पुस हाल्या (बनाएका) टाट्या (पुरी) माघ खान्या

  ।   १ माघ २०७७, बिहीबार १४:५०

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले ‘मकर संक्रान्ति’ पनि भनिन्छ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

तथापि नेपालकाे भुगाेल, जातीय र सांस्कृतिक विविधताका कारण एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ।

यसको ज्वलन्त उदाहरण नै माघे संक्रान्ति हो। थारु समुदायले सबैभन्दा बढी तामझामका साथ माघी भनेर मनाउने याे पर्व नयाँ वर्ष पनि हाे। मगर समुदाय समेतले धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, दलित समुदाय, राई, मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ-आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।

तथापि आज हामी पश्चिम नेपालकाे जुम्लामा माघे संक्रान्ति मनाउने चलनबारे पाठकहरुलाई थाेर बहुत जानकारी दिन खाेजिरहेका छौं।

जुम्ला सदरमुकाम खलंगामा नेपालगन्ज सुर्खेतबाट ल्याइएका तरुल, गन्जी किन्नेहरुकाे लाम छ। बाहिरका उत्पादन बिक्रीवितरण गर्ने थुप्रै थाेक तथा खुद्रा पसलहरुमा यी खान्कीहरु बेच्नलाई राखिएका छन्। जुम्ला बजार मात्र हाेइन विभिन्न क्षेत्रीय बजारमा पनि तरुल र गन्जी ठूलाे मात्रामा आयात गरिएकाे छ।

जुम्ला चन्दननाथ -५ सुनारगाउँ मष्टाेका धामी पुर्णसिंह कठायतका अनुसार आजकाे दश वर्ष अघिसम्म जुम्लामा यस्ता खान्किहरु देखिदैन्थ्याे। तराई, पहाड गरिरहनेले कहिलेकाहीँ चाकेपछि उनीहरु गाउँ फर्किदा यस्ताे हुने रहेछ है भनि सुनाउने गरेकाे भएपनि सबैकाे पहुँच थिएन।

‘माघिमा घरमा भएका खानाका परिकार बनाउने, छाेरी चेलीलाई माइत बाेलाएर खुवाउने गरिन्थ्याे,’ उनले भने, ‘सक्नेले माेहाेर, पैसा दक्षिणा दिने चलन थियाे। आजभाेली पहाड र तराईमा पाइने खानेकुरा पनि णखुवाउन थालिएकाे छ।’

यातायातको विकासले तराई र पहाडकाे खानपान हिमालसम्म पुगाएकाे छ। परिकारहरु थपिएका छन्। चालचलन बढेकाे छ। संस्कृति आदानप्रदान भइहहेकाे छ। यति हुँदा स्थानीय परिकार भने बिराना भएका छन्। अधिकांश जुम्लीहरुले पुरानाे खान्की भुलेकाे छन्।

चन्दननाथ -१० की ६० वर्षीया सितली हमाल आफूहरु सानाे हुँदाका दिन यसरी सम्झिन्छिन्।

‘माघ्या संक्रान्ति आउन लाग्याे भने हामी सियाला(दक्षिणतिरका घाम कम लाग्ने बस्ती) तिरका महिलाहरु भट्याैंला, भदुरी, पुँडेरा काेर्न पाडापट्टी(पारीलाे ठाउँतिर) जान्छियाैं। भट्याैंला उस्याएर खान्या र भदुरीकाे खुँड्या बनाइकन खान्छियाैं। पाहुना पाछा बन पनि खुवाउँदा छियाैं।’

भट्याैंला, भदुरी, पुँडेरा जंगलमा पाइने कन्दमुल हुन। भट्याैंला उसिनेर खाइन्छ भने पुँडेरा उसिनेर तथा काचै खान सकिन्छ। भदुरीकाे खुँड्या हुन्छ।

जंगलबाट काेरेर ल्याएका भदुरीलाई मसिनाे गरी कुट्ने। फलामकाे भाँडाेमा पकाउने र अर्ध तरल भएपछि काँसकाे थालमा मिलाएर राख्ने र सेलाएपछि काटेर टुक्रा टुक्रा बनाइ खाने गरिन्छ। याे अति नै मिठाे परिकारमा पर्छ। खुँड्या मास र कलाकाे पनि बन्छ। हाल आएर खुँड्या बनाउने चलन विस्तारै हराउँदै गएकाे बाउँछन् चन्दननाथ -१० का चेट्टाे सार्की।

‘परारपुडा खुँड्या अनिवार्य छियाे। जंगलबाट भदुरी ल्याउन पाएपछि असल भैगाे,’ उनले भने, ‘भदुरी नभयापछि कला वा  मासकाे भया पनि बनाउन्छियाैं। असाद्दै मिठाे लाग्दाेछियाे। आजभाेली उँधाेतिरबाट(तरबाट) आउन्या गुन्जि मिठा हुँदा छन्।’

जसरी माघे संक्रान्तिका परिकार र मनाउने चलन फरक छ, त्यसरी नै जुम्लामा पनि गाउँ र क्षेत्रपिछे चाडबाडका फरक चालचलन पाइन्छन्। खासगरी कन्दमुल र घरमा भएकाे राध्या कद्दु(उसिनेर खाने फर्सी) मार्सेकाे मिठाई, सेल टाट्या(पुरी) आदि पारिकारहरु हुन।

