कर्णालीमा जल, रेल र रज्जु मार्गको सम्भाव्यता अध्ययन प्राथमिकतामा

प्रतिव्यक्ति आय ११४७ डलर पुर्याउने लक्ष्य

  ।   ६ चैत्र २०७७, शुक्रबार ०७:५६

सुर्खेत । कर्णाली प्रदेश नीति तथा योजना आयोगले बिहीबार प्रथम पञ्चवर्षीय योजना (२०७६/७७-०८०/८१) सार्वजानिक गरेको छ ।

पञ्चवर्षीय योजनामार्फत विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्यसमेत सार्वजनिक गरिएको छ । आयोगले आर्थिक वर्ष ०७५/७६ लाई आधार वर्ष मानेर प्रथम पञ्चवर्षीय योजना तयार पारेको जनाएको छ ।

‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’को सोच पूरा गर्न १२ वटा लक्ष्य तय गरिएको छ । जस्मा समृद्धिका ५ र सुखारीका ७ वटा लक्ष्य तय गरिएको छ । साथै, ६ वटा प्रदेश रणनीतिसमेत तय गरिएको छ ।

भौतिक पूर्वाधार विकास, सामाजिक विकास, हरित अर्थतन्त्रमा आधारित उत्पादन, पर्यटन र वातावरण, विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन, सूचना सञ्चार र डिजिटल कर्णाली, सुशासनलाई प्रथम पञ्चवर्षीय योजनाको प्राथमिकतामा राखिएको छ ।

अहिले झन्डै एक खर्ख १९ अर्ब रहेको कर्णालीको अर्थतन्त्रलाई अबको ५ वर्षमा झन्डै तेब्बरजस्तो हुने गरी ५ खर्ख २१ अर्ब बनाउने लक्ष्य छ ।

वार्षिक आर्थिक वृद्धिदर ३ अंकको बनाउने र, अहिले ५१.२ प्रतिशत रहेको प्रदेशको बहुआयामिक गरिबीलाई २५ प्रतिशतमा झार्ने सरकारको लक्ष्य निर्धारण गरिएको प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले बताए ।

प्रदेशको लक्ष्य र समृद्धि प्राप्तिका निम्ति पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासनमा लगानीको प्राथमिकताको क्षेत्र सरकारले तोकेको छ । सरकारले निर्धारण गरेको लक्ष्य प्राप्ति गर्न र, १४.९ प्रतिशतको आर्थिक वृद्धिका गर्न २७ हजार ९८२ करोड पुँजी आवश्यक पर्ने अनुमान गरिएको छ ।

आयोगले पन्ध्रौं राष्ट्रिय पञ्चवर्षीय आयोजनासँग मेल खाने गरी लगानीका क्षेत्र निर्धारण गरेको जनाएको छ ।

सरकारले पूर्वाधारमा आधारित १२ मुख्य आर्थिक वृद्धि रेखाहरु तथा आर्थिक केन्द्रहरुको नक्साङ्कन गरी प्रदेश रुपान्तरणरी आयोजना छनोट गरेर पञ्चवर्षीय योजना तयार पारेको छ । प्रदेशको लक्ष्य र आर्थिक समृद्धि प्राप्त गर्न आयोजनामा स्रोत व्यवस्थापनको खोजी गरिरहेको छ ।

सुर्खेत विमानस्थलको विस्तार गरी कर्णाली हवाई हब निर्माण गरिने, जलमार्ग, रेलमार्ग, रज्जुमार्ग र केवलकारको सम्भाव्यता अध्ययन गर्ने र लगानीका लागि वातावरण निर्माण गर्नुलाई पनि सरकारले प्रदेशको रुपान्तरणकारी आयोजना मानेको छ ।

प्रदेश राजधानीमा स्मार्ट सिटी, जुम्ला र दुल्लुमा खस पहिचानको सहर, चौरजहारी र राकममा मध्य पहाडी सहर, साविकका सदरमुकामलाई आर्थिक केन्द्र सहर, पालिका केन्द्रलाई साना सहर र करिब २०० सुरक्षित एकीकृत बस्ती विकास निर्माण गर्ने सरकारको योजना छ ।

पूर्वाधार विकासलाई प्राथामिकता

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथामिक्ता दिएको छ । भौतिक पूर्वाधारतर्फका योजना निर्माणका लागिमात्रै ७६ अर्ख ९५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रथम पञ्चवर्षीय योजना अनुसार यातायततर्फ यातायातमा ४० अर्ब ५४ करोड ७५ लाख, ऊर्जामा १२ अर्ब १३ करोड २५ लाख, बस्ती किासमा ८ अर्ब ९५ करोड, सिँचाइमा ७ अर्ब १० करोड ५० लाख, खानेपानी तथा सरसफाइमा ७ अर्ब ४७ करोड र सूचना तथा प्रविधिमा १ अर्ब २१ करोड ५० लाखको बजेट अनुमान गरिएको छ ।

त्यस्तै वन तथा जैविक विविधतामा ७ अर्ब ८३ करोड, जडीबुटीमा २ अर्ब ९५ करोड, खानी तथा खनिज सम्पदामा १ अर्ब ३ करोड, उद्योग ८ अर्व, वाणिज्य तथा आपूर्तिमा ३ अर्ब ६७ करोड, पर्यटनमा ९ अर्ब १० करोड र निजी क्षेत्रमा १ करोड लाग्ने अनुमान गरिएको प्रदेश योजना आयोगका अर्को सदस्य डा. दिपेन्द्र रोकायाले बताए ।

प्रतिव्यक्ति आय ११४७ डलर पुर्‍याइने

हाल कर्णाली प्रदेशका नागरिकको प्रतिव्यक्ति आय औसतमा ६०६ अमेरिकी डलर रहेको छ । तर, प्रथम पञ्चवषर्ीय योजना अनुसार अबको पाँच वर्षमा वार्षिक ११४७ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिइएको छ ।

यस्तै निरपेक्ष गरिबीको रेखामुनि रहेको प्रदेशको जनसंख्यालाई २९ प्रतिशतबाट १८ प्रतिशमा झार्ने लक्ष्य लिइएको छ । प्रदेशका ९५ प्रतिशत परिवारलाई आधारभूत खानेपानी सुविधामा पहुँच पुर्‍याउने, ७९ वटै स्थानीय तहमा सडक सञ्जाल विस्तार गर्ने बताइएको छ ।

अहिले ८.२५ मेगावाट विद्युत् उत्पादन भइरहेको कर्णालीमा आगामी ५ वर्षभित्र २०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ । हाल ६७.५ प्रतिशत परिवार विद्युतको पहुँचमा रहेको भन्दै प्रदेश सरकारले पाँच वर्षमा ९० प्रतिशत परिवारमा बिजुली पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रदेशभर ५०० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य प्रथम पञ्चवर्षीय योजनामा समावेश गरिएको छ । रोजगारीमा औपचरिक क्षेत्रको हिस्सा ६० प्रतिशत पुर्‍याउने, श्रम उत्पादकत्व २४ लाख १३ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिइएको छ ।

‘कर्णाली सोच-२१००’ पनि तयार

प्रदेश योजना योजना आयोगले पञ्चवर्षीय योजनासँगै ‘कर्णाली सोच-२१००’ पनि तयार पारेको छ । २५ वर्षलाई ३ चरणमा कार्यविभाजन गरी विकासका मोडल बनाइएको आयोगका सदस्य डा. दीपेन्ऽ रोकायाले बताए ।

२१०० भित्र कर्णालीलाई विकसित प्रदेशमा रुपान्तरण गरी प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । दीर्घकालीन रणनीतिको ३ चरणअनुसार ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ बनाउने सोच पूरा गर्न पहिलो ५ वर्षमा ‘समृद्धि र सुखको सिर्जना’ नारासहित शिक्षा, स्वास्थ्य, उत्पादन र पूर्वाधार तयार गरिनेछ ।

यस्तै, दोस्रो ५ वर्षमा ‘समृद्धि र सुखको तीव्रता’ नारासहित विकासलाई तीव्रता दिएर समृद्धिमा अग्रताको गन्तव्य भेट्ने रणनीति राखिएको छ । यसैगरी अन्तिम ५ वर्षमा ‘समृद्धि र दिगोपना’ नारासहितको रणनीति सार्वजनिक गरिएको रोकायाले बताए ।

प्रदेशका ९५ प्रतिशत नागरिकलाई साक्षर बनाइने

प्रथम पञ्चवर्षीय आयोजना अनुसार प्रदेशमा शिक्षातर्फ अबको पाँच वर्षमा कर्णालीका ९५ प्रतिशत नागरिकलाई साक्षर बनाउने लक्ष्य लिइएको छ । १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९९ प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

हाल औसतमा साक्षरता दर ६६ प्रतिशत छ भने १५-२४ वर्ष समूहका युवाहरुको साक्षरता दर ८२ प्रतिशत रहेको छ ।

यस्तै आधारभूत तहमा भर्ना दर ९८ प्रतिशत, माध्यमिक तहमा ६५ प्रतिशत, उच्च शिक्षामा १९ प्रतिशत खुद भर्नादर पुर्‍याउने लक्ष्य लिइएको छ । आर्थिक वर्ष ०८०/८१ सम्ममा बेरोजगारी दर ९.७ बाट ६ प्रतिशतमा झार्ने लक्ष्य पनि प्रदेश योजना आयोगको छ ।

विकासलाई सबैको साझा एजेण्डा बनाऔं : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास सबैको साझा एजेण्डा भएको बताएका छन् । प्रदेश योजना आयोगले तयार पारेको योजनाको पुस्तक बिहीबार सार्वजनिक गर्दै विकासलाई सबैको साझा योजना बनाउँन आग्रह गरे । उनले लगानी भित्र्याउन बजेटको सही ठाउँमा सदुपयोग गरिनेसमेत जनाए ।

‘प्रदेशमा लगानी भित्र्याउने सरकारको दायित्व हो । र, त्यो वातावरण हामी तय गछौं,’ उनले भने, ‘यसका लागि केन्द्र, प्रदेश र स्थानिय तह सबै एक ठाउँमा उभिन आवश्यक छ ।’ उनले कर्णालीमा लगानीमैत्री वातावरण रहेको भन्दै नीजि क्षेत्रलाई समेत कर्णालीमा लगानी गर्न आग्रह गरे । ‘म निजी क्षेत्रलाई आग्रह गर्छु, तपाईंहरु कर्णालीमा लगानी गर्नुस, प्रदेश सरकारले तपाइको लगानीको सुरक्षा गर्छ,’ मुख्यमन्त्री शाहीले भने ।

Next Post

प्रतिनिधिसभा बैठक बस्दै,दाेस्राे तहका नेताले बाेल्ने

६ चैत्र २०७७, शुक्रबार ०७:५६
शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसअघिको बैठकमा राजनीतिक दलका कारण नेताहरुले सम्बोधन गर्न सकेका थिएनन्। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछन्। लोक […]