उडान नहुँदा रारामा पर्यटक अलपत्र

  ।   ५ कार्तिक २०७८, शुक्रबार २०:३०

दशैं मनाउन मुगुको राराताल पुगेका पर्यटकहरु हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा अलपत्र गरेका छन्। कर्णालीमा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेपछि अहिले कर्णालीमा उडान ठप्प छ। लगातारको वर्षाले स्थलमार्ग पूर्णरुपमा बन्द छ भने जहाज नचल्दा दशैंको विदा मनाउन राराताल पुगेका पर्यटकहरु सातादेखि अलपत्र परेका हुन्।

बाँकेको नेपालगञ्जका सृजन खत्री काठमाडौंबाट आएका आठ जना साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए। बाटोमा मोटरसाइकल विग्रिए। उनको समूह जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिक्षा गरिरहेको छ। ‘जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र छौं, पैसा पनि सकियो,’ उनले भने, ‘एक सातादेखि विमान नपाएर धेरै यहीँ हुनुहुन्छ, उद्दारका लागि धेरै ठाउँमा फोनमार्फत गुहार्‍यौं, अहिलेसम्म कसैले जवाफ दिएका छैनन्।’

जल तथा मौसम विज्ञान विभागले शनिबारबाट फेरि मौसमका खरावी आउने पूर्वानुमान गरेको छ। मौसममा खरावी आउने वित्तिकै ताल्चामा विमान अवतरण हुँदैन्। ‘एक सयबढी यात्रुहरु विमानस्थलमा उद्दारको प्रतिक्षामा छौं,’ उनले भने, ‘शनिबारसम्म उद्दार नभए कति दिन भोकभोकै बस्नुपर्ने हो थाहा छैन्।’

निरन्तरको वर्षाका कारण मौसम खराव हुँदा सोमबारदेखि बुधबारसम्म ताल्चा विमानस्थलमा एउटै उडान भएन्। बिहीबार जम्मा दुई वटा मात्रै उडान भए। ‘राजधानी काठमाडौं र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकहरु हवाई उडान नहुँदा मर्कामा पर्नु भएको छ,’ विमानस्थल प्रमुख विशाल बरुणले भने, ‘विमानस्थलमा यात्रुहरुको चाँप थेगिनसक्नुको छ।’ बरुणका अनुसार एक सयबढी यात्रुहरु विमानस्थलमा विमानको पर्खाईमा छन्। ‘हवाईमार्गमार्फत राराताल आउने अधिकांस पर्यटकहरु एक रात विताएर फर्किने गरेर प्याकेजमा आएका हुन्छन्,’ उनले भने, ‘एक सातादेखि उडान भर्न नपाउँदा समस्या हुनेनै भयो।’

मुगुमा नेपाल बायु सेवा निगम, समीट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन्। बाढीपहिरोका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाईजहाज सेवा प्रदायक कम्पनीले पूर्व र सुदूरपश्चिमतर्फ लगेका छन्। ‘सीताको जहाजमा खरावी आएर नेपालगञ्जमा थन्किएको छ, समिटको जहाजर सुदूरपश्चिम प्रदेशमा छ,’ उनले भने, ‘ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको छ।’

प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुहरुको उद्दारका लागि सरोकारवाला निकाय र विमान सञ्चालक कम्पनीहरुलाई पत्राचार गरिएको बताए। उनले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरुलाई नियमित र थप उडान गर्नका लागि जानकारी र पत्राचार गरिएको बताए। ‘दशैंको विदा मनाउनका लागि राराताल आएका पर्यटकहरुको चाँप अत्याधिक हुँदा यात्रुहरुले धेरै दिनको पालो पर्खेर मात्र यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ,’ प्रजिअ महतले भने, ‘हाल यस क्षेत्रमा उडान भर्ने एयरलाइन्सका जहाजहरुले देशको पूर्वतर्फ उडान भर्न गएकाले कर्णालीमा रहेका यात्रुहरुहलाई यात्रामा समस्या पर्न गएको छ।’

प्रअिज महतले अरु बेला कर्णालीमा उडान भर्ने विमान सेवा कम्पनीहरुले चाँडपर्व र पर्यटकहरु आउने बेला अन्यत्र विमान पठाउनु गलत भएको बताए। ‘देशका पूर्वी क्षेत्रमा यात्रुहरु नपाउँदा मात्रै कर्णाली उडान भर्ने परिपाटी रहँदै आएको छ,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै यो क्षेत्रमा पर्याप्त उडान भर्नका लागि पत्राचार गरिएको छ।’

कालिकोटका कुलप्रसाद उपाध्याय दशैं विदा मनाउन नेपालगञ्जबाट मोटरसाइकलमा राराताल पुगेका थिए। रारा पुगेकै दिन पानी पर्‍यो। सडक अवरुद्ध भयो। उनीसहितको टोली छ दिन हिँडेर शुक्रबार सुर्खेत आइपुग्यो। ‘रारायात्रा साह्रै पीडादायि भयो,’ उनले भने, ‘छ दिन लगाएर पहिरोले अवरुद्ध सडकमा मोटरसाइकल बोकाउँदै सुर्खेत आइपुग्यौं।’ बाढी–पहिरोका कारण कर्णाली राजमार्गको सुर्खेत–नाग्म सडक र नाग्म–गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेको उनले बताए। ‘प्रत्येक ठाउँमा एक–एक हजार रुपैयाँ दिएर मोटरसाइकल बोकाएर पहिरो कटायौं,’ उनले भने, ‘पीडादायि यात्रासँगै खर्च पनि धेरै भयो।’

Next Post

भालुको आक्रमणबाट चौकीदार महिलाको मृत्यु

५ कार्तिक २०७८, शुक्रबार २०:३०
जुम्ला,कात्तिक ४। जुम्लामा भालुको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ५ लाम्रा गाउँकी ५५ बर्षिया रुदा डाँगीको भालुको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले भालुको आक्रमणबाट महिलाको मृत्यु भएको बताए । मृतक महिला गाडापारी सामुदायिक वनको चौकीदार थिइन । […]