कुरीतिविरुद्ध जुर्मुराउँदै पातारासी

  ।   १२ मंसिर २०७८, आईतवार २१:२८

जुम्लाको पातारासी गाउँपालिका सबै प्रकारका कुरीतिविरुद्ध जुर्मुराउन थालेको छ । समाजमा कुरीतिको रुपमा रहेका छुइप्रथा,बालविवाह,बहुविवाह जस्ता कुरीति अन्त्य गर्ने अभियान थालेको हो ।
छुइप्रथा मध्य तथा सुदुरपश्चिम क्षेबका विभिन्न क्षेत्रमा जरा गाडेर बसेको छ । पहिलो पटक पातारासी गाउँपालिका वडा नम्वर २ तल्फी,धोप र पेरेका महिलाहरुले छुईगोठ मुक्त गरेका हुन । उनीहरुले छुइ लगायतका कुरीतिजन्य क्रियाकलाप अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन ।
तल्फी र पेरे गाउँका महिला तथा पुरुषहरुको अगुवाई तथा पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखा कार्यालय जुम्लाको आयोजना र इटालियन फउण्डेशन सर्वोदय नेपाल जुम्लाको प्राविधिक समन्वयमा दुई गाउँ तथा बस्तीलाई मसिंर १० गते छुइगोठ मुक्त घोषणा गरिएको हो । सामाजिक संस्कार समाज परिवर्तनमा हाम्रो एक्वद्धता छुइगोठ मुक्त समाज बनाउनको लागि नागरिकको प्रतिवद्धता भन्ने नारा दिइएको छ ।
स्थानीय राम शोभा बोहोराले गाउँ छुइगोठ मुक्त भएपछि महिला ७ दिने जेलबाट मुक्त भएका बताइन । छुइगोठ भएको अवस्थामा ७ दिनसम्म छुइगोठमा विभिन्न कष्टका साथ रात विताउने गरेको स्मरण गर्दै उनले अव महिला सचेत भइसकेको जिकिर गरिन ।
छुइगोठमा बस्दा विभिन्न रोगबाट संक्रमित हुनुका साथै असुरक्षित हुने गरेकाले सरसफाई गरी घरभित्रै बस्ने अठोट गरेको उनीहरुले बताएका छन । पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापााले छुइगोठ अर्थात महिनावारी हुनु भनेको एक प्राकृतिक प्रक्रिया भएको बताए । हामी सचेत नागरिकले समाज रहेको कुस्कारलाई न्यूनिकरण गर्दै सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले छुइ स्वभाविक प्रक्रिया भएको तर यसको गलत अर्थ लगाएर समस्या बताए । यो कुसंस्कारका रुपमा मौलाएको छुइप्रथालाई समाजबाट निमुलीकरण गर्नुपर्ने देखिन्छ,उनले भने,‘ अब यो अभियानको थालनी भएको छ । ’
छुइगोठ मुक्त अभियानकर्ता दुई नमुना जोडी सम्मानित भएका छन् । पातारासी गाउँपालिका २ तल्फी गाउँका कालो बोहोरा र उनकी पत्नी साउनी बोहोरालाई सम्मान गरिएको हो । त्यसैगरी विरे सार्की र उनकी पत्नीलाई सम्मान गरिएको पातारासी गाउँपालिका जुम्लाले जनाएको छ ।
वडाअध्यक्ष कन्न बोहोराका अनुसार सम्मानित अभियान्ताहरुलाई नेपाली ढाँका टोपी र पछ्यौरा ओडाएर सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले अविरको टिका लगाएर नेपाली ढाँका टोपी र पछ्यौरी ओडाएर सम्मान गरेका थिए ।
पातारासी गाउँपालिकाका महिला तथा बालबालिका शाखा कार्यालय जुम्लाका संयोजक भगवती गिरीले छुई हुँदा महिला गाइबस्तुसँग बस्नुपर्ने बाध्यता हटेको बताइन । यस्तो अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइन । छुई भएको समयमा घरको एक सुरक्षित कोठामा राख्न परिवारलाई आग्रह गर्दे गिरीले पोषिला खानेकुराको आवश्यकताका बारेमा सहजीकरण गरिन ।
पहिला जस्तो छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने चलन विस्तारै हराउदै गएको छ । घरमा बस्दा देउता लाग्ने,चोटपटक लाग्ने,अनिष्ट हुनेजस्ता भ्रमबाट महिलाहरु माथि उठेको दावी गरिन ।
उनले भनिन,‘छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो । उनले भनिन्,‘अहिले गाउँमा महिलाले नेतृत्व लिन थालेका छन् । गाउँमा समूह गठन गर्ने हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल शुरु गरेका छन ।’
