मार्सी फल्ने फाँटमै थुप्रिन्छ फोहोर

  ।   ८ असार २०७९, बुधबार १६:०२

जुम्लामा जेठको पहिलो साताबाट रोपाइँ सुरु हुन्छ, जसका लागि खेतको आली बनाउने, सिँचाइ गर्नेदेखि माटो सम्याउने कामको सुरु अगाडि नै भइहाल्छ । तर यो वर्ष खेतबारीमा बगेर आएको फोहोरका कारण रोपाइँमा निकै समस्या भएको किसानले दुखेसो गरेका छन् ।

खेतमै प्लास्टिकजन्य वस्तु थुप्रिएको छ । अस्पतालबाट बगेर आएका सुई समेत खेतमै जाने गरेकोले रोप्न निकै कठिन भइरहेको किसान बताउँछन् । चन्दननाथ ७ का राजबहादुर महत प्रत्येक किसानको खेतबारीमा न्यूनतम १ बोरा जति फोहोर निस्कने गरेको दाबी गर्छन् ।

उनले भने, ‘बजारमा थुप्रिएको फोहोर खोलामा फालेकाले बगाएर खेतबारीसम्म ल्याइपुर्‍याउँछ ।’ सदरमुकामसँग जोडिएको छिना जिउलोमा फोहोर बढी जाने गरेको छ । फोहोरले माटोको उर्वराशक्ति नै ह्रास भएर उत्पादनमा कमी आउने गरेको किसान बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्र प्रतिदिन ८० देखि एक क्विन्टलसम्म फोहोर निस्कन्छ । त्यो फोहोर व्यवस्थापन गर्ने अवस्था छैन । सिधै खोलामा फ्याँकिन्छ । अस्पतालबाट निस्केको फोहोरमा औषधिजन्य वस्तु र सुईसँगै भेटिन्छन् । रोप्ने र फोहोर पन्छाउने क्रममा कैयन किसानको हातमा बिझेका छन्,’ महतले भने, ‘सदरमुकाम खलंगा त फोहोर भयो नै, किसानको खेतमा समेत फोहोर पुगेकोले ठूलो समस्या निम्तिएको छ ।’

सदरमुकाम खलंगा क्षेत्रका व्यापारी समेत बोत्तलदेखि रित्ता कार्टुन सम्म खोलामै फाल्छन् । उनीहरु कुहिने र नकुहिने वस्तु छुट्याउँदैनन् । उनले भने, ‘हल्का खालको फोहोर सिधै खेतसम्म पुगेको छ । वर्षायाममा त खेतमै फोहोर डुबुल्की मारिरहेको देखिन्छ ।

सदरमुकाम खलंगामा थुप्रिएको फोहोरले चन्दननाथ र तातोपानीसम्मका खेत बिगारेको छ । नगरप्रमुख राजुसिंह कठायत फोहोर लुकाउनको लागि अनेक विकल्प अपनाइरहेको बताउँछन् । उनले भने, ‘खलंगा फोहोर छ । जहाँतही फोहोर हुँदा दुगन्ध फैलिइरहेको छ । खेतबारीमा समेत फोहोर थुप्रिएको छ । नगरपालिकाले फोहोर उठाउँछ । नगरबासीले साथमा साथ दिनुपर्छ । ’

धान रोप्न खेतमा पस्न समेत डराउनु पर्ने अवस्था रहेको छ । अस्पतालबाट निस्कने फोहोर खोलामा फाल्न दिन नहुनेमा स्थानीयको जोड छ । मार्सीधान जुम्लाको ब्राण्ड हो । ब्राण्डको रुपमा रहेको मार्सी फल्ने फाँट फोहोरले ढाकिनु राम्रो होइन । उद्योग वाणिज्य संघ जुम्लाका पूर्वअध्यक्ष गोविन्दबहादुर शाही बजारको फोहोर लुकाउन नगरपालिकाले तदारुकता देखाउनु पर्नेमा जोड दिन्छन् ।

उनले भने, ‘फोहोर लुकाएर हराभरा खलंगा बनाउनु सबैको उत्तिकै दायित्त्व रहन्छ । तर उठेको फोहोर लैजान हरेक दिन नगरपालिकाको गाडी आइदिन पर्‍यो ।’

पटकपटक होटल तथा व्यापारीहरुलाई बोत्तल र प्लाष्टिकजन्य वस्तु जथाभावी नफाल्न आग्रह गरिएको भएपनि अटेर गरिरहेका छन् ।

Next Post

जुम्लामा नुनको अभाव, खाली भए गोदाम

८ असार २०७९, बुधबार १६:०२
जुम्लामा नुन अभाव देखिएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली […]