जहाँ बन्छन् खरायोको ऊनका टोपी

  ।   ५ असार २०७९, आईतवार १३:०२

जिल्लाको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी बुन्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । धेरैले त यसलाई खरायोको गाउँका रुपमा चिन्छन् ।

हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि भइरहन्छ । ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । उनले ६० वटा खरायो पालेका छन् । चारवटा खरायोको ऊनबाट एउटा टोपी बुन्छन् । त्यसलाई बजार लगेर ३ हजार रुपैयाँमा बेच्छन् । एउटा टोपी तयार हुन दुई दिन लाग्छ । विष्णु गाउँमै एक नमुना खरायो पालक किसान हुन् ।

विष्णुका बुबा तुलराज रोकाया भेडापालक किसान थिए । उनले नै सबैभन्दा पहिले खरायो भित्र्याएका हुन् । भेडाको ऊनबाट राडीपाखीलगायत कपडा बुन्दै आएका तुलराजले पहिलो पटक खरायोको ऊनबाट टोपी बुने । त्यो टोपी दुई सय रुपैयाँमा विक्री भएको थियो । पहिलो पटक खरायोको टोपी बजारमा लैजान पाउँदा खुसी भएका उनले दोस्रो पटक मफ्लर बुने । त्यो मफ्लर ५ हजार रुपैयाँमा बिक्न थाल्यो । अनि व्यावसायिक रूपमा खरायोपालनमा लागेको विष्णुको भनाइ छ ।

विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा ८ वटा टोपी तयार पार्छन् । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ कमाउँछन् । रोकायाबाडामा ४ सयभन्दा बढी घर छन् । तीमध्ये आधा घरधुरीमा खरायो पालिएको छ । सबैको घरमा १० देखि ८० वटासम्म खरायो पालिएको छ । गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मानमा पनि खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ । जुम्लामा बुनेको टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म पुगिसकेको छ ।

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायोपालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । विष्णुले मात्र खरायोको टोपी बेचेर पाँच लाख रुपैयाँ बचत गरेका छन् । नुन, तेल र बच्चाबच्चीको स्कुल खर्च पनि त्यही रकमले चल्छ । ‘अर्काको चाकरी गरेर ऋण माग्नुपरेको छैन । गाउँमा सबैले खरायो पालेपछि व्यावसायिक रूपमा लागेको छु । खरायोको टोपी बेचेर १५ लाख रुपैयाँ कमाएको चन्दननाथ बहुउद्देश्यीय सहकारीले यस वर्ष ३० लाख रुपैयाँको टोपी बेचिसकिएको बताएको छ । सबै टोपी रोकायाबाडाबाटै आएका हुन् ।

किसानबाट ३ हजारमा टोपी किनेर ३ हजार ५ सयमा बेच्ने गरिएको सहकारीका कार्यकारी प्रबन्धक ऋषिराम पाण्डेले जनाए । ‘टोपीको माग सबैतिर छ । तर मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ,’ उनले भने । सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ । विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेका छन् । प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षकदेखि मन्त्रीसम्म खरायोको टोपी पुगेको पाण्डेको भनाइ छ ।

Next Post

कर्णालीका कार्यकर्तालाई प्रशिक्षण दिँदै विप्लव

५ असार २०७९, आईतवार १३:०२
गोल्डेन बुढा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० जुम्ला आइ पुगेका छन् । चन्द कर्णाली प्रदेशको राजधानी सुर्खेत, कालिकोट हुँदै आइतबार साझ जुम्ला आइपुगेका हुन् । जिल्ला पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न चन्द जुम्ला आइपुगेका सो पार्टीले जनाएको छ । चन्दले सोमबारबाट सुरु हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन […]