कर्णालीका ५४ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

  ।   १० माघ २०७७, शनिबार १४:५४

कर्णाली प्रदेशका १० जिल्लामा झन्डै ५४ हजारजनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरिएको छ । भारत सरकारले नेपाललाई अनुदानस्वरूप दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोजमध्ये कर्णालीमा पहिलो चरणमा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी गरिएको हो ।

कर्णालीका १० जिल्लामध्ये डोल्पामा एक हजार दुई सय ६३, मुगुमा एक हजार नौ सय नौ, हुम्लामा एक हजार सात सय ५४, जुम्लामा तीन हजार सात सय ३५, कालीकोटमा चार हजार सात सय ५४, दैलेखमा आठ हजार आठ सय ८४, जाजरकोटमा पाँच हजार नौ सय २१, रूकुमपश्चिममा पाँच हजार ९२, सल्यानमा आठ हजार एक सय ३६, सुर्खेतमा १२ हजार चार सय ५६ जनालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

कोरोनाविरुद्धको खोप भण्डारणका लागि सुर्खेतका दुईवटा कोल्डस्टोरमा २८ लाख ७३ हजार चार सय डोज राख्न सकिने क्षमता रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा खोप दिनका लागि त्यसको पूर्वतयारी थालिएको र चाँडै नै स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसारका काम हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

कर्णाली प्रदेशको खोप संयोजकमा डा. अनुज भट्टचन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ । कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन खोप अभियानको संयोजक तोकिएका छन् ।

प्रदेश संयोजक डा. भट्टचनले कर्णाली प्रदेशमा खोप लिएर आउने र प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप १४ पुसबाट दिन सुरु गरिने बताएको भए पनि त्यो विषयमा प्रदेश सरकारलाई जानकारी नदिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । शिलापत्रमा साभार ।

Next Post

अहिलेको टिकटक, उबेलै थियो ठिकठाक

१० माघ २०७७, शनिबार १४:५४
मिलन तिमिल्सिना ‘बल्ल छोराछोरी स्कुल जान थाले, ढुक्क भयो’ उनले हत्तपत्त मोबाइल खोलिन् । हिजोसम्म छोराछोरीको अनलाइन कक्षा भएर मोबाइल छुन पाइएको थिएन । कहिलेदेखि स्कुल खुल्छ र ढुक्क हुन्छ भनेर दिन पर्खँदै थिइन् । बल्ल त्यो दिन आयो । उनी त्यसै त्यसै फुरुङ्ग भइन् । ‘ओहो…अस्ति राखेको फोटोमा कति […]