जुम्लामा नुनको राजनीति अन्त्य

  ।   २३ पुष २०७८, शुक्रबार १९:३५

धनबहादुर बुढा
जुम्ला,पुस १५।
तिला गाउँपालिका ९ का मानबहादुर बुढा २०५९ सालमा नुन लिन सदरमुकाम खलंगा आइपुगे । उनले पाँच केजी नुनका लागि नेता गुहार्नु पर्यो । नेताले कुपन दिएपछि मात्र उनले नुन पाए । उनले नुन संगै चामल पनि लिएर घर फर्किए । नुन सुन भन्दा त सस्तो थियो,उनले भने,‘रुपैयाँ हुनेका लागि सुन किन्न सहज थियो तर रुपैयाँ हुने नहुने दुबैका लागि नुन किन्न निकै कठिन थियो । नुनको राजनीतिले सिंगो जुम्ला प्रभावित थियो ।’
आफु र आफ्नो निकट नेता,सांसद र कर्मचारी नहुँदा उतिबेला नुन पाउन मुस्किल हुन्थ्यो । सर्वसाधारणको पहुँचमा नुन थिएन । तर पछिल्लो समयमा जुम्लामा नुन फालाफाल छ । अहिले दैनिक २० देखि ३० क्वीन्टल सम्म नुन बिक्रि भइरहेको साल्टट्रेडिङ कर्पोरेशनको कार्यालय जुम्लाले जनाएको छ ।
अहिले नियमित रुपमा कोटा अनुसारको नुन समयमै आउने भएकोले महंगोमा बजारमा बिक्रि हुने गरेको नुन विस्थापित भइसकेको छ । बजारमा नुन पाउन कठिन छ,उनले भने,‘सार्वजनिक विदा बाहेक कार्यालय समयमा पुग्दा नुन आवश्यकता अनुसारको प्राप्त हुन्छ । नुनको कार्यालयमा गएर रित्तो हात फर्कनु परेको छैन । ’
ब्यापारीले बजारका पसलहरुमा नुन राख्न छाडेका छन । साल्टट्रेडिङ कर्पोरेशनको कार्यालयमा मागे अनुसारको नुन पाइन्छ,मानबहादुर भने,‘सस्तो मुल्यमा नुन पाउन थालेपछि बजारको महंगो नुन कसले किन्छन र ?’ बजारमा प्रति पाकेट नुन २५ रुपैयाँ देखि ३० रुपैयाँ सम्म पर्छ । तर साल्टट्रेडिङ कर्पोरेशनको कार्यालयमा प्रतिपाकेट ९ रुपैयाँमा नुन पाइन्छ ।
एक परिवारले ११ केजी नुन पाउने गरेर व्यवस्थापन गरिएको साल्टट्रेडिङ कर्पोरेशनको कार्यालय जुम्लाका लेखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । उनले भने,‘लामो दुरी पार गरेर आएका सेवाग्राहीलाई उनीहरुले माग गरे अनुसारको नुन दिदै आएका छौ । नुनका लागि न कसैको दबाव खेप्नु परेको छ, नत कसैको प्रभावमा पर्नु परेको छ । अहिले सहज तरिकाले सेवाग्राहीको नुनको चाहना परिपुर्ति गर्न पाउँदा उत्साहित छौ । ’
जुम्लामा नुनको लागि सिँजाको कनकासुन्दरी गाउँपालिकामा एक बिक्रि केन्द्रछ । जहाँ बार्षिक एक हजार क्वीन्टल कोटा नुन आउँछ । सिँजा गाउँपालिकाको नराकोटमा नुनको डिपो राखिएको छ । त्यहाँ बार्षिक ७ सय कोटा नुन आउँछ । तर त्यहाँ एक हजार ५ सय क्वीन्टल खपत हुने गरेको छ । कोटा अनुसारको नुन सकिएपछि आवश्यकता अनुसार नुन माग गर्ने गरिएको छ । बिक्रि केन्द्र र डिपो सिँजा क्षेत्रका हिमा,सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि राखिएको हो । अन्य बाँकी स्थानीयतहकाृ लागि सदरमुकाम स्थित साल्टट्रेडिङ कर्पोरेशनको कार्यालयबाट नै नुन वितरण हुदै आएको छ ।
