दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन : ‘ओलीलाई सच्याउन सकिएन’

  ।   १० माघ २०७७, शनिबार ०८:५०

काठमाडौँ — प्रदेश २ र काठमाडौं आसपासका जिल्लाबाट समेत आएका आन्दोलनकारी बिहान ११ बजेदेखि नै सडकमा निस्किँदा राजधानीको यातायात अस्तव्यस्त बन्यो । रात्रिबस चढेर आएकासहित राजधानीका १० ठाउँबाट निस्किएको जुलुस भृकुटीमण्डपतिर अघि बढेपछि आसपास क्षेत्र आन्दोलनकारीले भरिभराउ भयो ।

त्यही भीडमा मिसिन आएका महोत्तरीका श्रीराम हृदय महतो भन्दै थिए, ‘प्रधानमन्त्री बनाएर पनि केपी ओलीले हामी गरिबका लागि केही काम नगरेकाले विरोध गर्न आएका हौं ।’ उनीजस्ता थुप्रै कार्यकर्ताले शुक्रबार भृकुटीमण्डप आसपासको क्षेत्र खचाखच भएपछि जुलुसको नेतृत्व गर्दै मञ्चमा पुगेका नेताहरूले भने, ‘यो जुलुसले दोस्रो जनआन्दोलनको झझल्को दियो ।’

प्रदर्शनकारीको भीड बढ्दै गएपछि सडकमात्रै होइन, र्‍यालीसमेत अस्तव्यस्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरेपछि आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौं केन्द्रित दोस्रो प्रदर्शन गरेको हो । यसलाई उनीहरूले दोस्रो जनआन्दोलनजस्तै सशक्त भनेर व्याख्या गरेका छन् ।

यसअघि गत पुस १४ गते काठमाडौंमा विरोध प्रदर्शन गरेपछि दाहाल–नेपाल समूहको आन्दोलन काठमाडौं बाहिरका जिल्लामा केन्द्रित भएको थियो । पार्टी एकीकरण भएयता नै धेरै पटक मतभिन्नता राख्दै आएका नेकपाका नेताहरू प्रतिनिधिसभा विघटनपछि व्यावहारिक रूपमा अलग भएका हुन् । त्यसपछि नेकपाको यो खेमा कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाज ओलीको कदमविरुद्ध केन्द्रित छन् । प्रतिनिधिसभा पुनःस्थापित नहुँदासम्म आन्दोलन अघि बढाउने उनीहरूले बताएका छन् ।

र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले राजा–महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्ने नेपाली जनताले ओलीलाई पनि त्यसैगरी बहिर्गमन गराउने बताए । संविधान बनिसकेपछि देश विकासको गतिमा गएको भनेर सोचिए पनि त्यो सम्भव नभएकाले आत्मआलोचनाका लागि जनताबीच आएको उनको भनाइ थियो । ‘स्थायित्व सुनिश्चित भएर अबको दशक विकास र समृद्धिको हुनेछ र सामाजिक न्याय दिनेछौं भनेर सोचेका थियौं,’ दाहालले भने, ‘तर हामीले ती सपनालाई तीन वर्षमा पूरा गर्न सकेनौं ।’ उनले ओलीसँग गरेका सहमतिलाई सुरुदेखि नै दायाँबायाँ हुन नदिएको भए यो परिस्थिति नै नआउने बताए । ‘सुरुदेखिको सहमतिलाई दायाँबायाँ हुन नदिएको भए केपी बेलैमा नांगिन्थे कि !,’ उनले भने, ‘हामीले सचिवालय र स्थायी कमिटीमा संघर्ष नगरेको होइन तर हाम्रो संघर्षले उनलाई सच्याउन सकिएन र हामी हाम्रो पनि समीक्षा गर्ने चरणमा पुग्यौं ।’

