जुम्लामा संक्रमण घट्दै,चहलपहल बढ्दै

  ।   ४ आश्विन २०७८, सोमबार १४:२६

कोरोना संक्रमणबाट जुम्ला पनि अछुतो रहेन। कोरोनाको पहिलो लहरमा जुम्ला निकै सुरक्षित थियो। चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएको बेला जुम्लामा उच्च सावधानी अपनाउन थालिएको थियो। गाउँगाउँमा सचेतनाका कार्यक्रम गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने र कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डका पालना गर्न निकै प्रयास भए तैपनि कोरोना संक्रमणबाट जुम्लावासी प्रभावित बने।

कोरोनाको दोस्रो लहरमा जुम्लामा संक्रमति तीव्र बढे। दैनिक दिन संक्रमण फैलिन थाल्यो। संक्रमितको मृत्यु हुन थाल्यो। जुम्लावासी निकै त्रासित बने। यहाँको उद्योग कलकारखाना, व्यापार व्यवसाय, विद्यालय ठप्प भए। स्थानीय प्रशासन कार्यालयबाट निरन्तर निषेधाज्ञा जारी भइरह्यो। जसले यहाँको जीवनशैली नराम्ररी प्रभावित बन्यो।

नागरिक समाजका अध्यक्ष राजबहादुर महत कोरोनाले जुम्लाको हरेक विकास प्रभावित बनाएको बताए। गाउँगाउँमा क्वारेन्टिन बने। हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन बन्यो। कोभिड अस्पताल स्थापना भए। निकै जोखिमपूर्ण तरिकाले जुम्ला अघि बढ्यो।

उनले भने,‘कोरोनाले जुम्ला थिलथिलो बन्यो। गरिबलाई बाँच्न सकस भयो। तर निरन्तर कोभिडविरुद्ध लडिरह्यो।’ अहिले कोरोना संक्रमणदर निकै घटेको छ। संक्रमित निको भएर घर फर्कंने दर बढेको छ। लामो समयको कोरोना संकटपछि जुम्ला पुरानै लयमा फर्कन थालेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँ जुम्ला पुरानै लयमा फर्किएको बताउँछन्। ‘अहिले यहाँको अवस्था सामान्य छ। अहिले दस/पन्ध्र प्रतिशत त कायमै देखिन्छ। तर अस्पतालमा बिरामीको संख्या घटेको छ’, उनले भने,‘गाउँ सुरक्षित देखिएका छन्। बजार अलि जोखिम क्षेत्र मानिँदै आएको छ। स्थिती सामान्य नै छ।’

कोरोना संक्रमणका कारण जुम्लामा १५ जना संक्रमितले ज्यान गुमाए। जुम्ला बाहिरका ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भयो। ‘स्थिती भयावह थियो’, उनले भने,‘अहिले संक्रमण दर पनि घटेको छ। पछिल्लो समयमा संक्रमितको मृत्युदर छैन। अहिले चहल पहल बढ्दै जान थालेको छ। सरकारले स्मार्ट लकडाउन निर्देशिका बनाएर अवस्था सामान्य बनाउँदै लैजान थालेको छ।’

जुम्लामा कुल १ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको हाे। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनाले उपचार गराइरहेका छन्। एक/दुई दिनमा जुम्ला कोरोना संक्रमणको अवस्था शून्य हुने सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँ बताउँछन्।

‘होम आइसोलेसन र आइसोलेसनमा गरेर १ सय २९ जना संक्रमित छन्। उनीहरु एक/दुई दिनभित्र निको भएर घर फर्कंदै छन्। जुम्ला सबैभन्दा कम संक्रमित भएको जिल्लाका रुपमा परिचित हुनेछ’, उनले भने।

संक्रमणदर घटे पनि त्रास कायमै छ। कामको सिजन सुरु भएकोले चहलपहल निकै कम हुने स्थानीय प्रशासनले जनाएको छ। गाउँमा मास्क लगाउन छाडेका छन्। साबुनपानी र सेनिटाइजर प्रयोग गर्दैनन्। दूरी कायम गर्दैनन्। तर गाउँ सुरक्षित छन्। सदरमुकाम खलंगा निकै जोखिम छ।

विद्यालय खुलाउनको लागि गरिएको परीक्षणका क्रममा गाउँमा खासै संक्रमित भेटिएनन्। तर सदरमुकाम आसपासमा संक्रमण बढेको देखियो। उनले भने,‘अब जुन गाउँ बस्तीमा संक्रमण देखिन्छ, त्यहाँ उच्च सावधानी अपनाउने अन्य क्षेत्रमा वातावरण सहज बनाइनेछ।’

गाउँमा स्थापना भएको कोभिड अस्पतालमा पनि संक्रमित छैनन्। अहिले जुम्लामा चहल पहल बढेको छ। विद्यालय खुलेका छन्। एक गाउँदेखि अर्को गाउँसम्मको ओहोरदोहोर बढेको छ। गाउँमा वर्षदिनदेखि राकिएका जात्रा भइरहेका छन्। राजनीतिक क्रियाकलाप बढिरहेका छन्।

कोरोना संक्रमण हुने खतरा भएकोले उच्च सावधानी अपनाउनको लागि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। उनीहरुले नियमित साबुनपानीले हात धुन, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सुझाव दिएका छन्। मुख्य बजार खलंगा र ग्रामिण क्षेत्रमा रहेका सहायक बजार पनि निरन्तर खुलिरहेका छन्।

स्थानीयले दैनिक उपभोग्य सामान सहजै रुपमा लिन पाईरहेका छन्।

Next Post

जुम्लाका किसानलाई भालु भगाएर मकै जोगाउने पिरलो

४ आश्विन २०७८, सोमबार १४:२६
जुम्लाका किसान भालु भगाउनको लागि रातभर जाग्राम बस्न थालेका छन । बारीमा लगाएको मकै बाली बचाउनको लागि रातभर जाग्राम बस्ने गरेका हुन । जिल्लाको तिला गाउँपालिकाका किसान भालु भगाउनको लागि अनेकन उपाय अपनाउने गरेको बताउँछन । तिला ६ रिपी गाउँका नरिमान रावत भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न […]