सरकारको समर्थन फिर्ता गरेका छैनौं: मन्त्री प्रकाश ज्वाला

  ।   ४ चैत्र २०७७, बुधबार १९:१०

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओली समूहले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक राखेर बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माधव नेपाल पक्षले त्यसप्रति असहमति जनाएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेपाल समूहका नेता प्रकाश ज्वालाले ओली समूहको निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुटगत निर्णय आधिकारिक नभएको स्पष्ट पारेका छन्।

उनले प्रदेशसभा दलको नाममा गुटगत बैठकबाट गरिएको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै आफूहरुको तर्फबाट सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन्।

‘आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेशसभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ।औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ। यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेकोसमेत अवगत गराउँदछौँ,’ ज्वालाले फेसबुकमा लेखेका छन्।

ओली समूहले बुधबार गरेको प्रदेशसभा संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। साथै बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको थियो।

कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा छन् । ४० सदस्यीय प्रदेश सभामा एमालेका २० जना सांसद छन् । तर आज बसेको संसदीय दलको बैठकमा १० जना मात्रै उपस्थित भएका थिए।

प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् । खनाल नेपाल समूहले समर्थन गर्दा मुख्यमन्त्रीसँग २२ जना सांसद हुनेछन् । प्रदेशसभामा बहुमतका लागि २० सांसद चाहिन्छ ।

Next Post

सदनबाट विश्वासको मत लिन्छु - मुख्यमन्त्री शाही

४ चैत्र २०७७, बुधबार १९:१०
सुर्खेत । प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । एमालेको सो निर्णयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले सदनबाट विश्वासको मत लिने बताएका छन् । ‘लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हुन् । उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको […]

सम्बन्धित