जमघट र प्रदर्शनले दोस्रो लहरको संक्रमण जोखिम

  ।   ३ माघ २०७७, शनिबार ११:१०

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण जोखिम बढेको विज्ञ तथा चिकित्सकले औंल्याएका छन्। यसअघि नै युरोप तथा भारतका केही ठूला सहरमा दोस्रो लहरको संक्रमण देखा परिसकेको छ।

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण निम्त्याउने गतिविधि भइरहेका कारण यस्तो जोखिम बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्नु, विघटनको पक्ष र विपक्षमा राजनीतिक भेला, जुलुस प्रदर्शन हुनु, स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्नुजस्ता कारणले दोस्रो चरणको संक्रमण जोखिम बढेको पुनको तर्क छ। ‘जुलुस र प्रदर्शन हुनु भनेको भीड बढ्नु हो, भीड हुनु भनेको संक्रमण बढ्नु हो,’ उनले भने।

नेपालमा तथ्यांकमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि मानिसमा बढ्दै गएको लापरबाहीले पनि दोस्रो लहरको संक्रमण निम्त्याउन सक्ने डा. पुनले बताए। ‘अहिले धेरैले मास्क लगाउन छाडेका छन् र मास्क नलगाईकन जमघट गर्ने क्रम पनि बढेको छ, जनस्वास्थ्य मापदण्ड पालनामा पनि बेवास्ता गर्न थालेको देखिएको छ,’ उनले भने।

नेपालमा कोरोना संक्रमणदर बढेका बेलामा ७० प्रतिशत हाराहारीले मात्र मास्क प्रयोग गरेकोमा अहिले त्यो संख्या पनि घटिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले बताए। ‘अहिले मानिसले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्दै गएको देखिन्छ,’ उनले भने। एकातिर मास्क प्रयोग घट्दै जानु र अर्कोतिर स्कुल तथा सिनेमा हलसमेत खुल्दै जानुले दोस्रो लहरको संक्रमण जोखिम बढेको उनले बताए। ‘यसैगरी जनस्वाथ्य मापदण्ड पालना नभए दोस्रो लहरको संक्रमण नहोला भन्न सकिन्न,’ उनले भने।

युरोपमा क्रिसमसको जमघटसँगै दोस्रो लहरको संक्रमण फैलिनु, बढी जमघट हुने भारतको नयाँदिल्ली र अमेरिकामा राष्ट्रपति चुनावका बेला दोस्रो लहरको संक्रमण फैलिएकाले नेपालमा पनि अहिलेको राजनीतिक गतिविधिले त्यस्तो सम्भावना बढाएको छ। ‘युरोपका चिकित्सकले दोस्रो लहरको कोरोना संक्रमण निम्तिनुलाई क्रिसमसमा जनस्वास्थ्य मापदण्ड पालना नभएको निष्कर्ष निकालेका छन्,’ डा. पुनले भने।

नेपालमा कोरोना भाइरस प्रकोप भारतसँग सम्बन्धित भएकाले भारतमा घटेको अवस्थामा यहाँ युरोपकै जस्तो संक्रमणम हुने स्थिति नदेखिए पनि अन्य कारणले जोखिमको सम्भावना बढेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए। भारतमा कोरोना भाइरसको खोप लगाएर जोखिम घट्ने स्थिति रहे पनि नेपालमा खोप आइनसकेको र मास्क लगाउने क्रम पनि घट्दै गएकाले पुनः संक्रमण बढ्ने खतरा रहेको पाण्डेले औंल्याए।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा घट्दै गएको संक्रमण पुनः फैलिन सक्ने सम्भावना भएकाले अहिले जनता र राजनीतिक दलले गरेको बेवास्ता घातक बन्न सक्ने विज्ञ चिकित्सकको चेतावनी छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले अहिले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाउने बानी घट्दै गएकाले चुनौती थपिएको बताए।

कोरोना संक्रमणले जीवन जाने, फोक्सोमा गम्भीर तथा दीर्घ असर पर्ने भएकाले सबैलाई सचेत हुन डा. राजभण्डारीको आग्रह छ। ‘खोप आउने कुरा चलेसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडेको देखिएको छ। कति त खोप कुरेर अहिले पनि घरभित्रै छन्,’ उनले भने। नेपालमा खोप आए पनि सुरुमा सबैको पहुँचमा पुग्ने स्थिति नभएको अवस्थामा सबैले अनिवार्य रूपमा मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम राख्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ।

Next Post

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

३ माघ २०७७, शनिबार ११:१०
नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत […]