फुल बेचेर लोभलाग्दो आम्दानी

  ।   २४ कार्तिक २०७८, बुधबार २१:०९

जुम्ला चन्दननाथ नगरपालिकाकी राममाया रावलले यो पटकको तिहारमा घरमै उत्पादन भएको सयपत्री फूल बेचिन्। उनी एकाबिहानै फूल ल्याएर सदरमुकाम खलंगा आइपुग्थिन्। यो तिहारमा उनी सयपत्री फुल बेच्न व्यस्त भइन्। आफ्नै बारीमा उत्पादन गरेका फुल बजारमा ल्याउदा टिपाटिप हुन थालेपछि उनी निकै उत्साहित भइन्। उनले भनिन्, ‘जुम्लामा फुलखेतीको पनि उच्च संभावना रहेछ। फुलखेतीबाट पनि मनग्गे आम्दानी गर्न सकिँदोरहेछ।’

पहिलो दिन एकैपटक तीन हजार रुपैयाँ बराबरको माला बिक्री हुँदा उनी निकै खुसी भइन्।  उनले भनिन्, ‘बारीमा लगाएका सबै फुल बजार ल्याएर बेचें। बिहानदेखि साँझसम्म फूलमालाको बिक्री हुन्थ्यो। न्युनतम २० रुपैयाँदेखि एक सय रुपैयाँसम्मको माला बनाएकी थिइन्। उनले भनिन्, ‘हाम्रो बारीमा फूलसंगै रुपियाँ उम्रेका रहेछन्।’ गएका वर्षहरुभन्दा यो वर्ष सयपत्री फूलको व्यापार राम्रो भएको चन्दननाथ नगरपालिका– ६ की बास्मती खत्रीले बताइन्। पोहर सालतिर फूल बेच्ने चलन थिएन। तर बजारमा प्लास्टिककका माला देखेपछि हाम्रो फूलका माला पनि बिक्री हुन्छन् होला भनी बजार आएकी हुँ राम्रो बिक्री भयो,’ उनले भनिन्, ‘सयपत्री माला दाजुभाइको गलामा लगाउन पाउँदा यहाँका दिदीबहिनी पनि खुसी भइन्। फुलको व्यापार हुँदा स्थानीय महिला पनि दंग भइन्। यो जुम्ली महिलाको निकै उपलब्धिपुर्ण कार्य हो।’

खलंगा बजारको कृष्ण मन्दिरको कुनामा बसेर वरिपरि फुलका माला राखेर बसिन्। ती मालाले मन्दिरको शोभा पनि बढाएको अनुभुति हुन्थ्यो। उनले आफूले बोकेर ल्याएको पूरै डोकोलाई नै पूुलजस्तो गरेर सजाएर राखेकी थिइन्। उनले झण्डै एक हजार माला बेचिन्। बारीमा फुल लगाएकी थिएँ। घर ल्याएर सुन्दर माला बनाएँ, उनले भनिन्,‘बजारमा लिएर बेचे।’ प्रतिमाला २० रुपैयाँमा बेचेको उनी बताउँछिन्।

चन्दननाथ नगरपालिका तलिउम धरालबाडाकी कोइर्‍या धराला फूलले उस्तै उत्साह थपेको बताउँछिन्। उनले तीन क्यारेट फूल ल्याएकोमा तीन घण्टामा सबै बिक्री हुँदा दंग परेको सुनाइन्। अब त आगनभरी फूल रोप्ने हो। फूलबेचेर तिहार मनाउने हो,उनले थपिन्। तीन घण्टामा ६ हजार रुपैयाँ कमाएको बताउँदै उनले भनिन्, ‘आगामी वर्षमा जताततै फुल लगाउँछु। तिहारमा बेच्छु। ’

