बाढीले सबैभन्दा बढि कृषि क्षेत्र प्रभावित

  ।   १३ कार्तिक २०७८, शनिबार १३:२७

जुम्ला,कात्तिक १३।

गत कात्तिक १ देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण यहाँको कृषि क्षेत्र तहसनहस भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार १३ हेक्टर खेतियोग्य जमिन पुर्णरुपमा कटान गरेर बाढीले बगाएको छ ।

जिल्लाको तातोपानी ४,७ र ८, तिला गाउँपालिकाको ४ नम्बर वडामा खेतियोग्य जमिन बाढीले बगाएर लगेको हो । बाढीले खेतियोग्य जमिन संगै घर भित्र्याउन लागेको धान पनि संगै बगाएकोले किसान चिन्तित छन । किसान कर्णबहादुर हमाल धान मात्र लिएको भएपनि अर्को बर्ष खेति गर्न सकिने अवस्था रहेको बताउँछन । तर जमिन संगै धान पनि बगाएकोले समस्या आएको छ । उनले भने,‘कडा मेहनत गरेर उत्पादन गरिएको धान पनि रहेन । जमिन पनि रहेन । अब के खाने ? के गर्ने ? भन्ने अवस्थामा पुगिएको छ । ’

उनको ६ मुरी खेतमा लगाएको धान र खेत समेत बाढीले बगाएको छ । खेत बाढीले लैजादा घरबाट टुलुटुलु हेर्नुको विकल्प नभएको अनुभव सुनाए । उनले भने,‘यो बर्ष त भोकमरी नै हुने भयो तर अर्को बर्ष खेति गर्ने जमिन सम्म रहेन । बाढीले सुकुम्बासी बनाइदियो ।  ’

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जिल्लाको २१ हेक्टरमा लगाएको धान खेतिमा क्षति पुगेको बताउँछन । उनले भने,‘१३ हेक्टरमा लगाएको धान संगै जमिन पनि बगायो । बाँकी क्षेत्रमा धानमा मात्र क्षति पुग्यो । यो यहाँका किसानका लागि निकै ठुलो क्षति हो । ’

तिला गाउँपालिका ४ मा १३ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुग्यो । जसमध्ये १० हेक्टर जमिन संगै धान बगे । ३ हेक्टर जमिनमा लगाएको धान पहिरोमा डुबे । यो किसानका लागि निकै ठुलो क्षति हो । ’तातोपानी गाउँपालिकामा मार्सीधान उत्पादन भएको लाछु जीउलोमा पनि धान पहिरोले डुबायो । यो जीउलोमा मार्सीधानखेतिको पहिलो परिक्षण गरिएको थियो ।

तातोपानी ४ मा ५हेक्टर जमिनमा लगाएको बाली नष्ट भयो । जसमध्ये ३ हेक्टर कटान गरिसकेको छ । एक हेक्टरमा गरिएको खेति डुबायो । कृषि कार्यालयका प्रमुख देवकोटलो भने,‘यो प्रारम्भीक टिपोट हो । विस्तृत क्षतिको विवरण संकलन गर्न स्थानीय प्रशासनको प्रतिनिधि,जलस्रोत तथा उर्जा विकास कार्यालयको प्राविधिक,कृषि प्राविधिक र सम्बन्धित स्थानीयतहको कृषि शाखाको प्रतिनिधि बाढी प्रभावित क्षेत्रमा खटाइएको छ ।

टोली गाउँगाउँमा खटिएको छ । उनले भने,‘कृषि क्षेत्रमा बाढीले पुगेको क्षतिबारेमा एकीन विवरण प्राप्त हुनेछ । त्यसैको आधारमा राहतको प्याकेज निर्माण हुनेछन ।’ तिला ४ मा सामुदायिक स्याउ बगैँचा र तातोपानी ८ मा ओखर नर्सरी समेत बगाएको छ । बर्र्षाले खासै क्षति भएन । तर बर्षा संगै गिडिखोला र भेरीखोलामा आएको बाढीले कृषि क्षेत्र नै तहसनहस बनायो । बाढी ग्रस्त क्षेत्र बर्षा बढी हुने क्षेत्र हो ।जथभावी  डोजर लगायतका इकुमेण्ट प्रयोग गरेर आन्तरिक सडक  खनिनु,खोलामा नदिजन्य बस्तुको मनपरी उत्खनन हुनु र बनजंगलको विनास हुदै जानुले बाढी निम्तिएको कृषि प्रमुख देवकोटा बताउँछन ।

जुम्लामा धानको खेति हुने जमिन २ हजार ९ सय हेक्टर हो तर अब २ हजार ८ सय ८७  हेक्टर मात्र बाँकी रह्यो । सबै मार्सीधानको खति हुने जमिन बगायो ।बाढीले २० प्रतिशत उन्नतजातको धान नष्ट भएकोमा ८० प्रतिशत मार्सीधानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्यांक छ । यो बर्ष धानमा खासै रोगको संक्रमण थिएन , उनले भने,‘मल बढी प्रयोग भएकोले नाइट्रोजनको मात्रा बढी देखिएको थियो । मार्सीधानले नाइट्रोजन बढी सहदैन । मार्सीधानमा मल प्रयोगबारे किसानलाई जानकारी गराउदै आएको छ ।’

कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले किसानलाई राहतका लागि पहल भइरहेको बताए । प्रदेश मन्त्रालयमा फोन गरेर यहाँको बाढीले पुर्याएको क्षतिपुर्तिका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ । उनले भने,‘अहिले आएको कार्यक्रमलाई संशोधन गरेर बाढी प्रभावित अनुकुलको कार्यक्रम ल्याउनको लागि माग गरिएको छ । ’

उनले अब बाढी आउने संभावित क्षेत्रमा बृक्षारोपणका क्रियाकलाप गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन । जिल्लाभरी ३२ प्रतिशत खेतियोग्य जमिनमा क्षति पुगेको छ ।

Next Post

अनेम संघ (क्रान्तिकारी) कनकासुन्दरीको अध्यक्षमा खत्री

१३ कार्तिक २०७८, शनिबार १३:२७
उमेश बुढा,  कनकासुन्दरी,कात्तिक १३, अनेम संघ (क्रान्तिकारी )कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा रीता खत्री चयन भएकी छिन । शनिवार सम्पन्न गाउँपालिका स्तरीय भेलाले अध्यक्षमा खत्री, उपाध्यक्षमा मेनका मल्ल र धनलक्ष्मी शाही,सचिवमा बुनौरी बडुवाल र सह–सचिवमा रेशम शाही खत्री लगायत ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो । कार्यक्रममा अनेम संघ क्रान्तिकारी जुम्लाकी इन्चार्ज […]