गण्डकी प्रदेशःमुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि भोलि मतदान

  ।   २६ बैशाख २०७८, आईतवार १५:२७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि अचानक बैठक स्थगित भएपछि अलपत्र परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको हो ।

राष्ट्रिय जनमोर्चाका एकसांसद बेपत्ता भएपछि स्थगित प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ । बैशाख २३ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बस्ने बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरेको थियो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोमबारको बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने बताए । ‘बैशाख १५ गते जहाँ पुगेर बैठक स्थगित भएको थियो । त्यहिँबाट बैठक अगाडि बढ्छ र प्रस्ताव निर्णयार्थ पेश हुन्छ,’सभामुख अधिकारीले भने ।

कार्यसूची तय भएपनि भोलि नै अविश्वास प्रस्ताव माथि मतदान हुनेमा आशंका गरिएको छ । अविश्वास प्रस्ताव फेल हुने स्थिति नबने सत्तारुढ एमालेले बैठक अबरुद्ध गर्न सक्छ । किनकी मुख्यमन्त्री गुरुङ र उनको पार्टी एमालेले सभामुखले बैशाख १५ गते कुनै एकजना सांसद अनुपस्थित भएकै आधारमा संसद बैठक स्थगित गरेर गलत नजिर बसाएकाले अब आफूहरुले पनि हरेक बैठकमा एकजना सांसद अनुपस्थित गराएर बैठक स्थगित गर्न माग गर्ने बताइसकेको छ ।

वैशाख २७ गते निर्णयार्थ प्रस्तुत हुने अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने अनुमान गरिएको छ । किनकी ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा अविस्वास प्रस्तावको पक्षमा हालसम्म ३१ सांसद उभिएका छन् । जसमा बेपत्ता भई सार्वजनिक भएका खिमविक्रम शाहीलाई पनि जोडिएको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा) २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । यद्वपी जनमोर्चाका शाहीप्रति अविश्वास प्रस्ताव पक्षधर दलहरु नै विश्वस्त छैनन् । उसो त सो पार्टीका संसदीय दलका नेता कृष्ण थापाप्रतिपनि केहिले शंकाको दृष्टिले हेर्छन् । उनलाई शंकाको दृष्टिले हेर्नुको कारण भनेको अविश्स्वास प्रस्ताव आउनु अगाडिसम्म उनी मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा अडिग थिए ।  

अविश्वास प्रस्ताव आएपछि पनि उनले यसैमा अडिग रहेको बताउने गर्थे । त्यसपछि भने राजमोका केन्द्रीय समितिले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्‍यो । सो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न पार्टी अध्यक्ष चित्रबहादुर केसीले नै निर्देशन दिएपछि भने थापा केही गलेका थिए । संसदीय दलका नेता थापा अहिले भने पार्टीको निर्णय कुनैपनि हालतमा कार्यान्वयन गर्ने बताउँछन् । उनले भने, ‘हामी अविश्वास प्रस्तावको पक्षमा एकमतले मतदान गर्छौं, हामी पार्टी निर्णयको पक्षमा छौं, जसरीपनि कार्यान्वयन गर्छौं ।’

सत्तारुढ नेकपा एमालेका २७ सांसद रहेका छन् । त्यसमा स्वतन्त्र उमेद्वारी दिएर जितेका राजिव गुरुङ उर्फ मनाङे थपिएका छन् । जता बहुमत पुग्छ उतै उभिने भन्दै आएका सांसद मनाङेलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्री बनाइसकेका छन् । त्यसैले अविश्वास प्रस्तावको विपक्षमा हालसम्म २८ सांसद देखिएका छन् । तर संसद गणितीय खेल हो, जतिखेरपनि जेपनि हुनसक्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिने मुख्यमन्त्री गुरुङबिरुद्धको अविश्वास प्रस्ताव फेल गराउन जुनसुकै हतकण्डा मच्चाउन सक्ने आंकलन पनि गरिएको छ । जसका लागि मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मपनि लाग्नसक्ने विपक्षी दलहरुको आशंका छ । तर आफ्ना सांसद जोगाउन आफूहरु सचेत रहेको उनीहरुको भनाई छ ।

अविश्वास प्रस्ताव पारित हुन्छ : प्रतिपक्षी

अविश्वास प्रस्ताव पक्षधर दलहरु प्रस्ताव पारित हुनेमा ढुक्क छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा अविश्वास प्रस्ताव पारित हुनेमा विश्वस्त छन् । उनीहरु आफूहरुको पक्षमा ३१ मत रहेको र त्यो मत सुरक्षित रहेकाले प्रस्ताव सजिलै पास हुने र प्रदेश सरकार ढल्ने उनीहरुको दाबी छ । अविश्वास प्रस्तावको मुख्य नेतृत्वकर्ता नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले प्रस्ताव पारित हुनेमा कुनै शंका नरहेको बताउँछन् । ‘हामीसँग बहुमत छ,’ उनले भने,‘त्यसमा तलमाथि नहुनेमा ढुक्क छौं ।’ उनले अविश्वास पक्षधर कांग्रेस, माओवादी र जसपा दृढ रहेको र जनमोर्चाले पनि पार्टीबाट निर्णय गरेको र प्रस्तावको पक्षमा मत हाल्ने प्रतिबद्धता जनाइसकेकाले आशंका गर्नुपर्ने कारण नरहेको बताउँछन् ।  

प्रस्ताव फेल हुन्छ : पहारी

सोमबार निर्णयार्थ पेश हुने अविश्वास प्रस्ताव फेल हुने एमालेको दाबी छ । अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस, माओवादी र जसपाले प्रस्तावको पक्षमा मत हालेपनि जनमोर्चाले नहाल्ने एमाले सांसद राजिव पहारीको दाबी छ । ‘प्रस्तावको पक्षमा भए त प्रस्ताव दर्ता गर्दा नै हस्ताक्षर हुन्थ्यो नि !, उनले भने,‘तर त्यहाँ त २८ जनाको मात्रै हस्ताक्षर छ, बाँकी ३ सांसद भएको जनमोर्चाले किन हस्ताक्षर गरेन ? कुरा स्पष्टै छ नि ।’

Next Post

एमाले नेपाल समूहका सांसद संसद् सचिवालयमा

२६ बैशाख २०७८, आईतवार १५:२७
काठमाडौँ — राजीनामा दिने चर्चा चलिरहेका बेला नेकपा (एमाले) का झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा भइरहेका छन् । वरिष्ठ नेता नेपाल पनि केहीबेर अघि संसद् सचिवालयमा पुगेका छन् । आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा उनीहरु जम्मा हुन थालेका हुन् । सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा […]