काँग्रेसको पहिलो जिम्मेवारी संविधान जोगाउनु हो : मिनेन्द्र रिजाल

  ।   ३ माघ २०७७, शनिबार १९:५४

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसलाई सत्तामा जान अहिले कुनै हतार नभएको बताएका छन्। नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिका स्तरीय समितिले शनिबार छुट्टा–छुट्टै स्थानमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता रिजालले कांग्रसलाई सत्तामा जान हतार नभएको बताएका हुन्।

‘नेपाली कांग्रेसको पहिलो जिम्मेवारी संविधान जोगाउने हो, संविधान र लोकतन्त्र जोगियो भने मात्र देश जोगिन्छ, त्यसपछि हामी समृद्धिको बाटोमा जान सक्छौं, कांग्रेसलाई सत्ताको चिन्ता होइन,’ उनले भने।

कांग्रेसले दुःख गरेर बनाएको संविधान अहिले धरापमा परेको भन्दै उनले संविधान जोगाउने दायित्व नेपाली कांग्रेसकै काँधमा आएको बताए। ‘सत्तामा पुगिन्छ कि भन्ने कांग्रेसको माग होइन,’ उनले भने,‘कांग्रेस सत्तामा जान्छ, कांग्रेसले नेपाललाई समृद्धिको बाटोमा लैजान्छ, तर संविधान भत्काएर होइन, संविधानलाई शिरमा राखेर जान्छ कांग्रेस।’

नेपालको नायक नेपाली जनता भएको उल्लेख गर्दै उनले कम्युनिस्टहरुको असली चरित्रलाई जनताले मुल्यांकन गर्नुपर्ने बेला आएको बताए। कम्युनिसट पार्टीभित्रको आन्तरिक कलहका कारण प्रतिनिधी सभा विघटन भएको उनको भनाई छ। प्रतिनिधी सभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव गर्ने नियत नरहेको नेता रिजालको दाबी छ।

‘ओलीले चुनाव गर्नका लागि संसद विघटन गरेका होइनन्, चुनाव गर्ने मान्छे पार्टी फुटाएर चुनावमा जाँदैन, हिजो चुनावमा जाँदाखेरी प्रचण्डलाई मिलाएर जाने ओली आज चुनावमा जानका लागि प्रचण्डलाई निकालेका हुन् त?’ उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको भन्दै उनले संसद पुनःस्थापना भएपनि वा निर्वाचन भएपनि सत्ताबाट बाहिरिने ठोकुवा गरे।

‘ओली निर्वाचन भएपनि जान्छन्, संसद पुनःस्थापना भएपनि जान्छन्, तर को जाने, को नजाने भन्ने महत्वपुर्ण कुरा होइन, नेपालमा विधिको शासन रहने कि नरहने भन्ने महत्वपुर्ण कुरा हो,’ उनले भने।

उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार कतै बताए। प्रधानमन्त्री ओली अधिनायकवादको बाटोमा हिँडिरहेको र उनले कानुन, संविधान, अदालत, न्यायालय, लोकसेवा आयोग, निर्वाचन आयोग सबैलाई आफ्नो हातमा लिएको उनको आरोप छ।

अर्को प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले पार्टी महाधिवेशनको महोलले सबैलाई छोएको बताए। ‘पार्टीको महाधिवेशनमा सभापति, महामन्त्रीलगायत सबै पदमा दुई भन्दा बढी ब्यक्तिको उम्मेदवारी रहन्छ,’ उनले भने ।

दुबै ठाउँमा आयोजित विरोध सभालाई कांग्रेस बाँकेका सभापति किरण कोइराला, पुर्व सभापति गजेन्द्र हमाल, प्रदेश सांसदद्धय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, कांगे्रस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, कांग्रेस नेता निरन्जनसिंह सिजापति, कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिष्ट, नेता शिवकुमार बर्मा लगायतले सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार बाँकेका ८ वटै स्थानीय तहमा विरोध सभा सम्पन्न गरेको छ।

Next Post

जुम्ली सेवा समाज कतार हरेक नेपालीको अभिभावक

३ माघ २०७७, शनिबार १९:५४
जुम्ली सेवा समाज कतारको पहिलो वार्षिक उत्सव सम्पन्न भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा छिमेकी राष्ट कतारमा छरिएर रहेका जुम्ली दाजुभाईहरुको सहभागितामा प्रथम वार्षिक उत्सव सकिएको हो । कतारमा छरिएर रहेका जुम्ली दाजु भाइहरुको एकेबद्धता कायम गर्न, सुख दुख साट्न तथा विभिन्न समस्याहरुको समधानका विषयमा छलफल गरिएको जुम्ली सेवा समाज […]