३० घण्टापछि खुल्यो कर्णाली राजमार्ग

  ।   २९ श्रावण २०८१, मंगलवार १६:३६

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत कालिकोट-जुम्ला सडकखण्ड ३० घण्टापछि पुनः सञ्चालनमा आएको छ। अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक मंगलबार दिउँसो एकतर्फी खुलेकाे हो।

कालिकोटको चौखोलामा र बिर्तामोडमा खसेको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि हिजोदेखि बाटोमै रोकिएका यात्रुवाहक र मालवाहक गाडीहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार, पहिरोले घरजत्रा ढुंगासहितको अवरोध सिर्जना गरेकाले विस्फोटको आवश्यकता परेपछि सडक खुलाउन ढिलाइ भएको हो। उनका अनुसार हाल पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएकाे छ।

उक्त स्थानमा केहीबेरकाे हल्कादेखि मध्यम वर्षाले समेत स-सानादेखि ठुला ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाएपछि चौखोला, टाकुल्लालगायतका ठाउँहरूमा पनि सडक सुचारु भएको जानकारी दिएको छ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालयकाे भनाइ छ। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको डिभिजन कार्यालय बताउँछ। यस क्षेत्रका स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गर्दै आइरहेका छन्।

Next Post

दलहरूको चुरिफुरीले जनता आक्रोशित छन्, देश दुर्घटनातिर जाँदैछ - नेता शाही

२९ श्रावण २०८१, मंगलवार १६:३६
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद शाहीले जनताको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताए । जनतामा रहेको निराशाको सम्बोधन गर्नेबारेमा सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए । ‘देशमा दलहरूको हालिमुहाली अर्थात […]