चिनियाँ कम्युनिष्ट पार्टीको नासो बोकेर नेमकिपाका सचिव सुवाल कर्णालीतिर

  ।   ३ असार २०७८, बिहीबार १३:१९

नेपाल मजदुर किसान पार्टीका नेता निबर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर कर्णाली आइपुगेका छन । उनी कोभिड महामारीमा आवश्यक पर्ने मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन सहित कर्णाली प्रदेशको जुम्ला पुगेका हुन ।
चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्रदान गर्न उनी जुम्ला आइपुगेका हुन ।
२ हजार ८ सय ८० थान एन ९५ मास्क र १ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । २ हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई दिइएको थियो ।
नेमकिपाका केन्द्रीय सचिव समेत रहेका सुवालले कर्णाली जस्तो क्षेत्रमा स्वास्थ्य सामाग्री प्रदान गर्न पाउँदा खुसि भएको बताए ।
हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेनट्रेटर भन्दा बढी भरपर्दो छ । अत्याधुनिक र बहुउपयोगी छ । ती सामाग्रीको बजार मूल्य १ करोड रुपैयाँ बढी रहेकोे छ, नेता सुवालले भने,‘ छिमेकी देश चीनले कोभिड माथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको प्रति खुशी छौँ । ’
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको हो । जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरुलाई सो स्वास्थ्य सामाग्री प्रदान गरिएको उनले बताए । उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिससकेको छ । जुम्ला देखि विराटनगर सम्मका अस्पतालमा स्वास्थ्य सामाग्री पुगिसकेको छ ।
स्वास्थ्य सामाग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । उनले भने,‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रसंसनीय छ । आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउनको लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ । ’
संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामाग्रीले राहत मिल्ने बताए । उनले भने,‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिदै गरिएको यो सहयोगले कोरोना महामारी विरुद्ध लड्ने हौसला प्रदान गरेको छ । चीनले नेपाल प्रति देखाएको सद्भाव र सहयोगको लागि हामी आभारी छौँ । ’

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान र अस्पतालमा स्वास्थ्य सामाग्री सहित मेसिन भएको बताए । उनले भने,‘यो सामाग्रीको सही रुपमा सदुपयोग होस भन्ने अपेक्षा राखेका छौँ। ’ उपाध्यक्ष राजेश्वर देवकोटाले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको प्रतिक्रिया दिए । यो सहयोगले महामारीको विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो हुनुका साथै हौसला प्राप्त हुने आशा व्यक्त गरे ।
नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका अध्यक्ष नर घर्तीले विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध गरिएको बताए ।
नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष लालबहादुर बुढाले छिमेकी मितेरी देश चीनबाट सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्रीले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । प्रतिष्ठानमा हाइड्रोजन मेसिन जडान गर्न प्राविधिक सहितको टोली जुम्ला पुगेको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत नेमकिपाका नेता कार्यकर्ता पत्रकार सहभागी थिए ।

Next Post

जुम्लामा पहिरोमा परेका चार जना सम्पर्कविहिन

३ असार २०७८, बिहीबार १३:१९
जुम्लाको पातारासी गाउँपालिकामा पहिरोमा परेका ४ जना सम्पर्कविहिन छन । पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका हुन । पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थान तर्फ गइरहेको प्रहरीले जनाएको छ । पाटन क्षेत्रमा फोन नलाग्ने भएकोले सम्पर्क हुन सकेको छैन । घाइते मध्ये […]