विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना जुम्लाको दुर्गम बस्तीमा

  ।   ७ चैत्र २०७८, सोमबार २०:२६

जुम्ला स्थित नेपाली सेना विशेषज्ञ चिकित्सक लिएर स्वास्थ्य शिविर सञ्चालन गर्न दुर्गम गाउँमा पुगेको छ । नेपाली सेना नन्दाबक्स गण र २४ नं. बाहिनीको टोली औषधि र चिकित्सक लिएर जुम्लाको गुठिचौर गाउँपालिका १ मणिसाँघुमा पुगेको हो ।


स्वास्थ्य शिविर चलाउनको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय संग समेत समन्वय गरिएको नेपाली सेनाले जनाएको छ । गुठीचौर गाँउपालिका–१ मणीसाँघु स्थित खड्गादेवी माध्यमिक विद्यालयको मैदानमा स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा कोभिड–१९ विरुद्धको बुस्टर खोप, विद्यालयलाई खेलकुद सामाग्री वितरण गर्नुका साथै निर्वाचन केन्द्रीत सचेतनामुलक कार्यक्रम गरिएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।


नं. २४ बाहिनी अड्डाको निर्देशनमा २४ नं. फि.ए. गुल्मबाट डाक्टर अधिकृत १ जना सहित ६ जना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट स्त्री रोग विशेषज्ञ तथा अन्य डाक्टर सहितको मेडिकल टिम शिविरमा पुगेको थियो । गाउँमै सेनाले विशेषज्ञ चिकित्सकको टोली लिएर गएपछि स्थानीय निकै उत्साहित थिए । लामो समय देखि कोरोना महामारीका कारण सदरमुकाम खलंगा आएर स्वास्थ्य जाँच गर्न नसकेका नागरिकलाई लक्षित गर्दै सेनाले स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा ६ सय १८ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । पुरुष २१० र महिला ४ सय ८ जना थिए । बुस्टर खोप १ सय ३ जनालाई लगाइएको थियो । जसमा महिला ५१ जना र पुरुष ५२ जना रहेका छन । आरडिटी परिक्षण २१ जनाको गरिएकोमा दुई जनालाई कोरोना पोजेटिभ देखिएको नेपाली सेनाले जनाएको छ ।


सेनाले चिकित्सक सहित औषधि बोकेर गाउँबस्तीमा पुगेपछि उल्लासपुर्ण वातावरणमा स्थानीयले उपचार गरेका थिए । सेनाले उक्त अवसरमा द्धन्द्धको समयमा छोडिएका विस्फोटक पदार्थबाट जोगिनको लागि सचेतना कार्यक्रम समेत गरेको थियो । गणपति थापाले भने,‘द्धन्द्धकालमा दुबै पक्षबाट विस्फोटक पदार्थ छोडिएको हुन सक्छन । वेवारिसे अवस्थामा भेटिएका विस्फोटक पदार्थले कयौले हात र आँखा गुमाएका छन । त्यसैले शंकास्पद वस्तु भेटिने वित्तिकै नेपाली सेनालाई खबर गर्न भन्यौँ ।’


स्थानीय तहको चुनाव नजिकिदै छ । चुनावमा विरोधी पक्षले पनि शंकास्पद वस्तु राख्न सक्ने भएकोले यथासिघ्र जानकारी दिन आग्रह गरिएको थियो । यो चिज सेनाले मात्र डिस्पोजल गर्छ । यथासिघ्र खबर गर्नुस । हामी तपाइहरुको सुरक्षा प्रदान गर्छौ । उनले भने,‘जनताको सम्पुर्ण सुरक्षाको लागि सेना प्रतिबद्ध रहेको बारेमा समेत अवगत गरायौँ । ’
शिविरमा ‘जोइन्ड नेपाल आर्मी’ नामक बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । जनतामा नेपाली सेना प्रति सकरात्मक भावनाको विकास होस । युवा शक्ति नेपाली सेनामा भर्ति हुन आकर्षित होस भन्ने हेतुले जनचेतना प्रदान गरिएको थियो । स्थानीयले सेनामा भर्ति हुने योग्यता र भर्ति हुन चाहिने मापदण्डका बिषयमा समेत प्रश्न राखेका थिए ।


शिविरमा ओपिडी सेवा,गाइनो,नाक,कान,घाँटीको उपचार गरिएको थियो । साथै बिरामीको अवस्था हेरेर औषधि समेत उपलब्ध गराइएको गणपति रविन थापाले जानकारी दिए । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले कोभिड १९ विरुद्धको बुस्टर खोप लगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ईश्वर सुवेदीले डायबेटिज, युरिक एसिड र मुटु रोगका बिरामीलाई काउन्सिलिङ र डेइट एबिल बारे जानकारी दिएका थिए ।
बाहिनीपति रामचन्द्र केसी र सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले मेडिकल क्याम्पको निरीक्षण गरेका थिए । कोभिड महामारीको समयमा अस्पताल सम्म पुग्न नसकेका बिरामीको लागि निकै राम्रो काम भएको बताएका थिए ।


गणपति थापाले निशुल्क स्वास्थ्य शिविर चलाएर स्थानीयलाई अत्यावश्यक औषधि उपचार प्रदान गरिएको बताए । उनका अनुसार यो शिविर सञ्चालनका लागि जिल्ला सुरक्षा समिति,स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि,जिल्ला स्थित सरकारी कार्यालयले सहयोग गरेका छन । शिविरका अवसरमा सामुदायीक प्रहरी कार्यालयले सामाजिक विकृति महिला हिंसा,लागुऔषध दुर्व्यसनीको बिषयमा जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो । शिविरमा डा.सरोज काफ्ले,डा.गुणवति र डा. तविन लगायतको टोली गाउँमा पुगेको थियो ।

सेनाले गरेको शिविरमा एक हजार बढि जनसहभागिता थियो । दुर्गमका नागरिकलाई गाउँबस्तीमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेकोमा स्थानीय र स्थानीय सरकारले आभार व्यक्त गरेको छ । सेनाले जुम्लाका स्थानीय तहमा विपद जोखिमबाट बच्ने उपायका बारेमा डेमो देखाएको छ । बुस्टर खोप बोकेर गाउँगाउँमा पुगेको छ । स्वास्थ्य शिविरका माध्यमबाट दुर्गमका नागरिकलाई स्वास्थ्यको पहुँच सम्म पुर्याउन पहल गरिरहेको छ ।

Next Post

संघीयता अनुकुलको निजामती ऐन चाँडै आउनुपर्छ : अध्यक्ष रावल

७ चैत्र २०७८, सोमबार २०:२६
गोल्डेन बुढा, नेपाल निजामति कर्मचारी संगठन(निजामति) का केन्द्रीय अध्यक्ष हरीबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयता अनुकुलको निजामति ऐन चाँडै आउनु पर्नेमा जोड दिएका छन । उनले जब सम्म निजामति ऐन आउँदैन । तब सम्म कर्मचारी व्यवस्थापन भद्रगोल हुने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जुम्लाको पाँचौ जिल्ला अधिवेशनमा संवोधन […]