।   ३ श्रावण २०७९, मंगलवार १२:५६

जीर्ण बन्दै डोरबहादुरले बनाएका संरचना
पातारासी गाउँपालिका–५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर बिष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो । ‘न केही खबर पाइयो न खोजखबरीको खबर सुनियो,’ उनले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ ।’ उनका छिमेकी हरिचन्द्र बुढा पनि चौधबीस क्षेत्र बदल्ने डोरबहादुरको प्रतीक्षामा छन् । ‘बिष्ट अहिले हामीसँग त छैनन्, तर उनले गरेका कामहरू हाम्रा लागि प्रेरक छन्,’ उनले भने, ‘उनका कामहरू आँखाअगाडि देख्दा डोरबहादुरलाई बिर्सिनै मुस्किल हुन्छ ।’

स्थानीयका अनुसार बिष्ट चौधबिस क्षेत्रका भाग्य र भविष्यका रेखा हुन । मानवशास्त्री बिष्टले पातारासी–५ डोलकाटीमा २०४८ सालमा कर्णाली इन्स्टिच्युट खोले । उनको गाउँलाई नै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने धोको थियो । डोरबहादुरले पहिलोपल्ट गाउँमा शिक्षक ल्याएर चौधबीसमा शिक्षाको ज्योति फैलाएका थिए । उनले ऋणमोक्ष मावि स्थापना गरी विद्यार्थीको सहज पठनपाठनमा साथ दिए ।

२०५० सालमा नजिकैको लम्केली खोलामा विद्युत् निर्माण गरी गाउँ झिलिमिली बनाइदिए । चौधबीसको विकासका लागि उनैले विदेशी दाताहरू गाउँमा ल्याए । उनको सक्रियतामा हेलिप्याड बनेपछि आएको हेलिकोप्टर हेर्न आसपासका गाउँलेहरूको पनि भीड लागेको थियो । ‘चौधबीस बदल्ने बिष्टको ठूलो सपना थियो,’ बुढाले भने, ‘तर त्यो सपना कहाँ गयो रु, कुन दैवले टुटायो पत्तै भएन ।’

बिष्टले स्थानीयलाई विभिन्न कृषि उत्पादनसँग जोडे भने चौधबीस क्षेत्रबाट सडक खनेर सदरमुकाम खलंगा पुर्‍याउने योजना बुनेका थिए । हेलिकोप्टरबाट गाडी ल्याएर गाउँदेखि खलंगासम्म सवारी आवागमन सुरु गर्ने उनी बताउँथे । चौधबीसका ६९ वर्षीय कन्नबहादुर बुढाका अनुसार पातारासीको लासीमा बृहत् पर्यटकीय भवन बनाएर चौधबीस क्षेत्रका हरेक पर्यटकीय स्थलको अभिलेखीकरण राख्ने काम पनि बिष्टले थालेका थिए । ‘खस भाषा बचाउनेदेखि चौधबीसको समग्र समृद्धिको खाका कोर्ने काममा उनले क्रमशः काम गरिरहेका थिए,’ उनले भने, ‘गाउँमा पहिलोपल्ट इन्जिनियर ल्याएर विभिन्न विकास निर्माणका योजना उनैले बताएका हुन्, डोरबहादुर भएको भएको भए अहिलेसम्म पातारासीको मुहार फेरिन्थ्यो ।’

डोरबहादुरका छोरा केशर र नाति बिराज पनि चौधबीसमा पुगे । उनीहरू सरकारी लाभको पदमा समेत थिए तर छोरानाति मिलेर बाबुले थालेको काममा निरन्तरता दिन नसकेको स्थानीयको गुनासो छ ।

कन्नबहादुर अहिले पनि दैनिक एक पटक डोरबहादुर बिष्टको निवाससमेत रहेको कर्णाली इन्स्टिच्युटमा पुग्छन् । खरायोका लागि घाँस काट्छन् र डोरबहादुरलाई सम्झिँदै घर फर्किन्छन् । उनी हराएको लामो समय बित्दा पनि सरकारले कुनै पहल नगरेको उनको गुनासो छ । उनी बेपत्ता भएपछि उनले बनाएका संरचना जीर्ण बन्दै गइरहेका छन् ।

२०४७ सालको अन्त्यतिर जुम्ला पुगेका बिष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरण गर्न पातारासी–५ डोलकाटीलाई स्थायी कर्मथलो बनाउने निधो गरेका थिए  । बिष्ट २०५२ पुस २५ गते नेपालगन्ज जान्छु भनेर गाउँबाट हिँडे पनि अहिलेसम्म सम्पर्कमा छैनन् । कर्णाली इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहोरालाई संस्था जिम्मा लगाएर हिँडेका थिए । बिष्ट २०५२ पुस २७ गते नेपाल वायु सेवा निगमको जहाजबाट नेपालगन्ज गएर गाडीमार्फत कैलालीको चिसापानी गएको अनुमान छ ।