सिलाइ पेसाप्रति बढ्दो आकर्षण

  ।   ७ माघ २०७७, बुधबार १९:३८

कपडा सिलाउने र खलो लिने पेसाले गर्दा दलित समुदायभित्रको दमाई थर पाएका दैलेखस्थित सेते दमाईले अमानवीय व्यवहार मात्र खेप्नु परेन, अकालमै मृत्युवरणसमेत गर्नुपर्‍यो। कारण, ‘कथित अछुत (छोइछिटो) को दर्जा।’ सिलाउने पेसाले गर्दा उनलाई दमाई थरको दर्जा भिडाइयो। त्यही कामकै आधारमा उनलाई अछुतको दर्जा दिइयो। छोराले कथित माथिल्लो जातकी केटीलाई विवाह गरेको भन्दै छोराका माइती पक्षले उनको हत्या गरेका थिए। जसले उनीजस्तै दर्जनौं दलितले जातियताकै कारण मरिनु पर्‍यो भने हजारौंले विभेद सहनु पर्‍यो। अहिले भने त्यही अछुतको दर्जा दिएको सिलाइकटाइ दमाइको मात्र होइन, त्यही जातलाई अछुत मान्ने कथित माथिल्लो जातीको प्रमुख आम्दानीको स्रोत बनेको छ।

दलित समुदायभित्रका दमाई (परियार) जाती सिलाइकटाइ पेसालाई आधुनिक गराउन नसक्दा पेसाबाट पलायन हुन थालेका छन्। अन्य समुदायका व्यक्ति भने ठूलो लगानी गरेर व्यावसायिक बनेर आएपछि उनीहरुको पेसा संकटमा परेको देखिन्छ। सहर बजारमा छोइछिटो गर्ने समुदाय (ब्राहमण, खत्री, जनजातीलगायत) सिलाइकटाइलाई आधुनिक बनाउँदै गएका छन्। सिलाइकटाइ व्यवसाय एक समुदायको मात्र नभए पनि पुर्खाले दमाई जातीले नै कपडा सिलाउनु पर्ने कूसंस्कार बसाएका थिए। जसले अन्य जातीले यो पेसा गर्दैन्थ्ये। सिलाइकटाइ सीप गर्ने दमाई समुदायले सम्मानित होइन त्यही सीपकै कारण विभेदको चपेटामा पर्नु पर्‍यो। कपडा सिलाउने व्यक्तिलाई समाजमा अछुतको रुपमा चित्रण गरियो र त्यहीअनुसार जातका कामअनुसार जातका आधारमा वर्णन हुँदा अनेकांै विदेभ सहनु पर्‍यो। तर अहिले समय फेरियो, व्यवस्था पनि पुरानै रहेन। जुन व्यवसायले विभेद र अमानवीय दुर्व्यवहार सहन बाध्य बनायो त्यही पेसा अहिले व्यावसायिक आकर्षणको केन्द्र बिन्दु बनेको छ।

ब्राह्मण, ठकुरी, क्षेत्रीलगायतले पेसाअनुसार विभेद गरे पनि अहिले त्यही पेसा अंगाल्न थालेका छन्। पछिल्लो समय प्रदेश, स्थानीय सरकार र विभिन्न संघसंस्थाले बेलाबेला सिलाइकटाइको तालिमसमेत सञ्चालन गर्दै आएका छन्। प्रत्येक वर्ष कर्णालीमा करिब १० हजारभन्दा बढीले सिलाइकटाइ तालिम लिन्छन्। त्यसमध्ये मुस्किलले २० प्रतिशत दलित समुदायको प्रतिनिधित्व हुन्छ। जसले पनि प्रष्ट पार्छकी दलित समुदाय यस पेसाबाट पलायन हुँदै गएको र अन्य समुदायको उपस्थिति बढ्दो छ।

यस व्यवसायलाई आधुनिकीकरण गर्न आर्थिक अभाव हुँदा दमाई जातीका मान्छे यस पेसाबाट पलायन हुन थालेको सिलाइकटाइ तालिमका प्रशिक्षक चित्र सुनारले जनाए। ‘अहिले ज्यालादारी मजदुरी काम गर्छन्,’ उनले भने, ‘आर्थिक अभाव हुँदा उनीहरुले पेसालाई व्यवसायमा बदल्न सकेका छैनन्।’ सरकारले दमाइ जातीका व्यक्तिलाई मात्र समेटेर विशेष सिलाइकटाइ तालिमका कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ। अहिले उनले १० जनालाई सिलाइकटाइ तालिम दिइरहेका छन् तर बिडम्वना उक्त तालिममा एकजना पनि दलित समुदायको प्रतिनिधित्व छैन। पुरुषभन्दा महिला बढी यस पेसामा आकर्षण बढ्दो भएको उनी बताउँछन्।

