मिलन तिमिल्सिना
‘बल्ल छोराछोरी स्कुल जान थाले, ढुक्क भयो’ उनले हत्तपत्त मोबाइल खोलिन् । हिजोसम्म छोराछोरीको अनलाइन कक्षा भएर मोबाइल छुन पाइएको थिएन । कहिलेदेखि स्कुल खुल्छ र ढुक्क हुन्छ भनेर दिन पर्खँदै थिइन् । बल्ल त्यो दिन आयो । उनी त्यसै त्यसै फुरुङ्ग भइन् ।
‘ओहो…अस्ति राखेको फोटोमा कति धेरै कमेन्ट र लाइक आइसकेको रहेछ, कसैको कमेन्टमा आफूले लाइक र थ्याङ्क्स भन्न पाएको होइन’ उनी एक्लै फत्फताइन् । त्यहीबेला झोला बोकेर स्कुल हिँडिसकेको छोरोले गेटमा ढ्याकढ्याक गर्यो । ‘ममी खै सोसलको बुक चाहिँ ब्यागमा राख्नै भुल्नुभएछ, खै छिटो दिनुस्, मिसले गाली गर्नुहुन्छ फेरि’ छोरोले बाहिरैबाट करायो ।
फेसबुक हेरेर मस्किन थालेकी उनको अनुहार एकाएक बिग्रियो । ‘हैन तेरो बाउलाई त्यति पनि सुद्धि भएन है, सबैतिर मैले नै नहेरी नहुने’ भन्दै उनी किताब खोज्न थालिन् । बल्लबल्ल खाटमुनि मिल्किरहेको किताब फेला पारिन् । ‘ला लैजा’ छोरालाई किताब दिँदै भनिन्, ‘अघि दिएको ५० रुपैयाँ सबै सक्ने हैन नि, दिदी र तँलाई एकएक वटा चाउचाउ किन्नु, बाँकी १० रुपैयाँ फिर्ता ल्याउनु।’
‘फिर्ता त ल्याएको ल्यायै हो, चोकोफन किनेर खान्छु’ भन्दै छोरो किताब बोकेर कुुद्यो ।
‘सुन्नु त छोरोलाई आफैंले चाउचाउ किनेर ब्यागमा राखिदिनुस् है’ अलि पर छोरीको हात समाउँदै हिँडेका श्रीमानलाई उनले भनिन् ।
छोराछोरीलाई बस चढाएर श्रीमान कोठामा फर्किए । श्रीमती बेडमा पल्टिएर मोबाइल खेलाउँदै थिइन् । ‘हाहा…..ए बाबा यो टिकटक हेर्नु न ओली र प्रचण्डको अर्को दोहोरी रैछ ।’
‘खै खै देखाउ त’ श्रीमानले हेरे । टिकटिकमा ओली र प्रचण्डका दुईवटा भाषण जोडेर बनाइएको छोटो भिडियो रैछ । बायाँतिर उभिएका प्रचण्ड भन्दैछन् (‘यो नाटकै हो, नाटकै हो, नाटकै हो ।’ अनि दायाँतिर उभिएका ओली भन्दैछन् (‘यो नौटंकी नै हो, नौटंकी नै हो, नौटंकी नै हो ।’
’आहा कस्तो मज्जाको दोहोरी । सँगै आमनेसामने उभिएर ओली र प्रचण्डले दोहोरी खेलेजस्तो ।’
टिकटकमा हेर्दा ओली र प्रचण्ड आमनेसामने भएर दोहोरी खेलेजस्तो देखिए पनि वास्तवमा त्यस्तो थिएन । प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिएको विषयमा प्रचण्डले ‘यो नाटकै मात्र हो’ ‘नाटकै हो’ भनेका थिए । अनि अर्को कार्यक्रममा ओलीले अन्तर्वार्ताको विषयमा आफूलाई व्यङ्ग्य गरेको भन्दै प्रचण्डको क्यारिकेचर गरेका थिए । प्रचण्डले ‘नाटकै हो’ भनेको कुरालाई क्यारिकेचर गर्दा ‘नौटंकी नै हो’ भन्न पुगेका थिए । अनि टिकटकमा रमाइलोको लागि नाटक र नौटंकीको दोहोरी बनाएर भिडियो बनाइएको थियो । कुन प्रसङ्गमा कसले के बोलेको भन्नेसँग चासो होइन, रमाइलोको लागि मात्र हो हेर्ने त !
‘यता हेर्नु न अरु पनि रैछ रमाइलो दोहोरी ( ओली र प्रचण्ड, ओली र खनाल, ओली र नेपाल….हाहा……कतिथोक भन्न जानेका हुन्, रमाइलो मात्रै गर्न जानेका सबैले’ श्रीमती उत्साहित भइन् ।
श्रीमतीको कुरा सुनेर श्रीमान जङ्गिए, ‘खुरुक्क भात पस्क छिटो, आफूलाई अफिस पुग्न ढिलो भैसकेको, आफू हुनै बाँकी छ ठिकठाक, तिमीलाई टिकटक !’
