सरकारी लेखापालको कालिजपालन

  ।   २९ पुष २०७७, बुधबार १९:२९

जुम्ला गुठिचौर गाउँपालिका ४ का महाकृष्ण पाण्डे सरकारी लेखापाल हुन् । उनी कालिकोट जिल्लामा भौतिक पुर्वाधार कार्यालयमा कार्यरत छन । पछिल्लो समय उनी लेखापाल भन्दा पनि कालिजपालकका रुपमा परिचित छन् ।
उनले महाँलक्ष्मी कालिज फर्म खोलेर गाउँमै कालिजपालन गरेका छन् । कालिजपालन जुम्लामा नौलो कार्य हो । उनले पालेको कालिज हेर्नकै लागि भिड लाग्छ । कसैले कालिज कसरी पाल्ने भन्ने बिषयमा अनुभव आदानप्रदान गर्छन । कसैले कालिजपालन गर्न लागेको बताउँछन् । महाकृष्णले भने,‘व्यवसायिक रुपमा कालिजपालन गरेको जुम्लामा पहिलो पटक भएकोले पनि हेर्न आउनेको भिड नै लाग्छ । कुखुरा पालन गरेका किसानले कालिजपालन गर्न रुचाउने गर्छन । ’
यसअघि कालिज व्यवसायिक रुपमा पालन गर्न सकिदैन् भन्ने भ्रम थियो । तर पाण्डेले पहिलो पटक १५० कालिज ल्याएर पालन शुरु गरे । उनले भने,‘इच्छाशक्ति मात्र हुनु पर्यो । कालिजपालन गर्न कुनै कठिनाइ छैन् । तर कालिजको रेखदेखमा अधिकांस समय बिताउनुपर्छ । ’
हरेक दिन दश बजे देखि पाँच बजे सम्म कार्यालयमा खटिएर कार्यालय समय भन्दा बाहिरको समयमा उनी कालिजपालन मै ध्यान केन्द्रीत गर्छन । अहिले कालिकोटमा कार्यक्षेत्र भएकोले हरेक शुक्रबार उनी घरमा जान्छन । सबै समय कालिजको रेखदेखमै खर्चिन्छन् । ’
जुम्लामा हिमपात हुने भएकोले समस्या छ । बिजुलीको अभाव छ । नजिकैको माइक्रोहाइड्रो बाट आउने बिजुलीले धान्दैन् । २४ सैँ घण्टा पनि आउदैँन । राति जंगली जनावरबाट दुख पाइन्छ । कालिज जंगली जनावरबाट बचाउन चुनौति रहेको कालिजपालक पाण्डे बताउँछन् ।
गत असार महिनाबाट कालिज पालनको थालनी गरेका पाण्डेले २५ गोटा कालिज बेचिसकेका छन् । अहिले उनी संग १ सय २० गोटा कालिज छन । जसमध्ये ४० गोटा पोथि कालिज हुन् । हरेक दिन कालिज पालेको ठाउँमा १० देखि १२ जना अवलोकन गर्न आउँछन् । कालिजपालन अवलोकन स्थल जस्तो बनेको छ । अवलोकन गर्न आउने किसानले कालिजपालन हेर्छन् । किनेर घर लैजान्छन । कालिजपालन बारे सुझाव दिन्छन । महाकृष्णले भने,‘कालिजपालनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको देखिन्छ । उनले कालिजपालनलाई अझ व्यवसायिक बनाउदै सबैको आकर्षणको केन्द्र बनाउने बताए । सरकारी कर्मचारी कृषि क्षेत्रमा लगाव राख्दैनन् भन्ने भ्रम चिरेर इच्छा शक्ति हुनेले कृषि क्षेत्रको उत्थान गर्छन भन्ने सन्देश प्रवाह गर्न खोजेको बताए ।
जुम्ला कालिजको लागि उपयुक्त हावापानी भएको क्षेत्र हो । यहाँ हजारौँ संख्यामा कालिजपालन गरेर आन्तरिक तथा ग्रामिण पर्यटनलाई बढवा दिन सकिन्छ ।
जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको संचालक महाकृष्ण पाण्डेले जानकारी दिए ।
स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यसाथ व्यवसाय शुरु गरिएको हो, उनले भने,‘अब कर्णालीमा पनि कालिज पालन गर्न सकिन्छ भन्ने थाहा भयो । यसको सिको विस्तारै सबैले गर्नेछन् । कर्णाली कालिजपालनको लागि एक नमुना क्षेत्रका रुपमा स्थापित होस भन्ने चाहान्छु । ’
हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसावले पनि निकै उत्तम हुने पशुपंक्षि विज्ञ बताउछन् । यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकहरुले समेत भन्न थालेका छन् । भेटनरी तथा पशुपालन विकास कार्यालय जुम्लाका प्रमुख गोविन्द महत यहाँ पालिएको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताउँछन् । यहाँ जंगलमा पाइने कालिजको भन्दा यही उत्पादन भएर हुर्केको कालिजको मासु झन राम्रो हुने देखिन्छ ।
जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फर्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । एक हजार बढि चल्ला उत्पादन गर्ने, तीन वर्षमा जुम्लालाई आवश्यक पर्ने कालिज उत्पादन गरी बजारमा लैजान सक्ने गरि तयारी थालिएको संचालक पाण्डे बताउँछन् ।
पहिलो चरणमा १५ लाख रुपैयाँ लगानी गरी कालिजपालन गरिएको हो । लगानीका लागि ऋण र सापट गरिएको छ । अहिले कालिजपालनमा पाण्डे परिवार नै लागेको छ ।
धेरैजसो धमाधम बिक्री भईरहेका छन । प्रति कालिज तीनहजार पाँच सय रुपैयाँमा बिक्री गरिएको छ । यो मुल्य करिब स्थानीय कुखुराको मुल्य बराबर भएकाले बिक्री बढि हुन थालेको छ ।
कालिज नेपालमा पाइने एक जंगली चरा हो । यो चरा कुखुरा जस्तै हुने भएकाले कतै कतै यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भनेको सुनिन्छ । कालिजहरू प्रायः पहाडी क्षेत्रको जंगलमा पाइन्छन् । सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको लोपहुने सम्भावना बढेको छ । कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरू हुन्छन् । बैसाख र जेठमा बढी जसो कालिजहरूले चल्ला निकाल्छन् । मंसिर, पुससम्म चल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागेपछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन् ।
पछिल्लो समयमा कालिजपालन एक आकर्षक काम भएकोले यहाँका किसान कालिजपालनमा हौसिन थालेका छन् ।

Next Post

नेकपा दुवै पक्षद्वारा आयोगलाई जबाफ

२९ पुष २०७७, बुधबार १९:२९
प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले निर्वाचन आयोगमा जवाफ पेस गरेका छन् । पार्टी फुटाएको अपजसबाट बच्न दुवै पक्षले कानुनबमोजिम आधिकारिकता दाबी नगरेपछि आयोगले सुधारसहितको प्रतिवेदन पेस गर्न दिएको एक साताको अवधिभित्रै दुवै पक्षले जवाफ पेस गरेका हुन् । तर दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ […]