विश्व मानसिक दिवसमा मानसिक स्वास्थ्यका बारेमा छलफल

  ।   २४ आश्विन २०७८, आईतवार ११:२४

असमानता हटाउन आवश्यक छ सबैको साथ, योगदान सुलभ समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ भन्ने नाराका साथ जुम्लामा विश्व मानसिक दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका बिषयमा छलफल तथा पैरवी गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टुबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आइरहेको छ । दिवसका अवसरमा जुम्लाका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना नगर्नु दुखको कुरा भएको सहभागीहरुले बताएका थिए । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा पाउन सकेका छैनन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा लाखाँै मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ । झण्डै आधा दर्जन भन्दा बढि नेपालीमा कडा खालको मानसिक रोग छ । विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभरि नै यो दिवस मनाउन थालिएको हो ।नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको टिपियो नेपाल जुम्लाका मनोविमर्शकर्ता नन्दराज आचार्यले बताए ।
मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पुन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत उनले बताए ।
हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजरअन्दाज गर्ने परिपाटी समाजमा अझै पनि विद्यमान रहेको उनी बताउँद्धछन । उनले भने,‘जैविक–रासायनिक, सामाजिक एवं मनोवैज्ञानिक कारणले मानसिक समस्या देखापर्ने गर्छ ।’
बदलिँदो समाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागु–पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरता जस्ता कारक तत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ । शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, दातृ निकायको प्राथमिकतामा नपर्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन ।
नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठनपाठन हुन सकिरहेको छैन । तर जुम्लाका केही विद्यालयमा मनोविमर्शकर्ता पुगेर विभिन्न सचेतना गराईने गरिएको छ। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यका तर्फबाट पनि पर्याप्त लगानी हुन सकिरहेको छैन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून छन् । जति पनि जनशक्ति छन, ती पनि शहरकेन्द्रित मात्र छन् । दुरदराज र स्थानीय तहसम्म यसको पहुँच पुग्न सकिरहेको छैन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साइक्याट्रिक्स डाक्टर अनुप देवकोटाले विश्वमा अहिले मानसिक रोग बढ्दै गएको र यसको बेलैमा निराकरण गरी स्वस्थ जीवनका लागि पहल गर्नुपर्नेमा जोड दिए । नेपालमा यस रोगलाई लुकाउने चलन बढेको बताए । आम नेपालीहरुमा मानसिक स्वास्थ्यको समस्या रहेको तर धेरै र थोरैको मात्रा फरक रहेको उनी बताउँछन ।
मानसिक स्वास्थ्यको समस्या दिनप्रतिदिन बढ्दै गएको तर यसलाई न्यूनीकरण र रोकथामका लागि प्रयास कम भएकोले बेलैमा सबै नागरिकहरुलाई सचेत र सजग हुनु पर्ने बताए । उनले मानसिक समस्यालाई मन्द विषको संज्ञा दिदै यसबारे समयमै ध्यान नदिएको खण्डमा यसले भविष्यमा गम्भीर समस्या उत्पन्न गराउने बताए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मानसिक समस्याबाट राज्य पन्छिन खोजेको बताए । जिल्लामा सबै सरोकारवाला निकायहरू संग छलफल गर्नुपर्ने बताए । जिल्लाका प्रत्येक स्थानीय तहहरुमा एक ÷एक वटा मनोविमर्शकर्ता अनिवार्य हुनुपर्ने जनाए । यसमा राज्य उदासीन हुनु राम्रो नभएको टिप्पणी गरे । विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा पत्रकारहरुलाई स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । युनिसेफ नेपालको आर्थिक सहयोग, नेपाल पत्रकर महासंघ जुम्लाको समन्वय तथा टिपियो नेपाल जुम्लाको आयोजनामा दिवस मनाइएको हो ।

Next Post

उमा अधिकारी बनिन् एकदिने गाउँपालिका अध्यक्ष

२४ आश्विन २०७८, आईतवार ११:२४
जुम्ला हिमा गाउँपालिका ६ की २० वर्षीया उमा अधिकारी एकदिने गाउँपालिका अध्यक्ष बनेकी छिन्। बालिका तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्ने अपेक्षासहित उनी एक दिनका लागि अध्यक्ष बनेकी हुन्। गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उमा अधिकारीलाई एक दिनको अध्यक्ष पद हस्तान्तरण गरेका हुन्। गाउँकार्यपालिका सदस्य, […]