व्यापारीक प्रयोजनका लागि फुल लगाएका थिएनौँ,तर दसैँ तिहारमा घरका लागि प्रयोग गर्न लगाइएका फूलबाट राम्रो आम्दानी हुँदा फूल बेच्ने महिलाहरु दंग छन्। ’घर आगन राम्रो होला भनी फूल लगाएका थियौँ तर, फूलले रुपियाँ फलाए,  धरालाले भनिन,‘ सयपत्री फूलका पत्ता त रुपियाँका नोट जस्ता रहेछन्। बल्ल फुल खेतीको महत्व थाहा पायौँ। ’

जिल्लाको पातारासी र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिका भित्रका विभिन्न गाउँका स्थानीय महिलाले सयपत्री फूलका माला बजारमा ल्याएका थिए। प्लाष्टिकका आयतित मालाको व्यापार ह्वातै घटेको छ। यहाँका महिलाले न्युनतम ५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ सम्म आम्दानी गरेका छन्।

स्थानीय फुल मात्र नभइ यहाँका महिलाले काठमाण्डौँबाट मखमली फुल ल्याएर पनि बेचिन। यहाँकी बसन्ती रावललले काठमाण्डौबाट १० हजार रुपैयाँको मखमली फुल ल्याएर बेचिन। जुम्लामा मंखमली फूल खासै पाइदैन। त्यसैले काठमाडौंबाट मखमली मगाएकी हुँ,’ उनले भनिन्,‘सबै माला बिक्री भइसकेका छन्। तिहारको बेला उपभोक्ताहरुले प्लाष्टिकको भन्दा मंखमली र सयपत्री फूलका माला रुचाउने रहेछन्। यो वर्ष प्लाष्टिकको माला विस्थापित जस्तै बन्यो। ’आयतितभन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ।

कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतका अनुसार जुम्लामा जताततै सयपत्री फूल फूल्ने भएकाले किसानहरुले व्यापारिक प्रयोजनभन्दा पनि मनखुसीले लगाएको बताए।  तर, त्यही आम्दानीको स्रोत बन्दा आगामी दिनमा फूलको बजार राम्रो हुने विश्वास व्यक्त गरे। उनले भने,‘अब जुम्लामा फुलखेती गर्न किसान हौसिएका छन। यो राम्रो संकेत हो।’

जुम्लामा व्यवसायिक रुपले फूलको खेती कतै पनि भएको छैन,’ उनले भने, ‘तिहारमा किसानले फूलका माला बेचेर आम्दानी लिएपछि यसको व्यवसायिक खेतीको सम्भावना रहेको देखिन्छ।’ यहाँ उत्पादित सयपत्रीले बजार कब्जा गरेपछि प्लास्टिकका मालाको मागलाई ठूलो असर गरेको छ। अब जुम्लाबाट फूल निर्यात गर्नेबारे सोच्नुपर्छ। फुलखेतीमा किसानको आकर्षण बढाउनुपर्छ।’

जुम्लामा हरेक वर्ष तिहारमा फूलको कारोबार बढ्ने गरेको छ। तिहारमा थरीथरीका फूल मालाको माग हुन्छ। तर, फूलको बजार मागलाई स्वदेशी उत्पादनले धान्न सक्दैन। विदेशबाट फुलको आयात हुने गरेको छ। तिहारमा चाहिने फूल मालाको लागि नेपाल लामो समयदेखि परनिर्भर छ। तिहारको बेला भारतबाट फूलका माला मात्रै नभएर प्लास्टिकका माला समेत आयात हुन्छ। यसरी प्लास्टिकका माला जुम्ला बजारसम्म पनि पुगेका छन्। नेपालगञ्जको रुपैडिया भन्सार हुँदै जुम्ला पुग्ने प्लास्टिककका मालाले खलंगा बजारका पसल रंगिचंगी छन्। तर, यो वर्ष प्लास्टिकका मालामा उपभोक्ताको ध्यान उतिसाह्रो गएको छैन। यहाँ उत्पादित सयपत्री फुलका माला बजारमा आउन थालेपछि प्लाष्टिकका मालामा खासै चासो नदिएका हुन्।

