नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।
नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित छन् । भेट बिहान साढे नौ बजेदेखि सुरु भएको थियो ।
भारतीय रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । त्यसपछि नै नेपाल-भारत सम्बन्धमा तिक्तता देखिएको थियो । त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो ।
साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको थियो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार ज्ञवाली स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ ।
शनिबार बिहान ज्ञवालीले नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाण का आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।
त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।