‘ढिलो भए पस्केर खानुस् न त, म अहिले खान्छु’ भन्दै उनी एकोहोरो मोबाइल हेरेर हाँस्न थालिन्, ‘आहा कस्ति नक्कली रैछे यो त….कस्तो लुगा लगाएर नाचेकी होला..।’
‘सुन्नु न बाबा, मैले पनि अस्तिताका टिकटक अकाउन्ट खोलेको थिएँ, फेरि बिर्सिसकेको छु भन्या, दिनदिनै मोबाइल चलाउन पाए पो ! छोराछोरीको अनलाइन कक्षाले मैले त मोबाइल चलाउनै पाइनँ, एउटा मोबाइल लेइदिनु न न मलाइ पनि ।’
‘अँ त्यही काम बाँकी छ…लकडाउनले कमाइ नभएर नुनतेल किन्ने पैसा कहाँबाट लेराउने भैरहेको बेला तिमीलाई मोबाइल ? परेको छैन टिकटक चलाउन’ फतफताउँदै श्रीमान कोठाभित्र पसे । हुन त घरमा बस्दा श्रीमान पनि टिकटकमै भुल्छन् । नेकपाका नेताहरुका दोहोरी र ठिटीहरुका नाच हेरेर मख्ख पर्छन् । टिकटक चलाउन थालेपछि कहिलेकाहीँ अफिस जान पनि बिर्सन्छन् ।
‘हैन यो कान्छी पनि अनलाइनमा छैन कि क्या हो…. ए रैछ रैछ’ भन्दै उनले मेसेञ्जरमा बहिनीलाई कल गरिन् ।
‘ओइ… कान्छी सुन न…. म दिउँसो तेरो कोठामा आउँछु, मलाई एउटा टिकटक बनाउन सिकाइदे है….? सुनिस्……यो वाईफाईले पनि राम्रो काम गर्दैन भन्या…..टिकटक के टिकटक…..म दिउँसो आउँछु ल…..’ मेसेन्जरको कल काटियो । उनी बेडबाट उठिन् ।
‘ए तपाईँले खाइसक्नु भएको ? भरे फर्किंदा एक बाकस चाउचाउ लेराउनुस् है, केटाकेटीलाई पैसा दिनुभन्दा यहीँबाट ब्यागमा हालेर पठाइ दिनुपर्यो’, श्रीमानलाई हेर्दै भनिन् ।
‘हैन घरमै खानेकुरा बनाएर पठाइदिए हुन्न भन्या, स्वस्थ पनि हुन्छ, सस्तो पनि, चाउचाउ खाएर छोराछोरी बिगार्ने भयौ है’ सर्टको टाँक लगाउँदै श्रीमान बोले ।
‘के बनाउने खानेकुरा ? ल भोलिदेखि तपाईँ आफैले बनाइदिनुस् न त, कसले छेकेको छ र’ श्रीमती बोलिन् ।
‘अँ मेरो अरु काम छैन, तिम्रो दिनभर फुर्सद छ, बनाउ न’ बाहिर निस्कँदै श्रीमानले भने ।
‘दिउँसो फुर्सद भएर हुन्छ, दिउँसो बनाएर कतिखेर लैजाने नि खाजा ? कुरा पनि सुहाउने गर्नु नि ? त्यसमाथि कसले गरोस् नानाथरी ? चाउचाउ किन्यो ब्यागमा राख्यो, कति सजिलो कति’ श्रीमती भात खान थालिन् ।
‘लौ जे गर’ भन्दै श्रीमान अफिसतिर लागे ।
भात खाएर भाँडा माझेपछि उनी फेरि बेडमा पल्टिन् । टिभीको रिमोट खोजिन् । ‘हैन केटाकेटीले रिमोट पनि कहाँ राख्छन् कहाँ, यहाँ कुनामा पो रहेछ’ एकछिन फत्फताएपछि रिमोट फेला पर्यो । रिमोट त फेला पर्यो, तर बिजुलीको लाइन गएको रहेछ ।
‘कुलमान हिँडेपछि त हरेक दिन बत्ति जान्छ । फेरि लोडशेडिङ हैन पनि भन्छन् । बत्ति नभएपछि वाईफाई पनि चल्दैन, अब कान्छीकोमै जानुपर्यो’ भन्दै उनी उठिन् ।
……………………..