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसँगै शान्ति प्रक्रियालाई विघटन गर्न चाहेको दाहालको भनाइ थियो । ‘ओलीको असंवैधानिक कदम नसच्चिँदासम्म यसरी नै शान्तिपूर्ण तरिकाले आन्दोलन गर्छौं,’ उनले भने, ‘केपीको निरंकुशतालाई प्रोत्साहन गर्ने षड्यन्त्र भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुन्छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लंघनका गम्भीर प्रकृतिका विषयमा सरकारले पूर्ण रूपमा आममाफी नदिने बताएकै भोलिपल्ट दाहालको यो अभिव्यक्ति आएको हो ।

‘साँघुरो गल्लीमा मान्छे जम्मा पार्दैमा आमसभा हुँदैन । जनपरिचालन र आमसभा कस्तो हुन्छ, २३ गते हेर्नुस्, हामी देखाइदिन्छौं ।’

दाहालले गणतन्त्र र संविधान रक्षाका विषयमा बोल्दै आए पनि शान्ति प्रक्रिया नै विघटन हुने सम्भावना रहेको अभिव्यक्ति यो आन्दोलनमा पहिलोपटक दिएका हुन् । ओलीले जालझेल गरेर जनमुक्ति सेनाहरूलाई फसाउन खोजेको आक्षेप उनले लगाए । ‘मार्क्सवादले भनेको छ, आन्दोलन भनेको जनताका लागि उत्सव हो तर ओलीजी आन्दोलन भनेपछि रुन थाल्नुहुन्छ, २०६२/०६३ मा पनि त्यसै गर्नुभयो,’ दाहालले भने, ‘अहिले देश शोकमग्न छ, संविधान आईसीयूमा छ, उहाँ हँसाउँदै हिँड्नुभएको छ । यस्तो उल्टो खोपडीको मान्छे नेपालका कसरी छन् ?’ उनले लोकतन्त्रको पक्षमा रहने कसैले पनि ओलीको कदमलाई ठीक नभनेको उल्लेख गर्दै आफूलाई सर्वोच्च अदालतमाथि भरोसा रहेको बताए । ‘उनीहरूले सबैतिर सेटिङ गरेका छौं भनेका छन्, त्यस्तो हो भने पनि षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको नयाँ सेटिङ खडा हुनेछ,’ उनले भने ।

सभामा नेकपा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको गफ र उखानटुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै उनलाई ‘हिटलर’ को उपमा दिए । ‘संसारमा निर्वाचित व्यक्ति पनि तानाशाह हुँदा रहेछन्,’ उनले भने, ‘केपी ओली हिटलरी नाजीवादको नेपाली संस्करण हुन् ।’ ओलीले संविधान र लोकतन्त्रमाथि खड्ग प्रहार गरेको जनाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापनाको जुलुसमा आए स्वागत गर्ने बताए ।

‘ओलीले माफी माग्छन् भने सुरुमा केही दिन जेलमा राखेर निकालौंला,’ नेपालले भने, ‘तर केही पार्टीलाई कतै कम्युनिस्ट–कम्युनिस्ट मिल्छन् कि भन्ने शंका छ भने त्यो भ्रममा नपर्दा हुन्छ ।’ नेकपा आधिकारिक रूपमा नफुटेकाले उनीहरूलाई अझै सत्ताधारी नेकपाकै रूपमा हेर्नुपर्ने कांग्रेस लगायतको धारणाबारे नेपालले यसो भनेका हुन् । आन्दोलनरत नेकपाले गरेको संयुक्त संघर्षको प्रस्ताव कांग्रेसले यही कारण स्वीकार गरेको छैन ।

वरिष्ठ नेता झलनाथ खनालले प्रतिगामी कदम चालेका ओलीले घुँडा नटेक्दासम्म आफूहरू कफन बाँधेरै सडकमै उत्रिरहने बताए । रूख बढ्दै गएपछि बोक्रा फ्याँके जस्तै फ्याँकिएका नेता ओली पार्टीलाई नचाहिने उनको भनाइ थियो । आफूहरूलाई भगौडा भन्ने ओली स्वयं नै भगौडा भएको खनालले बताए । उनले कुन आधिकारिक पार्टी हो भनेर हेर्नका लागि भए पनि सडकमा आउन ओलीलाई निम्ता दिए । यता खनालले निम्ता दिएलगत्तै राजधानीमै भएको ओली समूहको पेसागत विशेष कमिटीको कार्यक्रममा ओलीले ‘जनपरिचालन र आमसभा कस्तो हुन्छ भनेर २३ गते देखाइदिने’ बताएका छन् । उनले साँघुरो गल्लीमा मान्छे जम्मा गर्दैमा विशाल जनसभा भन्न नमिल्ने तर्क राखे ।

नेता खनालले ओली प्रवृत्तिलाई परास्त गर्न नसके देशमा विध्वंस हुन सक्ने बताउँदै अस्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको उल्लेख गरे । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि पूरै विश्वास रहेको बताए । ‘सर्वोच्च राजा–महाराजाले हैन, हाम्रो संविधानले बनाएको हो, हामी अदालतलाई विश्वास गर्छौं,’ नेता खनालले भने ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे । उनले हुँदा हुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भंग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे । ‘भएको छोरो मारेर ओली पूर्णिमाको व्रत बस्नुभएको छ,’ नेता भुसालले भने, ‘ओलीले दुई तिहाइ आउने ग्यारेन्टी नहुँदासम्म चुनाव हुन दिनुहुनेछैन, ख्याल गरौं कमरेडहरू ।’

नेता भुसालले अब ओलीसँग साइबर सेना नामका ‘साइबर स्याल’, ओलीले निजी सचिवालयजस्तो बनाएको राष्ट्रपति संस्था र सेटिङवाला प्रपञ्चमात्रै बाँकी रहेको बताए । स्यालको रजाइँ वास्तविक दुनियाँमा सम्भव नरहेको उल्लेख गर्दै उनले भने, ‘अब सेटिङको फन्डा पनि जासुसी उपन्यासमा मात्रै सम्भव छ ।’ उनले अर्को ओली नजन्मियोस् भन्नका लागि आफूहरू उठिसकेको र त्यसको नेतृत्व लिन दोस्रो पुस्ता तयार रहेको उल्लेख गरे ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको छ । सडकमा आउने नागरिक र असंवैधानिक कदमविरुद्ध उनीहरूले उठाउने आवाजले अस्थिरतातिर धकेलिएको राजनीति बचाउन सकिने दाहाल–नेपाल नेतृत्वको नेकपाको आकलन हो । सम्भवतः त्यसैकारण उनीहरूले काठमाडौं बाहिरबाट पनि गाडीका गाडी प्रदर्शनकारी ल्याएर आए । सभामा सहभागी भएर फर्किने क्रममा धनुषाका दामोदर यादव भन्दै थिए, ‘केपी ओलीले गरेको नराम्रो कामको विरोध गर्न आन्दोलनमा आएका हौं ।’

Next Post

कर्णालीमा खानेपानीको मूल्य, एक अध्ययन

१० माघ २०७७, शनिबार ०८:५०
महेश न्यौपाने पानी धर्तीको पर्यावरणीय चक्र कायम गर्ने समस्त जैविक प्राणीहरूको अस्तित्वको आधार हो । एक स्वस्थ, सभ्य र सम्मुन्नत समाज निर्माणका लागि सुरक्षित खानेपानीमा पहुँच अपरिहार्य हुन्छ । सुरक्षित खानेपानीको उपलब्धताले सरसफाइ र स्वस्थ जीवनयापनमा टेवा पुगी, झाडापखाला, हैजा, टाइफाइड, आउँ आदि जस्ता पानीजन्य रोगव्याधी नियन्त्रण गर्छ । यसबाट […]

सम्बन्धित