खानपिन बाहेक पुष मसान्तकाे दिन सिम्ता/मुढा बालेर रात ब्याउने गरिन्छ। साे अवसरमा देउडा पनि गाइन्छ। कथा, महाभारत, रामायण वाचन गर्ने, साईतर, सबैया भन्ने लगायत काम हुन्छन्। भाेली छकालै(माघ एक गतेकाे बिहानै)  नुहाउने। गाउँभरीका छाेरीचेलीलाई घरघरै पुगि गाेडा धाेई फलाहार (मार्स्या, कद्दुका डल्ला, तिर्खुला) बाँड्ने। दालकाे राेटी (खाेचा) खाने चलन पनि छ।

आज पनि सिंजा क्षेत्रमा यस्ताे गतिविधि भइरहेको छ। कनका सुन्दरी गाउँपालिका लुड्कुका युवाहरु पुस मसान्तकाे दिन वनमा मुडा काट्न जान्छन्। महिलाहरु वनबाट सिम्ता खेडेर ल्याउँछन्। राति उमेर मिल्ने र  मन मिल्नेहरु ठाउँठाउँमा अगिट्टाे हालेर साइतर भन्दै, देउडा गाउँदै बस्ने गरेकाे स्थानीय दिपेन्द्र न्याैपानेले बताए।

‘सिंजामा ताल छाेड्ने चलन पनि छ। यसमा राती छाेरीहरु सेल राेटी पकाउन लागेकाे बेला छाेरा मान्छे गएर खाेपाेबाट(झ्यालबाट) पैसाकाे पाेकाे पारेरकाे रुमाल फाल्छन्। छाेरीहरुले पैसा अनुसारको सेल, राेटी अरु परिकार त्यही रुमालमा पाेकाे पारेर बाहिर फालिदिन्छन्,’ उनले भने, ‘यसमा छाेरी मान्छेले ताल छाेड्नेलाई चिन्न आवश्यक हुँदैन। भाेली वा पर्सीपल्ट चिन्याे भने आश्चर्य प्रकट गरिन्छ।’

उनका अनुसार मसान्तकाे दिन केटाकेटी स्वतन्त्र हिडडुल गर्न पाउँछन्। पहिला संचारकाे विकास नभएको बेला याे प्रेम गर्ने रातकाे रुपमा पनि परिचित थियाे।

अगिट्टा(रातभर आगाे बालेकाे ठाउँमा) जानलाई घरका बाबुआमाले स्वतन्त्रता दिएका हुन्छन्। फुक्काफुल केटाकेटीले आफ्नाे जाेडी राेज्ने उपयुक्त माैका पाउँछन्। आफ्नाे प्रेमी राेज्ने पहिलाे खुड्किलाे छाेट्टी खेल्न जानु हाे। त्यसैले हाडसिंजामा यस्ताे देउडा गाइन्छ।

वारी लुड्कु, पारी लाहर्ज, माझकाे दियार।
शाहीकाे पाइलाे, मेराे निउताे, सब्डिजा खियार।।

“अर्थ: वारी लुड्कु गाउँ छ। पारी लाहर्ज गाउँ छ। बीचमा देवदारकाे रुख छ। मैलै खेल्नलाई निम्तो दिए। प्याराे मान्छेले याे भूमीमा पाइलाे टेकेका छाैं। साइत राम्राे हाेला भन्ने आशा राखिएको छ।”

यी हुन पुष मसान्तकाे रातभर हुने गतिविधि। रातरभर जाग्राम रहनेहरुले बिहानै नुहाएर माघि छाेप्छन्। घाम नलाग्दै याे कर्म गरिसक्नुपर्ने हुन्छ। रित्तो पुसलाई बिदाई गरेर धर्मी महिना माघकाे स्वागत गरिन्छ।

भाषा तथा संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्यका अनुसार माघिका हरेका परिकार पुषकाे रातभर बनाइसकेकाे हुनुपर्छ। सेल, टाट्या हालपाेल गरिसकेको हुनुपर्छ। माघमा त खानेमात्र हाे। संक्रान्तिकाे दिन गाउँभरीका छाेरीचेलीलाई ती टाटे बाँड्नुपर्छ। यसरी बाँडिने टाटे पुषमा हालेर माघमा खाने भन्ने गरिन्छ।  बिएल न्युजबाट साभार

Next Post

ठडिदैँ भवन, सुध्रिर्दै स्वास्थ्य क्षेत्र

१ माघ २०७७, बिहीबार १४:५०
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा वुधबार देखि १५ शैयाको अस्पताल निर्माणको काम अघि बढ्यो । गाउँपालिका अध्यक्ष नरविर रावतले अस्पतालको शिलान्यास गरेपछि १५ शैयाको अस्पताल निर्माणको काम शुरु भएको हो । कर्णाली प्रदेशमा ४२ वटा अस्पताल बनाउनु पर्नेमा जिल्लाको कनकासुन्दरी गाउँपालिकामा पनि अस्पताल निर्माणको काम अघि बढेको हो । अस्पताल निर्माण गर्नका […]