स्वास्थ्य शिक्षाको हब बन्दै जुम्ला

  ।   २५ भाद्र २०७८, शुक्रबार २०:११

दशक अघि सम्म कर्णालीमा डक्टर पाउन मुस्किल थियो । सामान्य चोटपटक लागेपनि रेफर गर्नु पर्ने बाध्यता थियो । जुम्लामा कर्णाली अञ्चल अस्पताल थियो । दरबन्दी मेडिकल अधिकृतको हुन्थ्यो । तर मेडिकल अधिकृत जुम्ला बस्दैनथ्ये । एचए स्टाफनर्सको भरमा कर्णालीको सिंगो स्वास्थ्य क्षेत्र चलेको थियो । दुर्गम भएका कारण यहाँ सरुवा भएर आउने डक्टर काजमा सुविधा सम्पन्न ठाउँमा बसेर तलब पचाउँथे । कर्णालीबासीको स्वास्थ्योपचारका लागि आउने डक्टर सजाय गरेर पठाएको अनुभति गर्थे । समग्रमा कर्णालीको स्वास्थ्य अवस्था भद्रगोल थियो ।
न कर्णालीबासीले राम्रो उपचार सेवा पाउँथे । न औषधि उपचार र स्वास्थ्य शिक्षा नै । कर्णाली अस्पतालमा कार्यरत नन्द तिमलसेनाले भने,‘मृतकको पोष्र्टमाटम गर्न पनि सकिदैनथ्यो । अधिकांस समय डक्टर बिहिन बन्थ्यो । ’ गाउँका स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा चल्थे ।
तर अहिले कर्णाली डक्टर उत्पादन गर्ने उद्योग जस्तै बनेको छ । २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि कर्णालीमा डक्टर अभाव टरेको हो । अहिले प्रतिष्ठानमा एमबीबीएस सहित ९० जना डक्टर छन । कर्णालीबासीले चिकित्सक रोजेर उपचार सेवा लिन्छन । स्थानीय जगतबहादुर खत्रीले भने,‘पहिले गुणस्तरीय स्वास्थ्थ सेवा पाउन नसकेको कर्णालीले अहिले डक्टर उत्पादन गरेर दुर्गम क्षेत्रमा परिचालन गर्न सक्षम छ । यो दुर्गम मानिएको कर्णालीको सबैभन्दा ठुलो उपलब्धि हो । ’
कर्णाली प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा कार्य गरिरहेकोछ । कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा कर्णाली सुहाउँदो डक्टरी पढाई चलिरहेको बताउँछन ।
उनले भने,‘कर्णालीमा स्वास्थ्य क्षेत्रमा क्रान्ति नै आएको छ । स्वास्थ्यका हिसावले निकै सुगम छ । यहाँ डक्टर उत्पादन गरेर दुर्गम क्षेत्रमा पठाउँछ । अब कर्णालीमा डक्टर अभावका कारण बिरामीले अकालमा मृत्यु पर्खनु पर्दैन । ’ २०७१ देखि कर्णालीमा स्टाफनर्स पढाइ शुरु भएको थियो । अहिले ६ ब्याजी निस्किसकेका छन । तीन बर्षे स्टाफनर्स सकाएर अधिकांस विद्यार्थीले स्वास्थ्य सेवा दिन थालेका छन । यहाँ उत्पादित अधिकांस जनशक्ति रोजगारी भइसकेका छन । पहिलो दुई बर्ष ३० जनाको कोटा थियो । २०७४ देखि ४० जना पढ्न पाउने गरि सञ्चालन भएको थियो ।
२०७३ साल देखि एचएको पठनपाठन भयो । अहिले पाँच व्याज निस्किसकेको छ । अधिकांस जागिरे छन । एचएमा जम्मा ४० सिट पढाइ हुन्छ । एचए र स्टाफनर्स पठनपाठनले कर्णालीमा निकै खुसियाली छायो । बर्षौ देखि स्वास्थ्यकर्मी अभाव झेलिरहेको कर्णालीले कर्णालीमै स्वास्थ्यकर्मी उत्पादन गर्ने अवसर प्राप्त गर्यो । अहिले यहाँका स्वास्थ्यसंस्थामा कर्णालीमै उत्पादित जनशक्ति छ ।
२०७५ साल देखि स्वास्थ्य क्षेत्रमा स्नातक कार्यक्रम शुरु भयो । स्नातकस्तरमा विपिएच र विएमएस पठनपाठन भयो । विपिएच २० सीट, विएमएस १० सीट पढाइ हुन थाल्यो । पहिलो पटक स्नातक पठनपाठनले कर्णालीमा निकै राम्रो प्रभाव पार्यो । शिक्षाध्यक्ष डा. थापाले भने,‘यो संगै स्वास्थ्य क्षेत्रमा कर्णालीले स्वर्णिम युगमा प्रवेश गरेको अनुभुति दिलायो । यो कर्णाली क्षेत्रको आर्थिक,सामाजिक रुपान्तरणको कोसेढुंगा सावित बन्यो ।’
यसैगरी कर्णाली प्रतिष्ठानले २०७६ सालमा डिप्लोमा फार्मेसी जाजरकोट जिल्लामा शुरु गरर्यो । यो तीन बर्षे कोर्ष थियो । २०७७ देखि एमडीएमएस पठनपाठन शुरु भयो । यो संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातकोत्तर तहको पढाइ शुरु भयो । एमडीएमएस अन्र्तगत  एक सीट एनएसथेसिया, १ वटा पेडाटिक्स र  जिपी इमरजेन्सी मेडिसिन तीनवटा सीट गरेर पाँच सीट प्राप्त भयो । अहिले पठनपाठन भइरहेकोछ ।

२०७८ देखि जुम्लामा एमबीबीएस पढाइ शुरु भएको छ । जसका लागि प्रवेश परिक्षा भइसकेको छ । अबको दइ तीन हप्तामा पढाइ शुरु हुने शिक्षाध्यक्ष थापा बताउँछन । वि फार्मेसी २० सीट र विनर्सिङ २० सीट पठनपाठन शुरु हुन थालेको हो । विफार्मेसी ४ बर्षे र एमबीबीएस साढे ५ बर्षे कोर्ष हो । बिएमएस तीन बर्षे कोर्ष हो ।
यो संगै कर्णाली स्वास्थ्य शिक्षाको हब हो । देशैभरीबाट कर्णालीमा डक्टरी पढ्न आउँछन । कर्णाली दुर्गम, रोग,भोक,अशिक्षा,औसत आयु कम भएको र बेरोजगारको प्रायय थियो । तर अहिले डक्टर उत्पादन गरेर देशैभरी स्वास्थ्य सेवा दिने एक सेवक बनेको छ । पिछडिएको,जनजाति,दलित,मधेशी र महिला गरेर २ सय ६९ जनाले आरक्षित कोटामा स्वास्थ्य शिक्षा हासिल गरिसकेका छन ।
पहिले सुविधा सम्पन्न सुगम मानिएका प्रतिष्ठानबाट डक्टर उत्पादन हुन्थ्ये । सहरका नीजि सरकारी कलेजबाट उत्पादन भए । कर्णालीमा आउन मानेनन् । कर्णालीमा सदाझै स्वास्थ्यकर्मी तथा डक्टर अभाव कायमै रह्यो । उनीहरुले दुर्गममा गएर काम गरेनन । शिक्षाध्यक्ष डा. थापाले थपे,‘सहर र गाउँको अनुपात ८०–२० थियो । ८० प्रतिशत डक्टर २० प्रतिशत जनघनत्व भएको सहरमा बस्थे । २० प्रतिशत डक्टरले ८० प्रतिशत जनघनत्वमा काम गर्नु पर्ने अवस्था थियो । अब कर्णालीमा उत्पादन हुने डक्टर गाउँमा केन्द्रीत हुनेछन । किन भने उनीहरु कर्णाली जस्तो दुर्गम क्षेत्रमा यहाँको सुखदुखको प्रत्यक्षदर्शी भएर अध्ययन गरिरहेका छन । ’समाजको उत्तरदायी डक्टर कर्णालीले उत्पादन गर्न थालेको उनी बताउँछन ।
सहर बसेर पढेको डक्टर गाउँमा पुगेनन । विदेश पलायन भए । सहरकेन्द्रीत भए । त्यसको प्रत्यक्ष मार कर्णालीलाई परेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले कर्णालीमा स्वास्थ्य पर्यटनको संभावना पनि बढेको छ । कर्णाली पर्यटनका हिसावले निकै महत्वपुर्ण ठाउँ हो । डोल्पा,मुगु र खप्तडको रुट पनि हो जुम्ला । प्राध्यापक डा. सुनिल बुढाथोकीले भने,‘कर्णाली अस्पतालाई रेफरल अस्पतालका रुपमा विकास गर्न सकिन्छ । मानसरोवर जानको लागि पनि जुम्लालाई लिंक गर्न सकिन्छ । ’
अहिले कर्णालीको रारा र जुम्ला घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । यहाँ पढेका ९० प्रतिशत विद्यार्थीले काउन्सीलको लाइसेन्स परिक्षा उर्तिण गरेका छन । बाहिरबाट पनि राम्रै प्रतिक्रिया आएको छ ।
शिक्षाध्यक्ष डा. थापाले चिकित्सा शिक्षा आयोगले प्रतिष्ठान संगको सहकार्यमा यहाँ उत्पादित जनशक्तिलाई पिछडिएको क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने बताए । शुरुमा तत्कालिन कर्णालीको ५ जिल्ला जुम्ला,हुम्ला,कालिकोट,मुगु र डोल्पा, सुदुरपश्चिमको बझाङ,बाजुरा र अछाम,भेरीको जाजरकोट गरेर ९ जिल्लालाई कार्यक्षेत्र तोकिएको थियो । संघीयता कार्यन्वयन संगै सुर्खेत,दैलेख, सल्यान र रुकुम पनि कर्णाली प्रतिष्ठानको कार्यक्षेत्र भित्रका जिल्ला पर्दछन ।
यहाँ ओषधि जन्य बस्तुको आपुर्ति व्यवस्थापन गर्न गाह्रोछ । बिजुलीको नियमितता छैन । इन्टरनेटको समस्या छ । कर्णालीका अन्तरजिल्ला जोड्ने सडक स्तरउन्नती हुन सकेको खण्डमा कर्णाली स्वास्थ्य सेवाका हिसावले निकै प्रभावकारी मानिनेछ । ’ कर्णालीमा कार्यरत डा. को छोराछोरी पढ्ने राम्रो स्कुल,न्यानो आतिथ्यता र व्यवस्थित क्वाटरको प्रवन्ध हुनु पर्नेमा जोडदिएकोछ । शिक्षाध्यक्ष डा. थापाले कर्णालीकै विशेषता अनुकुलको शैक्षिक कार्यक्रम तथा तालिम, दुर्गम लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आधारभुत स्वास्थ्य सेवालाई अघि बढाउने लक्ष्य रहेकोमा जोड दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल स्वास्थ्य शिक्षाका क्षेत्रमा कर्णालीतीर आकर्षण बढिरहेको बताउँछन । उनले भने,‘यहाँ उत्पादित यसअघिको जनशक्ति पनि अब्बल नै निस्क्यो । आगामी दिनमा पनि यहाँको उत्पादन अब्बल र सफल हुने देखिएकोले आकर्षण बढेको छ । ’ हरेक पहिलो ब्याज विशेष हुन्छ । पहिलो ब्याज कस्तो निस्कन्छन, त्यसले मात्र यहाँको शिक्षा क्षेत्रको रेखा कोर्ने भएकोले सबैको आकर्षणको थलो कर्णाली बनेको छ ।
उनले आठनौ बर्ष देखिको निरन्तर प्रयासका बाबजुद कर्णालीमा डक्टरी पढाइ हुन थालेकोले सिंगो देशको नजर कर्णाली तिर सोझिएको बताए । उनले भने,‘देशको कुनै पनि कुनामा गएरपनि काम गर्न सक्ने सक्षम चिकित्सक कर्णालीले उत्पादन गर्छ । नेपाल भरीको उत्पादनमा कर्णालीको उत्पादन नमुना हुनेछ । अरु प्रतिष्ठान भन्दा यहाँको पठनपाठन अलि फरक छ । गुणस्तरीय हुने गरी तीब्र तयारी भएको छ । ’
कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा संगसंगै अघि बढ्न थालेपछि कर्णालीबासी निकै उत्साहित छन । यहाँका स्वास्थ्य संस्थामा पटक पटक विशेषज्ञ चिकित्सक गएर उपचार सेवा दिन्छन । स्वास्थयकर्मी संग फोनमा रहेर पनि स्वास्थ्य परामर्श दिन थालिएको छ ।
स्वास्थ्य शिक्षा आर्जन गर्न सबैको नजर कर्णालीतीर सोझिएको छ ।

Next Post

जुम्लामा नेकपा एकीकृत समाजवादीको बृहत शक्ति प्रदर्शन

२५ भाद्र २०७८, शुक्रबार २०:११
नेकपा एकीकृत समाजवादी जिल्ला समिति जुम्लाले जुम्ला सदरमुकाम खलंगामा बृहत जनप्रदर्शन गरेको छ । नेकपा एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीले जुम्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो । अगुवा कार्यकर्ता भेला संगै प्रदर्शन गरेको समाजवादीले जुम्लामा आफु अब्बल रहेको दाबी गरेको छ । नेकपा एमाले भन्दा आफु बलियो भएको […]