अहिले आमा हुनु पहिले उनी छोरी मात्र थिइन् । गाउँकै स्कुल पढ्थिन् । बिहान च्याँख्ला र बेलुकी चामलको भात पाउँथिन् । स्कुलमा खाजा लैजाने चलन थिएन । कहिलेकाहीँ भुटेको मकै लैजान्थिन् । साथीहरुसँग बाँडेर खान्थिन् ।
आमाले सधैं मकै भुट्न नभ्याउने भएकाले धेरै दिन त त्यसै स्कुल जानु पर्दथ्यो । स्कुल पुग्दासम्म भोक लागिसक्थ्यो । बाटो छेउछाउ र स्कुल वरपर पसल हुँदैन थियो । पसल भए पनि पैसा हुँदैन थियो । अनि अहिलेजस्तो चाउचाउ, बिस्कुट, कुरकुरे खान पाइँदैन थियो । बा कहिलेकाहीँ बजार गएर फर्किंदा मात्र मिठाई र बिस्कुट चाख्न पाइन्थ्यो । चाउचाउ र कुरकुरे त परको कुरा ।
हाफ छुट्टीसम्म भोक खप्न सकिन्थ्यो । सरमिसले पढाएका कुरा अलिअलि बुझेजस्तो लाग्थ्यो । त्यसपछिको कक्षामा भने पढाएको बुझ्न त परको कुरा भोकले सरमिसले बोलेको समेत बुझिँदैनथियो । कहिले घण्टी लाग्ला र भनेर कान ठाडो हुन्थ्यो । हाई काढेर बेन्चमै निदाउन थालेपछि बल्ल छुट्टीको घण्टी लाग्थ्यो ।
छुट्टी भएर दौडिँदै घर पुग्दा ढोकामा आग्लो लागेको हुन्थ्यो । बिहान भात खाने बेला देखेको आमालाई भरे भात खाने बेला नहुँदासम्म देख्न पाइँदैन थियो । तालाले आग्लो खोलेर भित्र पस्दा कहिले बिहानको भात हुन्थ्यो, कहिले भुटेको मकै । भात मिठो भएन, मकै टोक्न सकिएन भनेर कराउनु र उफ्रनुको अर्थ थिएन । जसोतसो चित्त बुझाउनु पर्दथ्यो ।
यसै गरीगरी उनले पढाइ सकिन् । कलेज पढ्न थालेपछि विवाह भयो । अनि कलेजको भन्दा पहिले बिहेको सर्टिफिकेट निस्क्यो । छोराछोरी ठूला भए । स्कुल जान थाले । उनले स्कुल पढ्दा र छोराछोरीले स्कुल पढ्दाको बेलामा आकाश पातालको फरक आयो । उतिबेला आमालाई एकछिन फुर्सद हुँदैन थियो, अहिले आफूलाई फुर्सद नै फुर्सद । हेर्दाहेर्दै धेरै कुरा फेरिए । मोबाइल आयो । मोबाइलसँगै फेसबुक, टिकटक नानाभाँती आयो ।
चाहिने कुरा पनि आयो । नचाहिने कुरा पनि आयो । तर जे भए पनि काम नहुनेलाई टाइमपास गर्ने गज्जबको मेलो मिल्यो । अरुजस्तै उनी पनि मख्ख छिन् । त्यसैले आफ्नो पालाको सबै कुरा बिर्सेर टिकटकमा भुल्ने सुरसार कस्दैछिन्।
………………
बेलुकी घर आउँदा छोराछोरी स्कुलबाट फर्किसकेका रहेछन् ।
‘ममी कहाँ गएको भन्या, आफूलाई दिउँसोदेखि पेट दुखेर कस्तो भैरहेको छ’ छोरीले पेट छाम्दै भनिन् ।
‘चाउचाउ नपुगेर हो कि’ छोरीको कुरा सुनेर ममीले व्यङ्ग्य हानिन् ।
‘मिठो खाजा बनाएर पठाइदिनू न, कसले खान्छ त चाउचाउ ?’ अलि झर्केर बोले पनि छोरीको कुरा ठिकै थियो ।
‘कसले झण्झट गरिरहोस्, चाउचाउ नै मिठो हुन्छ नि, त्यसमाथि चाउचाउ पाएपछि तिमीहरुले अरुथोक खान्छौ नि ? हामीलाई थाहा नभएको हो र’ छोराछोरीको स्वास्थ्यबारे मतलब नै नभएकी उनले थपिन्, ‘ए नानी तेरो सानीमाले टिकटक बनाउन त सिकाइ, तर अघि राखेको टिकटक त कता हरायो हरायो भन्या, हेरिदेउ त ।’
‘नकराउनुस् तपाईँ, मान्छेलाई यहाँ पेट दुखेर खप्न भएको छैन, तपाईँलाई टिकटक’ छोरी पेट छाम्दै बेडमा पल्टिन् । उनी मोबाइल हेर्दै भान्सामा पसिन् ।
‘आहा यो सचिन भाइको बोली नै मज्जाको क्या, अर्को गीत पनि भाइरल भएछ । ’
आमाको कुरा सुनेपछि पेट दुख्यो भनेर पल्टेकी छोरी जुरुक्क उठिन्, ‘हो र ममी…., खै खै हेरौं…..। आ….मेरै मोबाइल खोल्छु……। ….ओहो यो केटीले कति राम्रोसँग डान्स गरेकी…भोलि म पनि यस्तै टिकटक बनाउँछु ।’ उज्यालोबाट साभार ।