कर्णालीका हिमाली जिल्लामा हिमपात

  ।   २३ माघ २०७७, शुक्रबार ०९:५२

काठमाडौं । मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको हो ।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका-६ बराइगाउँका मानबहादुर ऐडीले बताए ।

‘यो हिमपातले हुम्लाका किसानमा निकै खुशी ल्याएको छ’, उनले भने, ‘यो हिमपात कृषि क्षेत्रका लागि उत्तम छ ।’ यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ ।

हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो ।

Next Post

पितृ – सत्तात्मक चिन्तनको प्रतिबिम्ब बहुविवाह

२३ माघ २०७७, शुक्रबार ०९:५२
लक्ष्मीकन्या बुढा ‘प्रतिक्षा’ जुम्ला बहुविवाह नामको कुप्रथाले हरेक परिवारमा विखण्डन ल्याउनुका साथै, विवाहित जोडीको भविष्य अन्धकारमय बनाउने र समाजमा विकृति, विसङ्गति बढाउने भएकोले हरेक समुन्नत र सभ्य समाजमा बहुविवाहलाई अपराधको रूपमा घोषणा गरिएको हुन्छ। तथापि नेपाली समाजमा प्राचीनकालदेखि नै बहुविवाह प्रद्धति प्रचलित हुँदै आएको थियो र आज पनि पितृसत्तात्मक पुरातनवादी […]