको प्रयोग नहुँनु र कोरोनालाई खेलाँची सम्झनु अहिलेको सबैभन्दा ठुलो चुनौति हो । बिगत तीन बर्ष देखि डा. बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिदै आएका छन । दुर्गममा स्वास्थ्य सेवा र शिक्षा दिन असजिलो छ । उनले भने,‘स्थानीय साधनस्रोतको भरपुर प्रयोगले कार्यसम्पादनमा सहजता पैदा गर्न सकिन्छ । ’ डा. बुढाथोकीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्र अघि बढ्नको लागि आग्रह गरे ।

Next Post

एमसिसी उपाध्यक्ष काठमाडौं आइपुगिन्

२४ भाद्र २०७८, बिहीबार १०:२८
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ। उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन्। नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन्। सुमारले बिहीबार नै प्रधानमन्त्री […]

सम्बन्धित