जुम्लामा कानुन विषयमा विद्यार्थी आकर्षण बढ्दो

  ।   ४ भाद्र २०८०, सोमबार १३:२९

जुम्लामा पछिल्लो समय एसईपछि कक्षा ११ मा कानुन विषय लिएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ। अध्ययनकै लागि जुम्ला बजारमा बस्ने सोच लिएर आएकी सिंजा-६ कि विपना रोकायाको विशेष रोजाइमा कानुन विषय परेको छ। भविष्यमा पनि कानुन पढ्ने उद्देश्य लिएकी उनी अहिले कानुन नै विषय लिएर चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा पढिहेकी छिन्।

‘अहिले जुम्लाको सदरमुकाम खलंगामा कोठा भाडामा बसेर अध्ययन गर्दै छु।,’ उनले भनिन्, ‘पछि पढ्न सजिलो होस् भनेर साधारण कानुनबारे बुझ्दै छु।’ नेपालमा उच्च शिक्षाका लागि धेरै विषय भए पनि भविष्यमा राम्रो हुने ठानेर कानुन विषय पढ्ने सोच बनाएको उनी बताउँछिन्। ‘भविष्यमा कानुनी क्षेत्रमा राम्रो गर्ने धोको छ,’ रोकाया भन्छिन्, ‘यो विषय मेरा लागि नितान्त नौलो हो, तसर्थ मेहनत गरेर नै कानुनको क्षेत्रमा काम गर्ने मन छ।’

उच्च शिक्षाको पाठ्यक्रममा विकल्पका रूपमा धेरै विषय भए पनि कानुनको माग भने निकै रहेको विपना बताउँछिन्। जुम्लाको सदरमुकाम खलंगामा अवस्थित चन्दननाथ नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक टंक बहादुर महतका अनुसार उच्च शिक्षाका लागि कानुन विषय निकै राम्रो रोजाइ हो। यो विषय अध्ययन गर्दा पछि बिएएलएलबी पढाइका लागि राम्रो आधार तयार हुन्छ।

विद्यार्थीहरूमा कानुन विषयप्रतिको आकर्षण विगतमा भन्दा बढेको अनुभव उनको छ। कक्षा ११ र १२ मा यो विषयप्रतिको माग बढेकाले आफ्नो विद्यालयमा २०७८ साल साल देखि यो विषय राखिएको उनले बताए। ‘एसइई दिएर बसेका विद्यार्थीहरूले विद्यालय भिजिटका बेला कानुन विषयबारे बुझ्न चाहे, अभिभावकको सक्रियता पनि त्यस्तै भेटियो,’ उनले भने, ‘कानुनप्रतिको आकर्षण बढेको बुझेरै हामीले सो विषय सुरु गरेका हौं।’

प्रदेश र स्थानीय तहमा कानुनी सल्लाहकार, मेयर, उपमेयरका लागि पनि देशको संविधान, ऐनकानुन बुझ्न मद्दत गर्ने भएकाले राष्ट्रका नेतृत्वलाई गुणस्तरीय बनाउन कानुन विषयले मद्दत गर्ने उनी बताउँछन्। कानुनमा नै भविष्य बनाउन चाहनेहरूका लागि प्लस टुबाट नै त्यसतर्फ उन्मुख हुँदा भविष्यमा सहज हुने प्रअ महत बताउँछन्।

अर्की विद्यार्थी आकृति न्यौपानेका अनुसार जुम्लामा  महिला वकिल कमै छन्, त्यसैले अवसर देखेर कानुन पढेको सुनाइन्।महिलाको बारेमा वकालत गर्ने वकिल नहुँदा समस्या भएको उनले बताइन्। चन्दननाथ नमुना माध्यमिक विद्यालयमा २५ जना विद्यार्थी कानुन पढ्दै छन्। जसमध्ये १२ छात्र र १३ छात्रा छन्।

यस्तै कानुन विषय पढाउने शिक्षक खगेन्द्र काफ्ले भन्छन्, ‘अनुसार यो विषय पढेका जनशक्ति न्यायाधीश, सरकारी वकिल, प्राइभेट वकिल, कानुन विषयमा माथिल्लो तह अध्ययन गरेपछि शिक्षकसमेत बन्न सक्छन्। यो विषयमा ज्ञान भएकाले काम गर्न सक्ने समयसम्म कुनै अवरोध हुँदैन, कानुन शिक्षा लिएकालाई अवसरै–अवसर छन् । कानुन पढेर तर्क गर्न सक्ने क्षमता विकास हुन्छ ।’ विद्यालयमा कानुन विषय अध्ययनका लागि ४० सिट भएको काफ्ले बताउँछन्। जुम्लाको जिएमडी बोडिङ स्कुलमा पनि कानुन विषय पढाइ भइरहेको छ।

Next Post

सरकारी टोली बडिमालिका प्रस्थान

४ भाद्र २०८०, सोमबार १३:२९
जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ। नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो। बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व-साधारणले फुलमाला, […]