सुनकाण्डमा प्रहरीको सुस्त अनुसन्धान

  ।   १९ माघ २०७७, सोमबार १९:२८

ठूलो परिणाममा बरामद गरिएको सुन काण्डको विषयमा अनुसन्धान सुस्त र फितलो भएको छ। प्रहरीले अनुसन्धानलाई सुस्त र फितलो बनाउँदा दोषी उम्किएको स्थानीयको गुनासो छ।

वीरेन्द्रनगर नगरपालिका–३ मूलपानीबाट साउन २८ गते प्रहरीले लुकाइछिपाइ राखेको ठूलो परिणाममा सुन जस्तो देखिने धातु बरामद गरेको थियो। उक्त विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले २२ वर्षीय हिक्मत सुनारलाई समेत पक्राउ गरेको थियो। उनलाई करिब २२ दिनपछि थुनामुक्त गरेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले अनुसन्धानलाई सुक्ष्म ढंगले नहेरेको कतिपय स्थानीयको आरोप छ। यता प्रहरीले भने आफूहरु विभिन्न जिल्लासम्म पुगेर अनुसन्धान गरेको प्रतिक्रिया दिएको छ। बरामद गरिएको सुनको तौल र धातु परीक्षणसमेत प्रहरीले गराएको छैन। ‘सुनजस्तो देखिने धातु बरामद भएको थियो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले भने, ‘उक्त विषय अनुसन्धानकै क्रममा छ।’ कतिपय प्राविधिक समस्याले गर्दा पनि कानुनी दायरामा जान समस्या भएको उनको भनाइ छ। अनुसन्धान सुस्त र फितलो नभएको भन्दै उनले भने, ‘अनुसन्धान जारी छ।’ अहिले बरामद गरिएको सुन जस्तो देखिने धातु जनप्रतिनिधिको रोहबरमा लाहाछाप लगाएर सुरक्षित राखिएको उनले जनाए।

सुनजस्तो देखिएको धातु सुन हो की होइन भन्ने विषयसमेत प्रहरीले एकीन गर्न सकेको छैन। ‘प्रहरीले बरामद गर्योु त्यो राम्रो हो,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘तर यति ठूलो विषयमा अनुसन्धान फितलो हुँदा शंका पैदा भएको छ।’ प्रहरीले भने केही विषयहरु अनुसन्धान लामो हुने हुँदा पनि टुंगो नलागेको बताएको छ। ‘यो विषयमा अनुसन्धान जारी छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले भने, ‘केही विषयमा लामो अनुसन्धान हुन्छ।’ सुन काण्डका शंकास्पद व्यक्ति फरार भएकाले पनि अनुसन्धान केही लम्बिएको उनको भनाइ छ।

उक्त सुन भारतबाट चोरेर ल्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यससँग सम्बन्धित केही व्यक्ति भारतमा समेत पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले कडावाला सुन एक थान, कडा एक थान (कर्नरमा गुलाबी र बीचमा पथ्थर भएको), चुरा १२ थान, चुरा तीन (पथ्थर भएको), काने झुम्का पाँच थान बरामद गरेको थियो। त्यस्तै श्रीफूल चार थान, काटा एक र क्लिप एक थान (चन्द्रमा आकारको) बरामद भएको प्रवक्ता घर्तीले जनाए। नागिरक

Next Post

खेलाडी उत्पादनमा स्थानीय सरकार उदासिन

१९ माघ २०७७, सोमबार १९:२८
जुम्लाका खेल क्षेत्रको विकास र पर्वद्धनका लागि स्थानीय सरकार उदासिन देखिएको छ । खेल क्षेत्रले विश्व चिनाउँछ । खेलाडीले राष्ट्र र राष्ट्यिताको पहिचान बनाउँछन् । तर उचित खेलमैदान नहुँदा खेलाडीले दिनहुँ समस्या भोगिरहनु परिरहेको छ । खेलमैदानका लागि न स्थानीय, न प्रदेश र नत संघीय सरकार कसैले पनि चासो राखेका […]