बाढीले लुटिएको सपना

  ।   ८ कार्तिक २०७८, सोमबार १९:३१

जुम्ला तिला गाउँपालिका ४ का कर्णबहादुर हमालले जुम्ला जाजरकोट जोड्ने सडक छेउमै घर बनाएका थिए। उनले त्यो टहरामा दैनिक उपभोग्य सामान राखेका थिए। उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।

उनी नजिकैको ओढारमा बसेर गुजारा चलाइरहेका छन्। कर्णले भने, ‘बाढीले खेत खेतै लग्यो। घर घरै बगायो। सुकुम्बासी बनायो। सपना सारा असफल बनायो। पसल बग्यो। खानेपिने अनाज,लत्ताकपडा, भाडाकुडा बगायो। नगद एक लाख ८३ हजार रुपैयाँ बग्यो।’ उनले भने, ‘परिवारको आर्थिक समृद्धिको लागि व्यवसाय जोडेको थिए। त्यही व्यवसाय बाढीले बगायो। अब दैनिक दुइ छाक टार्न समेत धौधौ भइसकेको छ। उनको ६ भारी खेत बाढीले बगाएको छ। एक हल पाखो बारी बाहेक केही छैन, उनले भने,’बाढीले उठिबास बनायो। कालापहाड गएर गुजारा चलाउनुको विकल्प छैन।’

उनले यो दुखमा साथ दिन हारगुहार मागिरहेको उनले बताए। सोही गाउँका रामप्रसाद चौलागाइको पसल बग्यो। पसल भित्र सामान धेरै थियो। पसलबाटै घरको जीविका चलेको थियो। विहान बेलुकीको एक छाक टार्न र एक सरो कपडा फेर्न यो पसलले काम गरिरहेको थियो। त्यही पसल बाढीले बगाउदा निकै समस्या भइरहेको छ। चौलागाइले भने, ‘यो पटकको बाढीले निकै क्षति गर्यो। उठ्न नसक्ने गरेर पछारिदियो। ’

स्थानीय लालबहादुर नेपालीको जनता आवाज कार्यक्रमबाट बनेको घर थियो। त्यही घरमा खुद्रा सामान राखेर बसेका थिए। घर नै बाढीले बगाएपछि घरभित्रको सबै सामान बग्यो। अहिले उनलाई बस्न समस्या भइरहेको छ। उनले भने, ‘घरको नाम निसान छैन। भएका खेतबारी पनि बगे। अहिले सिंगो परिवार समस्यामा छौँ। ’

उनीहरु प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता कैयन स्थानीयको बाढीले खेत बगाएको छ। नैनबहादुर हमालले भने, ‘जनजीवन नै अस्तव्यस्त बनाउने गरि आएको बाढीले किसानका सपना बगायो। भोकमरी सिर्जना गरेको छ।’ बाढीबाट घर बगेका नागरिकलाई राहतको व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत धनराज शाहीले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गरेको बताए। उनले भने,‘खेतबारी बगाएको बारेमा विवरण आउदै गर्ला तर घर बगेर विस्थापित भएकालाई न्युनतम आवश्यकता पुर्तिको सामाग्री दिनु आवश्यक देखिएको छ। यो स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ। ’

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा बाढीले २१ हेक्टर जमिनमा लगाएको धानबाली नष्ट गरेको बताए। उनले भने,‘२१ हेक्टरमा १३ हेक्टर जमिन कटान गरेर लगिसकेको छ। १३ हेक्टर पुरै बाढीले बगाएको छ। बाँकी जमिनमा लगाएको धानमा आंशिक क्षति पुगेको छ। ’

बाढीले पुयाएको क्षति एकिन गर्न कृषि प्राविधिक बाढी प्रभावित स्थलमा पुगेको उनले बताए। प्रमुख देवकोटाले भने,‘क्षतिको एकिन विवरण संकलनको लागि गाउँमा प्राविधिक खटाएका छौँ। प्राविधिक टोली फर्किसकेपछि मात्र कुन धानमा कति क्षति पुग्यो भन्ने बिषयमा भन्न सकिएला। ’

जुम्लाको तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको हो। तातोपानी गाउँपालिकामा रहेको नेत्रज्योति माबि हाँकु भित्र बाढी पस्दा झण्डै एक करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। तत्काल विद्यार्थीको पठनपाठन हुन सक्ने अवस्था छैन। बाढीले विद्युत,मिल,घट्ट,पशुचौपाया,खेतबारी सबैमा क्षति पुगेको स्थानीय बताउँछन्।

Next Post

टिकट नपाउदा बिरामी घर फर्किए

८ कार्तिक २०७८, सोमबार १९:३१
जुम्ला,कात्तिक ८। कर्र्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले रेफर गरेको कागज देखाउदै गुठिचौर गाउँपालिकाका रिमाल पाण्डे जुम्ला विमानस्थल पुगे । उनको तीन महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । तर अस्पतालले नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनु पर्ने भएपनि घटेर ३६ मा पुगेपछि […]

सम्बन्धित