कहिले स्थानीय अगुवासँग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसँगको छलफललाई घनिभुत पैरवी हुने गरेको छ । सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ । अहिले छुइगोठमुक्त अभियान नै सञ्चालन भएपछि अधिकांश महिला घरभित्रको एक कोठामै बस्नथालेका छन ।
गाउँपालिकाले तल्फी र पेरेका महिलाहरुलाइ व्यवहार परिवर्तन गर्न तकिया,सेनेटरी प्याड, एक पिस लुगा धुने सावुन, एक पिस नुहाउने र पेन्टी उपलब्ध गराएको छ । छुइ भएको बेला नियमित सरसफाइ गरी सुरक्षित तवरले सुरक्षित कोठामा बस्ने बानीको विकास होस भन्ने उद्देश्यले सामाग्री प्रदान गरिएको थियो ।
छुइ भएको बेला आफै प्याड किनेर प्रयोग गर्ने बानीको विकास होस भन्ने प्रमुख लक्ष्य रहेको संयोजक गिरीको भनाइ थियो । छुइगोठमुक्त अभियानमा महिलाको सक्रियता प्रशंसनीय रहेको वडा सचिव जन महताराले बताए ।
उनले भने,‘छुइ प्रथा अभिशाप हो ।समाजमा विकृतिका रुपमा जरा गाडेको छ ।पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेको देख्दा खुसी लागेको छ । ’ पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले छुइ भएको वेला मानिसबाट पनि डराउनुपर्ने अवस्था रहेको बताए । उनले भने,‘ गाउँमा छुई मुक्त गोठ निर्माणका लागि स्थानीय महिलासँग बैठक भइरहेको छ । विकृति हटाउनको लागि सबै महिलाहरु कम्मर कसेर लागेका छन ।
परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर हटाउनुपर्ने समय आएको छ । धामिझाँक्री, सासु ससुरा,पुरुष,किशोर किशोरीसँग पनि छलफल भइरहेको छ । पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त वनाउने अभियान शुरु भएको बताइन ।
पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले भएको समयमा सरसफाइ गरेर सुरक्षित तवरले घरमै बस्न सुझाव दिए । गोठमा बलत्कारको शिकार,आगोमा जल्ने,गाइवस्तुको फोहोरमा बस्नाले स्वास्थ्यमा असर पर्ने देखिन्छ ।
हरेक नागरिकको सोचमा परिवर्तनको आवश्यक छ । विकास र सम्वृद्धिमा सबैको समन्वय र सहकार्य हुनु जरुरी छ । रुढीबादी चलनको अन्त्य महिला आफैंले गर्नुपर्ने छ । वडा अध्यक्ष कन्न बोहोराले छुइगोठ मुक्त घोषणा कार्यक्रम कार्यन्वयन नगरे वडाबाट प्रवाह हुने सेवा सुविधामा रोक लगाईने बताए ।
धामी धनवहादुर कामीले मनको डरले महिला आफै असुरक्षित भएको बताए । दैनिक रुपमा सरसफाइ गरेर घरमा बस्न आग्रह गर्दै उनले महिलाले छुइ भएको बेला खानपिनमा ध्यान दिनुपर्ने बताए । छुइगोठ मुक्त घोषणा कार्यक्रमका अवसरमा सन्देशमुलक देउडा,नाटक लगायतका सचेतनामुलक सामाग्री प्रस्तुत गरिएको थियो । पातारासी गाउँपालिका भित्रका विभिन्न सातवटा गाउँबस्ती छुइगोठ मुक्त घोषणा भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ मा पर्ने माथिल्होर्प र तल्लोल्होर्प, ४ मा भोटगाँउ, लुम गाउँ छुइगोठ मुक्त भएको हुन् । यस भन्दा पहिला तिला गाउँपालिका भित्रका ९ वटै वडा छुइ गोठ मुक्त वडा घोषणा भइसकेका छन। अव चालु आर्थिक वर्ष भित्रमा पालिका घोषणा गर्ने उदद्देश्य रहेको छ ।

Next Post

जुम्लामा बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

१२ मंसिर २०७८, आईतवार २१:२८
जुम्ला कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला देखि नेपालगंजका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक दैलेखका नविन रावल र सहचालक कालिकोटका विशाल बमको घटनास्थलमै मृत्यु भएको हो । सिँजा गाउँपालिका २ स्थित घोडेङ्गामा ना ६ ख ४४३८ नम्वरको बस बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी […]