विपदबाट बच्न सिकाउँदै सुरक्षाकर्मी

  ।   ७ चैत्र २०७८, सोमबार ०७:४९

पछिल्लो समयमा जुम्लामा विपदका घटना बढ्न थालेपछि सुरक्षाकर्मीको टोली गाउँमै पुगेर विपद जोखिमबाट बच्नको लागि आवश्यक पर्ने तालिम प्रदान गर्न थालेको छ। विपद संभावित क्षेत्रमा पुगेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डेमोस्ट्रेशन देखाएर व्यवहारिक अभ्यास गर्न थालेको हो।

सुरक्षाकर्मीले थालेको विपद पूर्वतयारी तथा विपदमा परेकाहरुको उद्धार अभ्यासमा सर्वसाधारण नागरिक पनि जोडिने गरेका छन्। पहिलोपटक गाउँमै पुगेर सुरक्षाकर्मीको टोली विपद प्रकोप बारेको जानकारी दिन थालेपछि स्थानीय निकै उत्साहित छन्। अहिले कुनै समयमा अत्याधिक बाढीपहिरो आउने खतरा हुन्छ। कुनै समयमा सुख्खा खडेरीको सामना गरिरहनु परेको छ। स्थानीय बीरबहादुर शाहीले भने,‘सुरक्षाकर्मीको टोली समयमै आएर विपद उद्धार अभ्यास गरेर सचेतना प्रदान गर्न थालेको छ। स्थानीय पनि उत्साहपूर्वक सुरक्षाकर्मीले थालेको अभ्यासमा सहभागिता जनाइरहेका छन्।’

जुम्लाको तिला गाउँपालिका ३ त्रिबेणीमा सुरक्षाकर्मीले उद्धार अभ्यास गरेका थिए। अभ्यासमा फायर फाइटिङ, रिभर क्रसिङ, ग्यास सिलिण्डर फायर सेफ्टी र र्‍याफ्टिंग गरिएको थियो।

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले जुम्लामा बढी आगलागीको घटना हुने भएकोले सबैले फायर फाइटिङ अभ्यास सिक्नु पर्ने बताए। उनले भने,‘कुनै पनि विपदको घटनामा पहिलो जिम्मेवार भनेको स्थानीय नै हो। स्थानीयले जानकारी दिएपछि मात्र तालिम प्राप्त सुरक्षाकर्मी खटाउने हो। स्थानीय नै विपदको समयमा उद्धारमा खटियोस भन्ने हेतुले गाउँगाउँमै पुगेर उद्धार अभ्यास गरेर सिकाउन थालिएको हो।’ यो अभ्यासमा आगो कसरी निभाउने र नियन्त्रणमा लिने बारेमा सिकाइएको थियो।

जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै जाँदा नदीनाला बढ्दै गइरहेका छन्। यो अवस्था कसरी खोला तर्ने र खोलामा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा जानकारी दिइएको थियो। नदीमा बगेको मानिसलाई उद्धार गरेर अस्पतालसम्म कसरी पुर्याउन सकिन्छ भन्ने सन्देश रिभर क्रसिङमा देखाइएको थियो। यो अभ्यासमा स्थानीयको पनि सहभागिता रह्यो।

कर्णाली राजमार्ग जोडिए संगै अधिकांस घरमा ग्यासको प्रयोग भइरहेको छ। तर ग्यास सिलिण्डरबाट कसरी सुरक्षित रहने भन्ने बारेमा ज्ञान कसैलाई छैन। त्यो ज्ञान पनि व्यवहारिक रुपमै प्रदान गरिएको गणपति थापाले बताए। नदीमा बगेको बेला उद्धार गर्ने बारेमा पनि र्‍याफ्टिंग अभ्यास गरिएको थियो।

तिला गाउँपालिकाका ८६ वर्षीय कलु शाहीले सुरक्षाकर्मीको टोली आएर आफै कला कशौल देखाएर सर्वसाधारण नागरिकलाई सचेतना दिएको बताए। उनले भने,‘सुरक्षाकर्मी हाम्रा खम्बा जस्तै हुन्। उनीहरु आफ्नो सुरक्षा गरेर अरुलाई सुरक्षा दिने अभ्यास सिकाउन गाउँ आइपुगेका छन्। यो राम्रो कुरा हो।’

नेपाली सेनाले गत वर्ष जुम्लाको चन्दननाथ नगरपालिका बाहेकका सबै स्थानीयतहमा विपदबाट जोगिनको लागि अपनाउनु पर्ने सावधानीका बिषयमा सिकाइसकेको थियो।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले विपदबाट जोगिन उच्च सावधानी अपनाउनु पर्ने बताइन्। उनले भनिन्,‘यो क्षेत्र वर्षायाममा बाढी आउने क्षेत्र हो। खोलानाला बढेर मानवीय क्षेत्र हुने संभावना भएको क्षेत्र भएकोले यही क्षेत्रसंग मिल्दो जुल्दो अभ्यास गर्न थालिएको हो।’

जलवायु परिवर्तनका कारण विपदको उच्च जोखिममा छ। यो प्रभावित क्षेत्र पनि हो। प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘सवै जोखिमबाट बच्न अभ्यास गराएर सचेतना प्रदान गरिएको छ। यो कार्यमा स्थानीय नागरिकदेखि सुरक्षाकर्मी सबै सहभागी भएकोले आगामी दिनमा सहज हुने आशा गरिएको छ।

सानो सानो गल्तीले ठूलो क्षति हुने गर्दछ। उनले सानो कारणले ठूलो दुर्घटना नहोस भनेरै सुरक्षा समितिले नै यो उद्धार अभ्यासको तयारी गरेको उनले बताइन्। विपद जोखिमबाट बच्नको लागि गरिएको उद्धार अभ्यासको नेपाली सेनाका २४ नम्बर बाहिनीका बाहिनीपति रामचन्द्र केसी, नन्दाबक्स गणका गणपति रविन थापा, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिको संयोजक बिजयाकुमारी प्रसाई, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द लगायत स्थानीय तहका जनप्रतिनिधिले अवलोकन गरेका थिए।

अभ्यास स्थलमा विपदको बेला आवश्यक पर्ने सामग्री बारेको स्टल समेत राखिएको थियो। विपद आइपर्दा आवश्यक पर्ने सामग्रीको प्रयोग कसरी गर्ने भन्ने बिषयमा जानकारी दिइएको गणपति थापाले बताए। सामग्री राख्नको लागि नेपाल रेडक्रस लगायतका संघसंस्थाले सहयोग गरेका थिए।

Next Post

मुख्यमन्त्री दलित आय आर्जन प्रवर्द्धन कार्यक्रम सञ्‍चालन सम्बन्धी सूचना

७ चैत्र २०७८, सोमबार ०७:४९
                                                               कर्णाली प्रदेश सरकार                                 […]