जसपामा आफूलाई आधिकारिक देखाउन हानथाप

  ।   २ जेष्ठ २०७८, आईतवार ०७:५४

जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको छ । जसपामा यादव र ठाकुर गरी दुई अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षको रुपमा डा बाबुराम भट्टराई रहेका छन् ।

शनिबार अध्यक्ष यादवले आफ्ना पक्षका कार्यकारिणी सदस्य तथा संसदीय दलको बैठक राखेर ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेका हुन् ।  संसदीय दलको विधान विपरित पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेको प्रति आपत्ति जनाउँदै सो बैठकले त्यो निर्णयलाई स्वीकार नगर्ने निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य एवं संसदीय दलका नेता इस्तियाक राईले  बताए ।

पार्टीको अनुशासन उल्लघंन गर्ने काम अध्यक्ष ठाकुर र नेता महतोले गरेको निष्कर्ष बैठकले निकाले उनले बताए । भक्तपुरको रिसोर्टमा लगेर पार्टीका सांसदलाई थुनेर राख्नु, कुनै अर्को पार्टीका सांसदको उपस्थितिमा पार्टीका निर्णयहरु गराउनु पार्टीको अनुशासन विपरित कार्य भएको बताउँदै इस्तियाकले यस विषयमा ठाकुरसँग अन्तिमपटक छलफल हुने बताए । छलफलमा कुरा नमिले विधान अनुसार अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । भौतिक उपस्थितिमा सम्भव नभए भर्चुअल माध्यमबाट भएपनि केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट निर्णयहरु गर्दै अगाडि बढ्ने निर्णय भएको उनले बताए । ‘कुनै पनि निर्णय सर्वसम्मतिले भएन भने बहुमतका आधारमा अगाडि बढ्ने निर्णय भएको छ । त्यसअघि  अध्यक्ष ठाकुरसँग अन्तिम पटक छलफल गरिन्छ’, उनले भने ।

आधिकारिक देखाउन​ हानथाप
यता विवादका बीच दुई समूहमा आफूलाई आधिकारिक देखाउन प्रतिस्पर्धा देखिएको छ । आज यादव समूहले बोलाएको बैठकलाई अवैध भएको दावी गर्दै ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन् । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

Next Post

बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

२ जेष्ठ २०७८, आईतवार ०७:५४
जुम्लामा विजुली नहँुदा अक्सिजन उत्पादनमा समस्या भइरहेकोछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भएपनि विजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो । तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ । बिजुली नहुँदा जेनेरेटेर चलाएर भएपनि जेनतेन […]

सम्बन्धित