देउवालाई नसघाउने महन्थ ठाकुरको निर्णय

  ।   २८ बैशाख २०७८, मंगलवार ०९:१३

प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र यादव पक्षमा चुनौती थपिएको छ ।

अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जसपा सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’

ठाकुरले एक जिम्मेवार राजनैतिक पार्टीको नाताले जसपा नेपाल मधेशी, आदिवासी, जनजाति, थारु, दलित महिला, मुस्लिम लगायतका सीमान्तकृत, शोषित, पीडित, उपेक्षित समुदायको एजेण्डा सम्बोधनका लागि निरन्तर संघर्ष गर्ने पनि उल्लेख गरेका छन् ।

चाबी ठाकुरकै हातमा

यसैबीच, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभामा आफ्नो विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले सरकार बनाउने प्रकृया सुरु गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेभित्र आफ्नो सरकार निर्माणका लागि दावी पेस गर्न आह्वान पनि गरिसकेकी छिन् ।

सरकार निर्माणको प्रकृया सुरु भएपनि जसपा नेपालका महन्थ ठाकुर पक्षले सहयोग नगरेसम्म अझै नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना छैन । सरकार बनाउनका लागि १३६ सांसद चाहिन्छ तर विपक्षी (काँग्रेस, माओवादी केन्द्र र जसपा) गठबन्धनसँग हाल १२४ मत मात्रै छन् । सरकार बनाउनका लागि अझै १२ मतको आवश्यकता पर्छ, जो महन्थ ठाकुरसँग मात्र छन् ।

महन्थ ठाकुरसँग १५ जना सांसद छन् । जसले हिजोको विश्वा मतको लागि भएको मतदानमा तटस्थ पक्षमा मतदान गरेका थिए । यद्यपि तीन दलीय गठबन्धनले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई फकाउने प्रयास गरिरहेको छ ।

Next Post

आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व

२८ बैशाख २०७८, मंगलवार ०९:१३
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई […]