जातीय विभेदविरुद्ध गर्ज्याङकोट

  ।   २७ पुष २०७८, मंगलवार १७:२५

जुम्लाको गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोट जातीय विभेद तथा छुवाछुतविरुद्धको अभियानमा होमिएको छ । यहाँका युवाहरु वडामा कुनै पनि जातीय विभेद हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन ।
जातीय भेदभाव तथा छुवाछुत सामाजिक कुरीति र सामाजिक अपराध भएकोले सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन । स्थानीय युवा लक्ष्मण सुनारले भने,‘हामी सबै समान अधिकारका भागेदारी हौँ । हामी हाम्रो घर परिवार र समाजमा हुने जातीय छुवाछुत भेदभावलाई पुर्णरुपमा अन्त्य गर्न चाहन्छौँ । ’
उनले जातीय भेदभाव तथा छुवाछुतमुक्त वडा बनाउने अभियानमा सबैको साथ रहेको बताए । गुठिचौर गाउँपालिका ३ जातीय भेदभाव विरुद्धको जनचेतनामुलक कार्यक्रम भइरहेका छन । पहिलो चरणमा मानव जातिको इतिहास, जातिय भेदभावको शुरुवात, छाउपडी प्रथा, स्वास्थ्य र पोषणको बारेमा युवायुवतीलाई अभिमुखिकरण गरिएको हो ।
नेपालको संविधान प्रदत्त अधिकार कार्यन्वयन गर्दै छुवाछुत विरुद्ध बनेका कानुनको पुर्ण रूपमा कार्यन्वयन गर्ने र वडापालिकालाई जातीय विभेद र छुवाछुत मुक्त वडापालिका बनाउन आवश्यक सहयोग र खबरदारीका लागि पूर्ण प्रतिवद्ध रहने संकल्प गरिएको छ ।
वडाध्यक्ष प्रेमबहादुर बुढाले जातिय छुवाछुत अन्त्यका लागि अशिक्षा र गरीबीलाई पनि संगसंगै अन्त्य गर्नुपर्ने बताउँछन । उनले भने,‘जातीय विभेद लगायतका सबैप्रकारका छुवाछुत अन्त्य गर्न वडा कार्यालय प्रतिबद्ध छ । यो अभियानमा स्थानीयको भरपुर साथ चाहिन्छ । ’
जातिय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी वडापालिकालाई नमुना बनाउने तीर ध्यान केन्द्रीत गर्न सबै युवायुवतीको ध्यानाकर्षण गराए । समाज परिवर्तनका लागि चेतना र शिक्षाको आवश्यकता रहन्छ । जातीय छुवाछुत न्युनिकरणका सबैको हातेमालो हुनुपर्दछ । यो प्रतिवद्धता अल्पकालिन देखावटी नभई दीर्घकालीन रुपमा चल्ने विश्वास रहेकोमा जोड दिए ।
वडा सदस्य तथा दलित समुदायका अगुवा श्रीकृष्ण कामीले नेपालको कानुनले नै जातीय विभेद गरेको पाइएमा दण्डनिय हुने भएपनि व्यवहारमा अझैँ कार्यान्वयन हुन नसकेको बताए । उनले भने,‘जातीय छुवाछुत र विभेदलाई कानुनले अपराधका रुपमा हेरेको छ । तर स्थानीय स्तरमा प्रयाप्त कानुनी ज्ञानको अभावमा छुवाछुत कायमै छ । अब कानुनको ज्ञान र कानुनको कार्यन्वयन सबैले गर्ने बेला आइसकेको छ । ’
जातीय भेदभाव न्यूनिकरणका लागि गाउँपालिकाले पालिका भित्रका सबै वडामा जातीय विभेद न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्दछ,उनले थपे,‘संविधानमा लेखेका बुँदाहरू भाषण गरेर मात्रै पुरा हुदैनन् । व्यवहारमा उतार्न जरुरी छ ।’ दलित भित्र पनि अन्तरनिहित जातीय भेदभाव कायमै रहेकोले शुरुवात आफै बाट हुनुपर्नेमा जोड दिए ।
स्थानीय युवा नरेन्द्र परियारले जवसम्म मानसिक रुपमा जातीय विभेद अन्त्य हुदैन तब सम्म जातीय विभेद कायमै हुने बताए । उनले आनीबानीमा परिवर्तन ल्याउन सुझाव दिए । गुठिचौर गाउँपालिका जुम्लाका कानुनी सल्लाहकार देवेन्द्रराज शर्माले दलितहरुका लागि निमार्ण भएका ऐन र कानुनका विषयमा सहभागिहरुलाइ जानकारी गराएका थिए । पहिलो चरणमा एक सय बढी युवायुवतीलाई एकै थलोमा राखेर जातीय विभेद सम्बन्धिका कानुनका बारेमा ज्ञान प्रदान गरिएको थियो ।
वडाध्यक्ष बुढाले सिंगो वडालाई जातीय विभेद र छुवाछुत मुक्त बनाउनको लागि दलित गैरदलित,महिला पुरुष सबैको साझा धारणा बनाउनु पर्नेमा जोड दिए । उनले वडा कार्यालयले पहिलो चरणमा सचेतनाका क्रियाकला गर्न शुरु गरेको बताउदैँ अब सबैले सामाजिक कुरीतिका रुपमा रहेका सबै कुसंस्कार विरुद्धको आवाजमा एकजुट हुनु पर्नेमा जोड दिए ।

Next Post

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

२७ पुष २०७८, मंगलवार १७:२५
जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो। प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थल–कार्यालय, होटल, रेस्टुरेन्ट, रंगाशला, विमान स्थल, पार्क, आदिमा प्रवेश गर्दा अनिवार्य […]