आयतित प्लाष्टिकका माला पसलमा राखे पनि खासै बिक्री नभएको न्यू मिलन स्टोर एण्ड सप्लायर्सका सञ्चालक विष्णु रोकायाल बताउँछन्। उनले भने,‘ यो वर्ष बजारमा सयपत्री फूलको माला बढी आएकाले प्लाष्टिकका मालाको व्यापार भएन। यहाँ उत्पादन भएको सयपत्री र मखमली फुलको मालाको किनबेच बढि नै भयो। ’आयतित मालाको व्यापार आधाभन्दा बढी घटेको छ,’ उनले भने, ’जुम्लाका विभिन्न गाउँमा उत्पादन भएका सयपत्री फूलका मालाले बजार भरीभराउ भयो।  आयतित प्लास्टिकका मालाको व्यापार त त्यसै घट्ने भइहाल्यो। प्लाष्टिक माला बिक्रि नहुँदा व्यापारी मर्कामा परेका छन्। ’

पसलमा सजिएका थरिथरि रंगका माला खासै बिक्री भएका छैनन्। यो पटक बिक्री नभएको माला अब बिक्रि हुने संभावाना देखिदैन। यो पटक २० देखि एक सय ५० रुपैयाँ सम्मका प्लाष्टिक माला  बजारमा आएका थिए। सोचे जस्तो व्यापार हुन सकेको छैन। ’गाउँबाट सस्तै फूलका माला बजारमा आएका छन्,’ उनले थपे, ’हेर्दा राम्रा देखिने भएपनि फूलका माला जस्ता प्लास्टिकका माला हुँदैनन्। फूल हुन्जेल यी माला विक्री हुने संभावना पनि छैन।’

तिहार हिउँदको समयमा पर्ने भएकोले सयपत्री फुल बचाउन निकै गाह्रो हुने गरेको किसान बताउँछन्। उनीहरुले व्यवसायीक फूल खेती गर्नको लागि सरकारले अनुदानका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए। यो सयपत्री फुल जाडोयाम सुरु भएकोले तिहार सम्म राख्न चुनौति छ। स्थानीय जयबहादुर बुढाले भने, ‘बेमौसममा पनि सयपत्री फुलाउन सक्ने व्यवस्था हुन सके जुम्लाले फुलखेतीबाट राम्रो आम्दानी भित्र्याउन सक्ने देखिन्छ। जूम्लाले फुल बाह्य बजार सम्म निर्यात गर्न सक्ने अवस्था रहन्छ।’ यहाँको गाउँबस्तीमा बारीमा उम्रिएको सयपत्री नै प्रयोग हुन्छ। बजार क्षेत्रमा प्लाष्टिक मालाले एकछत्र रजाइ गरेको थियो। यो पटक सयपत्रीले प्लाष्टिक मालाको व्यापारलाई उछिन्यो। सयपत्रीले खलंगा बजार नै कलरफुल बनेको थियो।

Next Post

चन्दननाथ सहकारीको खलंगामा अर्गानिक मिनी मार्केट

२४ कार्तिक २०७८, बुधबार २१:०९
जुम्ला खलंगाको चन्दननाथ मन्दिरको छेउमै अर्गानिक मिनी मार्केट खुलेको छ। स्थानीय उत्पादनको संरक्षण,प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको छ। यहाँको चन्दननाथ बहुद्धेशीय सहकारी संस्था लिमिटेड जुम्लाले मिनी मार्केट खोलेर यहाँ उत्पादित वस्तुको बजारीकरण गर्न थालेको हो। मिनी मार्केटमा स्याउ,स्याउबाट बनेका विभिन्न परिकार,सिमी, आलु, मकै, कोदो, फापर, मार्सीधान,मार्सीधानको चामल, […]