पहिले नुन पाउनको लागि नेता संग जानु पर्ने, विभिन्न सरकारी निकायमा धाउनु पर्ने,गाविसमा गएर कुपन ल्याउनु पर्ने,संसद मन्त्री संग हारगुहार गर्नुपर्ने, । स्थानीय प्रशासनको सिफारीस चाहिने हुन्थ्यो । तर अहिले निर्धक्क पुर्वक नागरिक सिधैँ आएर लिएर आवश्यकता अनुसारको नुन लिएर जान्छन ।
लेखा प्रमुख मल्लले कुनै पनि नागरिक नुन ल्याउन आएर कार्यालयबाट फर्कनु नपरेको बताए । कर्णाली राजमार्ग सञ्चालनमा आयो । सडक मार्ग देखि नै नुन ढुवानी हुन थाल्यो । प्रमुख मल्लले भने,‘अहिले सेवा दिन पनि निकै सरल छ । समयमै नुन आपुर्ति भइरहेको छ । जुम्लामा नुनको अभाव झेल्नु परेको छैन । ’
पहिले हवाइमार्गबाट नुन ढुवानी गर्दा खरिद मुल्य भन्दा नुनको ढुवानी खर्च बढि आउँथ्यो । नुन निकै महंगोमा बेच्नु पथ्र्यो । अहिले सस्तोमा नुन पाउँछ । सिँजा क्षेत्रमा रहेको नुनको डिपो र बिक्रि केन्द्रमा कर्मचारी अभाव छ । महिनामा एक एक हप्ता मात्र डिपो र बिक्रि केन्द्र खुल्छ । सार्वजनिक विदाको दिनमा पनि नुन बेच्ने गरेको प्रमुख मल्ल बताउँछन ।
जुम्ला सदरमुकाम खलंगा स्थित कार्यालयको लागि झण्डै ६ हजार क्वीन्टल नुन आवश्यक पर्छ । तर तीन हजार क्वीन्टलको कोटा मात्र छ । कार्यालयको गोदाममा मौज्दात नुन हेरेर क्षेत्रिय कार्यालयमा माग गर्ने गरिएको छ । यो बर्ष कनकासुन्दरी बिक्रि केन्द्रमा १ हजार क्वीन्टल नुनको कोटा रहेकोमा १७० क्वीन्टल मात्र प्राप्त भएको छ । नराकोटमा ७ सय क्वीन्टल कोटामा ७ सय क्वीन्टल नै प्राप्त भएको छ ।
सदरमुकामको गोदाममा दुई हजार पाँच सय क्वीन्टल नुन आइसकेको छ । पाँच सय क्वीन्टल नुन आउन बाँकी छ । कोटा अनुसारको नुन पुग्दैन । तर नुनको अभाव पछिल्लो समयमा जुम्लाबासीले खेप्नु पर्दैन । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको आपुर्ति समितिले नुनको अभाव भएमा तत्काल माग गर्ने गर्छ ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले साल्टट्रेडिङ कर्पोरेशनको कार्यालयको कार्यालयमा नुनको अनुगमन गरेकी छिन । उनले नुनको हालको अवस्था,ढुवानी र बिक्रिको दरका बिषयमा जानकारी लिइन । कार्यालयले दिइने सेवाका बारेमा अनुगमन गरेर फर्किएको जीन्सीप्रमुख मल्ल बताउँछन ।
उनले भने,‘पहिले सुनको सिरानी हालेर नुनको खोजीमा भौतारीनु परिरहेको हुन्थ्यो तर अहिले नुन सहजै रुपमा पाउन थालेपछि सेवाग्राही उत्साहित छन । जिल्लाले नुन अभाव भएको सन्देश पठाउनु परिरहेको छैन । साल्टट्रेडिङ कर्पोरेशनको कार्यालयमा प्रतिकेजी नुनको ९ रुपैयाँमा किनबेच भइरहेको छ ।

Next Post

कनकासुन्दरी गाउँपालिकाको जम्बो टोली अर्थहिन भ्रमणमा

२३ पुष २०७८, शुक्रबार १९:३५
जुम्ला,पुस २४। जुम्ला कनकासुन्दरी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको टोली १० लाख रुपैयाँ लिएर एक हप्ते भ्रमणमा निस्केको छ । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत नै भ्रमणमा निस्केपछि गाउँपालिका सुनसान छ । गाउँ कार्यपालिका सदस्य र विभागीय शाखाबाट १÷१ जना गरेर २० जनाको टोली भ्रमणमा निस्केपछि स्थानीय आक्रोशित छन । जनप्रतिनिधिले अन्तिम […]