बेरोजगार बस्नुभन्दा रोजगारी सिर्जना गर्न सिलाइकटाइ गर्न थालेको सिम्ता गाउँपालिका–४, सिमल गाउँकी २९ वर्षीया राधिका पोखरेलले जनाइन्। ‘पढाइ गरेर पनि जागिर मिलेन,’ उनी भन्छिन्, ‘बेरोजगार बस्नुभन्दा सिलाइकटाइ सिकेर यस व्यवसायमा लागेँ।’ यसभन्दा पहिला उनीसँग यस पेसासँग जोडिएका रोचक प्रसंग छन्। यही पेसा (सिलाइकटाइ) गर्ने व्यक्तिलाई घरभित्र पस्न र उसले छोएको खान पनि हिच्किच्याउनु पर्दथ्यो। जुन पेसाका व्यक्तिलाई उनको घरले विभेद गथ्र्याे त्यही पेसा उनले गर्न थालिन्। ‘पहिला समाजमा रुढीवादी कूसंस्कार थियो,’ उनले भनिन्, ‘समाजले जस्तोजस्तो गर्‍यो त्यस्तैत्यस्तै हामीले पनि गरिम्।’ तर अहिले समय फेरिएसँगै पहिलाको जस्तो भेदभाव नभएको उनको भनाइ छ।

सुरुका बेला यो व्यवसाय गर्दा गौमाया चन्दलाई कम्ता गाह्रो भएन। हिजो जसलाई अछुत भनेर बन्देज गरिन्थ्यो त्यही पेसा गर्दा समाजले हेर्ने दृष्टिकोणप्रति उनी पीडित थिइन्। ‘पछि सिलाइकटाइ गर्दै आएँ,’ उनले भनिन्, ‘त्यसपछि अहिले त त्यस्तो केही लाग्दैन।’ अझ उनले सिलाइकटाइ तालिम सिक्नुभन्दा पहिला दलित समुदायले छोएको समेत खान अप्ठ्यारो मान्थिन्। पछि दलित समुदायका महिलासँग बसेर सीप सिक्नु पर्दा उनीहरुसँगै खान थालिन्। पछि कूसंस्कार मात्र हो भन्ने थाहा भएपछि उनले अहिले त्यस्तो विभेद गर्दैनिन्। सामान्यतया दैनिक दुई हजार रुपैयाँभन्दा माथि यस व्यवसायबाट आम्दानी हुने गरेको सिलाइकटाइ व्यवसायी बताउँछन्। पछिल्लो समय कथित माथिल्लो जातीका व्यक्ति पनि अछुत मानिएको पेसा गर्दै आएकाले के प्रमाणित हुन्छन भने, ‘मानिस कामले सानो ठूलो हुँदैन।’

कामकै आधारले कसैलाई छुवाछुत र भेद्भाव गर्नु हुँदैन भन्ने यस व्यवसाय बढ्दो आकर्षणले पनि पुष्टि गरेको कानुन व्यवसायी दुर्गाप्रसाद सापकोटाले जनाए। दमाइ जातीका मान्छे आर्थिक अभावले विदेशीसँगै यस पेसामा अन्य समुदायको आकर्षण बढ्न थालेको उनको भनाइ छ। ‘अहिले कुनै पनि काम र व्यवसाय सानो र ठूलो, अछुत र छुत हुँदैन,’ उनले भने, ‘कम लगानीमा धेरै आम्दानी हुन थालेपछि यो पेसामा आकर्षण बढ्यो।’ जातीय छुवाछुत तथा कुनै प्रकारका विभेद गर्न नपाइने भन्दै उनले पेसा व्यवसाय कुनै एक समुदाय विशेष नहुने बताउँछन्।

Next Post

२४ घण्टामा ३१८ संक्रमित थपिए, ३८३ कोरोनामुक्त

७ माघ २०७७, बुधबार १९:३८
काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको […]